काठमाडौँ । साहित्यिक पत्रकार संघले काठमाडौँको अनामनगरस्थित डालो रेस्टुरेन्टमा शारदा मासिकको अतिरिक्त अङ्क ‘मोहन सिटौला व्यष्टि र समष्टि’ को लोकार्पण गरेको छ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो भने उहाँसहित मञ्चमा उपस्थित सबै अतिथिहरूले पुस्तकको लोकार्पण गर्नुभयो।

साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार प्रा. हेमनाथ पौडेल र प्रा. डा. देवी नेपालले लोकार्पित कृतिमाथि समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभयो। प्रमुख अतिथि उप्रेतीले सर्जक मोहन सिटौलाको बहुआयामिक व्यक्तित्व र साहित्यिक योगदानको प्रशंसा गर्नुभयो।

कार्यक्रममा संघका अध्यक्ष लेकालीले पुस्तक प्रकाशनको उद्देश्य र महत्व उजागर गर्दै सिटौलाको साहित्य सिर्जना, अनुवाद र संस्थागत योगदानको चर्चा गर्नुभयो। उहाँले सिटौलाको काव्यमा नवीनता, कलात्मकता, मानवीय समवेदना, डायस्पोरिक चेतना, स्थानीयता र स्वतन्त्रताको अभिव्यक्ति रहेको बताउनुभयो।

अमेरिकाको अस्टिनबाट अनलाइन माध्यमबाट सहभागी हुनुभएका मोहन सिटौलाले आभार व्यक्त गर्नुभयो। कार्यक्रममा शारदा मासिकका सम्पादक विमल भौकाजीलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश मोहनप्रकाश सिटौला, इतिहासविद् प्रा.डा. सुरेन्द्र के.सी., साहित्यकार डा. गार्गी शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जगतप्रसाद उपाध्याय लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। सिटौला परिवारका सदस्यहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

सहजीकरण साहित्यकार भगवती बस्नेतले गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि उप्रेती र समीक्षकहरू पौडेल तथा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. ले मायाको चिनो प्रदान गर्नुभयो। कार्यक्रममा सर्जक मोहन सिटौलाकी आमा मनमाया सिटौलाले गीत प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा पूर्व रक्षा सचिव देवेन्द्रप्रसाद सिटौला लगायत कयौँ साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो।