काठमाडौँ । साहित्यिक पत्रकार संघले एक समारोहबीच उपन्यासकार उषा के.सी.को नवीनतम उपन्यास ‘हिउँफूल’ को लोकार्पण गरेको छ। साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठ लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा ‘हिउँफूल’ को लोकार्पण प्रमुख अतिथि श्रेष्ठसहित मञ्चमा उपस्थित सबै अतिथिहरूले संयुक्त रुपमा गर्नुभएको थियो।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठीले कृतिको समीक्षा गर्दै आ-आफ्नो धारणा राख्नुभएको थियो। उहाँहरूले उपन्यासका विषयवस्तु र शैलीका बारेमा प्रकाश पार्दै यसको साहित्यिक महत्वलाई उजागर गर्नुभएको थियो।
कार्यक्रममा साहित्यिक पत्रकार संघले उपन्यासकार उषा के.सी.लाई बधाईपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो। यसैगरी, साझा प्रकाशनका नवनिर्वाचित अध्यक्ष कवि शेखर गिरीलाई पनि मायाको चिनोसहित बधाई ज्ञापन गरिएको थियो।
लोकार्पण समारोहमा प्रमुख अतिथि प्रा. डा. दयाराम श्रेष्ठले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा अध्यक्ष लेकाली, कृति प्रकाशन संस्था भुँडीपुराणका केशव पराजुली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, सर्जक जितेन्द्र रसिक र कृतिकार उषा के.सी. ले आ-आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा आख्यानकार हिरण्यकुमारी पाठक, किशोर पहाडी, समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्की लगायत डा. कृष्णप्रसाद दाहाल, वियोगी बुढाथोकी, पवन आलोक लगायतका थुप्रै साहित्यकारहरूको उपस्थितिले कार्यक्रमलाई अझै रौनक थपेको थियो। कवि भैरवी भूगोलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।
यसअघि उषा के.सी.का ‘उषाको प्रहर’ (मुक्तक संग्रह -२०७७) र ‘माकुरी’ (मुक्तक संग्रह २०७९) प्रकाशित भइसकेका छन्। ‘हिउँफूल’ उपन्यासले उहाँको साहित्यिक यात्रामा नयाँ आयाम थप्ने विश्वास लिइएको छ। कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूले उपन्यासप्रति आशावादी प्रतिक्रिया दिनुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










