पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ। सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न चार वटा पुस्तक प्राप्त भएका छन् ।

====================

१. अश्मी – मन खत्री ‘सागर’


लेखक मन खत्री ‘सागर’को उपन्यास हो ‘अश्मी’ । अश्मीभित्र लैङ्गीक चेतना नारीवादी जीवन दर्शन, कुटिल परम्परावादी चिन्तन माथीको पर्दाफास समेटिएको पाइन्छ ।
”मन खत्री ‘सागर’ को ‘अश्मी’ उपन्यास प्रकाशित भएकोमा हार्दिक प्रसन्नता प्रकट गर्दछु ।” पुस्तकमा प्रा.डा जीवेन्द्र देव गिरी लेख्नुहुन्छ, ”भनिन्छ आजको युग उपन्यासको युग हो । यसले जीवनका अनेक पक्षलाई प्रकाशमा ल्याएर समाजलाई सही मार्गतिर दिग्दर्शन गर्दछ । त्यसैले उपन्यास लेखनप्रति आकर्षण बढीरहेको छ र उपन्यासहरु पनि लोकप्रिय भइरहेका छन् । उपन्यासकार खत्री पनि यही मार्गलाई पछ्‌याउँदै सामाजिक उपन्यासका माध्यमबाट समाजमा उज्यालो छर्न उद्यत देखिन्छन् । खास गरी नारी समस्याका अन्तरकुन्तरमा पसेर ती समस्याबाट छुटकारा दिलाउने चाहना उनले राखेको पाईन्छ । पौराणिक प्रसङ्गदेखि वर्तमानका घटनाहरुलाई खोतलेर नारीका पक्षमा बहस गरिएको यो उपन्यास नेपाली साहित्यको एक महत्वपूर्ण प्राप्ति हो । पुस्तक प्रकाशनको यस घडीमा म यसका लेखक मन खत्रीलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।”

त्यसैगरी पुस्तकमा देवेन्द्र खत्री लेख्नुहुन्छ, ”नारीप्रधान उपन्यास ‘पुस्पा’को सफल यात्रापछि ‘अश्मी’को यो यात्रामा लेखक तथा चञ्चल र जिज्ञासु स्वभावका मेरा विद्यार्थी मन खत्री ‘सागर’ अझ बढी सशक्त रूपमा अगाडि आएको मलाई महसुस भएको छ हरेक नारीहरू आफैंमा आमा हुन्, छोरी हुन्, सासू हुन्, बुहारी हुन् र कसैकी प्रेमी र दुलही पनि हुन् । सँगसँगै दुःख, सुख कोमलता र साहसका प्रतीक पनि हुन् । निश्चित समय, स्थान, परिस्थिति र उमेरमा हरेक व्यक्तिमा एक प्रकारको सोच पलाउनु आफैंमा नराम्रो कुरा होइन । त्यसमा पनि पूर्वीय दर्शनले त्यसलाई कसरी बचाउने, बढाउने र सुरक्षित राख्ने काम गरेको छ भन्ने कुरा लेखकले अश्मीमा पस्कने प्रयास गरेका छन । आमा र छोरीको सम्बन्ध, छोरीको आमाप्रतिको विश्वास, आमाले छोरीका पाइलै पिच्छे पुऱ्याउने ध्यान, माया, मोह, सम्मान र सत्कार अनि तिनै आमाहरू सासू बन्दा देखाउने प्रवृति र समग्र छोरी मान्छेहरुको सामाजिक परिवेशलाई अश्मीले उतार्ने प्रयास गरेको कुरा मलाई अनुभूति भएको छ ।”

पुस्तकलाई एस। पी प्रकाशनले बजारमा ल्याएको हो । तीन सय एक पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।

===================

२. माया मात्र माया – डा. विनोद ढकाल


लेखक डा. विनोद ढकालको गैर आख्यान हो ‘माया मात्र माया’ । ढकालले पुस्तकमा महिला पुरुषको प्रेम सम्बन्ध देखि पारपाचुके सम्मको कुरालाई वैज्ञानिक तरिकाले विश्लेषण गर्नुभएको छ ।
”नारी-पुरुष सम्बन्धको रहस्य संसारभरि नै कुतूहलको विषय हो।” पुस्तकमा राजकुमार बानियाँ लेख्नुहुन्छ, ”पुरानादेखि नयाँ युगका मुना-मदन आफ्नो जोडी फकाउने र सम्बन्ध टिकाउने खोजीमा नित्य लागिरहेका छन् । अझ भन्ने हो भने माया, यौन र विवाहबारे समाजमा एक किसिमको भूलभुलैया व्याप्त छ। डा. विनोद ढकालकृत गैरआख्यान माया, मात्र मायामा विज्ञानका पछिल्ला खोज र अनुसन्धानहरूमा आधारित पुस्तक हो । प्रस्तुत पुस्तकमा विज्ञान र साहित्यको अनौठो सङ्गम छ । यसमा एकातिर कविहरूले भावुकतावश लेखेका मायासम्बन्धी रोमान्टिक कविता उद्धृत गरिएको छ भने अर्कातिर मायाको वैज्ञानिक हिसाबकिताब । एक कवि र आख्यानकार का रूपमा सुपरिचित भए पनि लेखकले भावनामा नबहकिने छुट लिएका छैनन् । आफ्‌नो वैज्ञानिक एवम् चिकित्सक छवि नै सुरक्षित राखेका छन्। नेपाली साहित्यमा आजसम्म मायामा रसायन, हर्मोन, न्युरोट्रान्समिटरहरूको प्रभावबारे यति सुन्दर व्याख्या गरिएको छैन ।”

त्यसैगरी पुस्तकमा सुवर्ण हुमागाईँ लेख्नुहुन्छ, ”कुनै जीवरस महिलाको तुलनामा पुरुषको शरीरमा धेरै हुन्छ । कुनै जीवरस पुरुषको तुलनामा महिलाको शरीरमा धेरै हुन्छ । अनेकन प्रकारका जीवरसहरू महिला र पुरुष दुबैको शरीरले उत्पादन गर्न र यसको श्रोत जोगाउन पनि महिला र पुरुषको मिलन अनिवार्य छ अथवा जीवन-साथी हुनुपर्छ । जीवद्रव्य रसको कारणले प्राणी तथा मानवमा कामवासना र भावनात्मक सम्बन्धको जालो बनेको हुन्छ ।”

पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो । दुई सय ३५ पृष्ठमा फैलिएको पुस्तकको मूल्य पाँच सय ९५ रुपियाँ रहेको छ ।

=================

३. अतितको डायरीबाट – प्रिन्स प्रमोद कुमार ढकाल


कवि प्रिन्स प्रमोद कुमार ढकालको कविता सङ्ग्रह हो ‘अतितको डायरीबाट’ । पुस्तकमा कविले देश प्रेम, प्रकृति, मानवीय संवेदना संवेगहरुलाई सुन्दर तरिकाले प्रस्तुत गर्नुभएको छ ।
”अनुभव र अनुभूतिहरू समवेदनाको कोमल मार्ग हुँदै सलल बग्न थालेपछि कविताको जन्म हुन्छ ।” पुस्तकमा भरत गुरागाई ‘बर्बरिक’ लेख्नुहुन्छ, ”जब कविता जन्मिन्छ तब सम्पूर्ण संवेगहरू क्रमशः शिथिल हुँदै जान्छन् । वस्तुतः युगलाई सम्बोधन गर्दै सतीसाल बनेर निर्भिकतासाथ उभिन्छ कविता । मेरो साथी तथा सहयात्री प्रिन्स प्रमोद कुमार ढकाल सतीसाल जस्तै निर्भिक र बलिष्ठ कवि हुन् । सहयात्रा र अभियानको क्रममा मैले प्रिन्सलाई धेरै नजीकबाट देखेको र महसुस गरेको छु । मान्छेलाई हरपल प्रभावित गरिरहने अनेकौँ मानवीय मुद्धाहरू उनका कविताका विषय हुन् । मान्छेको मन, मुटु र मस्तिष्कलाई संवेगात्मक स्पर्श गर्दै अन्तर्यसम्म प्रवेश गर्न सक्नु उनको कविताको विशेषता हो । आफैंभित्र हराइरहेको व्यक्ति, कुसंस्कारले थलिएको समाज, अभावले छट्पटाइरहेको झुपडी, भ्रष्टाचार र कुशासनको जालोमा जकडिएको देश र कतिपय अन्तर्राष्ट्रिय परिवेशहरू प्रिन्सको कवितामा सजिलै प्रवेश गरेर स्रोता र पाठकलाई गम्भीरतापूर्वक सोच्न र धारणा निर्माण गर्न सहजीकरण गरेको भेटिन्छ । उनका कविताका विषयहरू कुनै काँडेतारको सीमाभित्र बन्दी हुन मान्दैनन् । प्रिन्सको अर्को विशेषता भनेको कविताका शब्दहरूलाई सम्पूर्ण न्याय गर्दै सुन्दर र शक्तिशाली वाचन गर्नु पनि हो ।”

त्यसैगरी पुस्तकमा बाबुराम पोखरेल लेख्नुहुन्छ, ”आत्मगत निजी अभिव्यक्तिका साथमा सामाजिक पर्यावरणको यथेष्ट प्रभाव साहित्यमा पर्ने हुँदा व्यक्ति अनुभूति सँगालेर रूप पक्ष, विचार पक्ष र साहित्यिक मूल्यप्रति सचेत हुँदै एउटा साहित्यकार सामाजिक समुन्नतिमा साहित्यको प्रभाव स्थापित गर्न तल्लिन हुन्छ । यसै विचारसँग मिल्दाजुल्दो रूपमा कवि प्रिन्स प्रमोद कुमार ढकाल ‘अतीतको डायरीबाट’ कवितास‌ङ्ग्रहमा देखा परेका छन् । वर्तमान नेपाली समाजमा विद्यमान परिस्थितिप्रति असन्तोष व्यक्त गरेर व्यङ्ग्यात्मक र विद्रोही चेतका साथमा आफ्नो काव्यात्मक प्रस्तुति दिने कविका रूपमा प्रिन्स प्रमोद कुमार ढकाल यस कृतिमा देखिएका छन् । सहिष्णुताजन्य सद्भावका पक्षमा उनका कविता बोल्छन् र राष्ट्रोन्नतिको उज्यालोमा रमाउँछन् । उनका कवितामा आन्तरिक भावका रसिला उद्वेगहरू कलकलाउँदा छन् ।”

पुस्तकलाई विराट साहित्य सङ्गमले प्रकाशन गरेको छ । ५७ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।

======================

४. न्याउली – खगराज बराल


कथाकार खगराज बरालको कथा सङ्ग्रह हो ‘न्याउली’ । लेखकले पुस्तकमा कथालाई दुई भागमा राख्नुभएको छ पहिलो भागमा चराहरुको कथा छ भने दोस्रोमा अन्यकथाहरु छन ।
”चराको कथा’ विद्यार्थीहरूलाई चराचुरुङ्गी र तिनको संरक्षणको बारेमा शिक्षा दिने राम्रो पुस्तक हो।”  पुस्तकमा अनुज घिमिरे लेख्नुहुन्छ, ”लेखकले वास्तविक जीवनका परिस्थितिहरूलाई संरक्षणका मुद्दाहरू र चराचुरुङ्गीहरूको व्यवहारसँग उत्कृष्ट रूपमा जोड्नुभएको छ । लोक कथाहरूमा चराहरूबारे आउने सन्दर्भहरू थप्दा कथाहरू अझ प्रभावकारी भएका छन् । पुस्तकले विभिन्न प्रजातिहरू, तिनको व्यवहार, समाजमा रहेको स्थिति र साहित्यको क्षेत्रमा रहेका उनीहरूका स्थानलाई सम्बोधन गर्छ। प्रत्येक कथामा चराचुरुङ्गीहरूको महत्त्व, संरक्षण, र आवश्यक परेका बेला हामी तिनलाई कसरी मद्दत गर्न सक्छौं भन्ने भाग समावेश छ । समग्रमा, यस पुस्तकले कथाहरूको माध्यमबाट प्रकृति र चराचुरुङ्गीहरूको महत्त्वलाई प्रवर्द्धन गर्छ। कथाहरू प्रस्तुत गर्ने शैली हेर्दा, म विश्वस्त छु कि यसले विद्यार्थीहरूमा चराचुरुङ्गीप्रति चासो उत्पन्न गर्नेछ । आश छ यस किताबको माध्यमबाट विद्यार्थीहरूमा वन्यजन्तु, चराहरू र प्रकृतिको संरक्षणबारे जिज्ञासा बढ्‌ने छ।”

त्यसैगरी पुस्तकमा डा. हेमसागर बराल लेख्नुहुन्छ, ”कथाकार खगराज बरालले मध्य नेपालको गण्डकी प्रदेशको गाउँले परिवेशमा आधारित चराहरू र तिनीहरूको संरक्षणका बारेमा कथाहरूको सुन्दर सङ्ग्रह लेखेका छन् । यी कथाहरूले हाम्रो उमेरका व्यक्तिलाई आफ्नो बाल्यकालमा चरासँगको अवलोकन तथा स्वतःस्फूर्त तरिकाले अध्ययन गरेको संस्मरण गर्न मद्दत पुऱ्याउनका साथै हाम्रा केही लोप हुँदै गएका सांस्कृतिक र सामाजिक मूल्य मान्यताहरूलाई जीवन्त तुल्याउन प्रयास गरेको पाइन्छ । कथाकारले पहिलो पुस्ताबाट तेस्रो पुस्तामा ज्ञान हस्तान्तरण गर्ने परम्परागत अभ्यासको झल्को देखाएका छन् र यसलाई संरक्षण गर्ने उत्तम प्रयास पनि गरेका छन् । यो राम्रो अभ्यास दुर्भाग्यवश हाम्रो समाजबाट प्रायः हराउँदो छ। भूमण्डलीकरणले हाम्रा धेरै परम्परागत मान्यता र बहुमूल्य अभ्यासहरू गुमाउन योगदान पुऱ्याएको छ जुन यस सङ्ग्रहमा सुन्दर र अर्थपूर्ण रूपमा कैद गरी जीवन्त तुल्याइएको छ। चराहरूको बारे गहिरो ज्ञान राख्न चाहने जो कोहीले यो सङ्ग्रहलाई अन्तर्दृष्टिको समृद्ध स्रोत पाउनेछन्।”

पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको छ । १० ओटा कथाहरु सङ्ग्रहित पुस्तकको मूल्य दुई सय ७५ रुपियाँ रहेको छ ।

=====================

५. बलिदानमा बैतडी नालापानीदेखि जनयुद्धसम्म – कर्ण दयाल ‘सोराडी’


लेखक कर्ण दयाल ‘सोराडी’को अनुसन्धानात्मक पुस्तक हो ‘बलिदानमा बैतडी नालापानीदेखि जनयुद्धसम्म’। लेखकले विभिन्न समयमा देशको लागी बलि चढने बैतडेली योद्धाहरुको बारेमा अनुसन्धान गरी पुस्तक तयार पार्नुभएको छ ।

”भनिन्छ, मानिसका लागि सबैभन्दा प्यारो उसको जीवन हुन्छ, तर दुनियाँमा बिरलै मानिस यस्ता भेटिन्छन्, जसले आफ्नो जीवनभन्दा सन्दा माथि आफ्नो मातृभूमि देख्छन् ।” पुस्तकमा कर्ण दयाल ‘सोडारी’ लेख्नुहुन्छ, ”आफ्नो राष्ट्र देख्छन् । राष्ट्रियता देख्छन् । स्वाभिमान र स्वतन्त्रता देख्छन् । यस्ता महान् मान्छेहरूलाई विगतको कालखण्डदेखि वर्तमान कालसम्म बैतडीको माटोले जन्माइरहेको इतिहास हामी सबैका माझ छर्लङ्ग छ । राष्ट्र र राष्ट्रियताको सन्दर्भमा होस् या राजनीतिक तथा सामाजिक न्याय र समानताका लागि होस्, आफ्नो जीवन बलिदान गर्ने कोटा चुक्ता गर्नमा बैतडी जिल्ला चुकेको छैन । थुप्रै बैतडेली योद्धाहरूले आफ्नो जीवन अर्पण गरेका छन् र इतिहास रचेर गएका छन् । नयाँ युगको निर्माण गरेर गएका छन् । भलै उनको त्याग बलिदानलाई अभिलेखीकरण गर्न सकिएको छैन । दस्ताबेजीकरण गर्न सकिएको छैन । लेखन, पुनर्लेखन गर्न सकिएको छैन । यो दुःखद पक्ष हो । यस तथ्यलाई मध्यनजर गर्दै यी महान् मान्छेहरूको योगदानलाई कसरी लिपिबद्ध गर्न सकिन्छ रु कसरी खोज अनुसन्धान गर्न सकिन्छ भन्ने मेरो उत्कत चाहलाई थोरै मात्रामा भए पनि प्रज्ञा-प्रतिष्ठानले सम्बोधन गरेको अनुभूति भएको छ । नालापानीको युद्धदेखि जनयुद्ध हुँदै जनआन्दोलनसम्मको समयावधिमा बलिदान गर्ने योद्धाहरूको जीवनसँग सम्बन्धित रहेर केही खोज अनुसन्धान गरी प्रकाशनको तहसम्म पुग्न सफल भएको छु । नेपाल प्रज्ञा-प्रतिष्ठानको अनुसन्धान परियोजनाअन्तर्गत यो खोज अनुसन्धान कार्य सम्पन्न गरेको छु । खोज अनुसन्धानको पाटो आफैंमा चुनौतीपूर्ण रहेकाले यो अनुसन्धान आफैंमा पूर्ण नहुन सक्छ तर यसलाई पूर्ण बनाउन आफ्नो बुद्धि, विवेक र बलबुताले भ्याएसम्म अथक प्रयास गरेको छु । अनुसन्धानका सिलसिलामा झेल्नुपर्ने थुप्रै कारक तत्त्वहरू फेला परे । बलिदान गरेका व्यक्तित्वहरूको बारेमा राज्य, राजनीतिक दल र सरोकारवाला निकायको त्यति मात्रामा ध्यान पुग्न नसकेको स्थिति देखियो । गरिबीका कारण बलिदानी परिवार तथा उनका आफन्तजनहरूले बसाइ सरेर गइसकेको स्थितिमा गाउँमा सही सूचना दिनसक्ने स्थानीय जानकार नै नभेटिने समस्यासमेत आयो। हिजो बलिदान गर्ने व्यक्तिहरूसितै काम गरेका र बाँच्न सफल भएका अधिकांश सहयोद्धाहरू र तिनका आफन्तजनहरू पनि रोजीरोटीका लागि विदेशतिर पलायन भएको स्थितिमा अनुसन्धानलाई यथार्थको गहिराइसम्म पुग्न निकै कठिनाइ बेहोर्नुपर्यो । चुनौतीको सामाना गरियो । सयौँ मानिसहरूसँग भेटघाट छलफल गरियो । गाउँमा अझै सञ्चार सेवाको पहुँच नहुँदा पनि कुराकानी गर्न, संवाद गर्नमा समस्या देखियो। उनका परिवाजनहरूले उनीसँग सम्बन्धित आवश्यक कागजपत्रहरू सुरक्षित नहुँदा र ती कागजपत्रहरूको महत्त्वलाई सरोकारबाहरूले बुझाउन नसकेको कारण तथ्य सङ्कलनमा निकै ठुलो हजारौं मानिसहरूसँग फोन सम्पर्क तथा अनलाइन सम्पर्कबाट छलफल संवाद गरियो । विभिन्न कठिनाइका बाबजुद अनुसन्धानलाई सानै आकारमा भए पनि बाहिर ल्याउने प्रयास गरिएको छ ।”

पुस्तकलाई नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको छ । एक सय ९४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय ४० रुपियाँ रहेको छ ।