हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भ राख्नुको कारण पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् ।
हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ४ वटा पुस्तक प्राप्त भएका छन् ।
===
१. म उतै हराएँ – युवराज भण्डारी

‘आज त छिटो किन हो घाम अस्ताउन लागेछन्
चौपाया यतै चरेका थिए खै कहाँ गएछन्
जंगलभरि खोजेर हिँड्यौं गाईवस्तु देखेनौं
चरन डाँडो भीरको पाखो कहीँ नि भेटेनौं
हराए अब के गर्ने होला रुन पो थालियो
दुखेको मन लिएर बाटो घरको लागियो
घरमा पुग्दा बसेको सभा निसाफ गरन
बाबाका आँखा देखेर थाल्यो पिसाब झरन ।
(म उतै हराएँ, पृ. ६१)
डेढ दशकदेखि न्युजिल्याण्डमा स्थायी बसोबास गर्दै आएका स्रष्टा युवराज भण्डारीको कवितासङ्ग्रह हो, ‘म उतै हराएँ’ । कविताहरुमा भण्डारीले नेपाल, नेपाली समाज र परिवेश तथा आफन्तजनहरुका लागि मनभित्र उब्जेका भावना र संवेदनाहरुलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन् ।
शुभकामनामा अनेसास अध्यक्ष सर्वज्ञ वाग्ले लेख्छन्, ‘नेपाली साहित्य समाज न्युजिल्याण्डसँग आबद्ध युुवराज भण्डारीको यो पुस्तकले नेपाली काव्य सहित्यमा महत्त्वपूर्ण योगदान रहने विश्वास राखेको छु । लेखकको पहिलो कृति भएका कारण यसमा केही कमजोरी हुनसक्छन् । तर यो पुस्तक निस्कनु आफैंमा ठूलो सन्देश हो । त्यो के भने, हामी संसारको जुनसुकै कुनामा किन नहौं, नेपाली भाषा, साहित्य, संस्कृति र कलाका लागि केही न केही समय छुट्याएकै हुन्छौं । हाम्रो तन नेपालबाहिर भए पनि मन भने सधैं नेपालमै हुन्छ ।’
त्यस्तै, कवि डा. वीरेन्द्र केसी लेख्छन्, ‘म उतै हराएँभित्र कविले आफ्नो देश, समाज र आफन्तहरुका प्रति मनभित्र उब्जेका भावहरुलाई बडो कलात्मक र यथार्थपरक ढंगले कवितामा उन्नुभएको छ । उहाँका कवितामा पाइने ग्राम्य दृश्य निकै मनोहर छन् । सचेत पाठकहरुले यस कृतिलाई माया गरिदिनुहुनेछ र यसले नेपाली साहित्यको फूलबारीमा सदा सुगन्द दिइरहनेछ भन्ने विश्वास लिएको छु ।’
कवितासङ्ग्रहलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । ५१ थान कविता सङ्ग्रहित पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
===
२. अविश्रान्त पाइलाहरू – नरेन्द्रराज पौडेल

जीवनको महत्त्वपूर्ण समय सरकारी सेवामा बिताएका स्रष्टा नरेन्द्रराज पौडेलको नियात्रा कृति हो, ‘अविश्रान्त पाइलाहरू’ । कृतिमा सङ्ग्रहित नियात्राहरुमा तत्कालीन नेपाल र समाजिक परिवेशको जीवन्त चित्रण पाइन्छ । समयक्रमसँगै क्रमिक रूपमा बदलिंदै आएको भौतिक तथा समाजिक यर्थाथहरुको चित्र पनि यो कृतिमा पाइन्छ ।
‘२०४७ सालमै छडुङको जङ्गलमा हराएका लेखक एक्कासि २०६२ मा मात्र एलोसीमाथिको साँझमा प्रफुल्लित मुद्रामा देखा पर्छन् । यही बीचमा खै के भएछ कुन्नि, २०७५ मा त उनी पूरै आकाशको डर भन्दै चिच्याउँदै पाठकलाई गुहार्न आइपुग्छन् ।’, पुस्तकका बारेमा नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल लेख्छन्, ‘त्यसपछि सिडिओका सत्र वर्ष पूरै ‘पावर एक्सरसाइज’ गरेर बसेका यी लेखक कतै अल्मलिएर पो बसे कि भनेको होइन रहेछ, यी त जुनेली रातमै हिँडेछन् र मामासँग जन्त गएछन् । योगमायाको जीवनवृत्तलाई पनि उधिन्न भ्याइसकेछन् । यही कालखण्डमा पनि यी त लगातार अठार दिनसम्म हिंडिरहेका रहेछन् आफ्नै अविश्रान्त पाइलाहरूसँगै र आफ्नो संस्मरण–लेखनको साम्राज्यलाई अक्षुण्णै राखेका रहेछन् । पढेपछि थाहा पाउनुहुनेछ – नरेन्द्रराज पौडेल चानचुने लेखक हुँदै होइनन् ।’
त्यस्तै, भूमिकामा स्रष्टा कृष्ण प्रधान लेख्छन्, ‘नियात्रा लेखनमा यात्राकारको स्वक्रियता र प्रस्तुतिको इमानदारितालाई पनि हेरिन्छ । नियात्रा अत्यन्त स्वकीय हुन्छ, कुनै दोस्रो व्यक्तिले गरेको यात्राका बारेमा नियात्रा हुन सक्दैन । लेखक वा नियात्राकार स्वयम् नै त्यो नियात्राको यात्राकार रहेको हुनुपर्छ । पौडेलजीमा त्यो इमानदारिता देखिएको छ ।’
नियात्रा कृतिहरुलाई भुँडीपुराणले प्रकाशनमा ल्याएको हो । १४ शीर्षकका नियात्राहरु सङ्कलित, १ सय ८८ पृष्ठमा फैलिएको कृतिको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
===
३. भावदीप – अम्बिका अर्याल

‘दोष कसको हो शरीर कि नजरको
घरभित्रै घडा उभिन्छ नारी जहरको
खाइदिन्छन् अस्तित्व भोका लुटेराले
छानबिन किन हुन्छ उमेर र प्रहरको ।
(मुक्तक ६७, पृ. २३)
स्रष्टा डा. अम्बिका अर्यालको मुक्तकसङ्ग्रह हो, ‘भावदीप’ । यस कृतिमा केन्द्रमा राष्ट्र प्रेम र मानवीय प्रवृत्ति रहेको छ । मानवीय प्रेम, व्यवहार र विचलनका साथै सामाजिक विसङ्गतिप्रतिको क्रोध र घृणाका भावहरु यत्रतत्र छन् ।
‘विषयवस्तुका दृष्टिले मुक्तकमा राष्ट्रप्रेम, मानवीय प्रेम र विसङ्गत जीवनशैलीप्रतिका व्यङ्ग्यको प्रस्तुति पाइन्छ ।’, भूमिकामा डा. शैलेन्दुप्रकाश नेपाल लेख्छन्, ‘व्यङ्ग्यात्मकता मुक्तकको मूल कसी हुने गर्छ । चार हरफे संरचनामा तेस्रोबाहेक अन्यमा अन्त्यानुप्रास मिलाई अर्थगत उत्कर्षतालाई क्रमशः चरमतातर्फ लैजानुपर्छ । मुक्तक कविताको सङ्क्षिप्त तर सशक्त मिठासपूर्ण अभिव्यक्ति हो । डा. अम्बिकाका मुक्तकमा पाठकलाई धित मार्न सक्ने क्षमता प्रदर्शित छ ।’
‘मह देखाउँदै तीतेपाती कोच्याउने जमात छ
आफू ठूलो अरु पुड्को होच्याउने जमात छ
पाइन्छ भने सित्तैमा बाँडिएका राहत प्याकेज
घाइते देखाउन सद्दे खुट्टा खोच्याउने जमात छ ।
(मुक्तक १५१, पृ. ५१)
प्राध्यापन पेशामा संलग्न अर्याल पद्यकन्या बहुमुखी क्याम्पस, नेपाली विभागको विभागीय प्रमुख हुन् । मुक्तक कृतिलाई संगम बुक्सले प्रकाशनमा ल्याएको हो । २ सय ८५ थान मुक्तक सङ्ग्रहित कृतिको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
===
४. अदृश्य हावा – निद्रा देउजा ‘राजवंशी’

‘घरको मालिक पुरुष हुने नारी किन दासी ?
मनको इच्छा कुल्चिएर हुनुपर्ने प्यासी
नारी पनि मानिस हुन रगत मुटु एउटै
पुरुषमाथि सधैं महिला छन् उदासी ।
नारी पुरुष बराबरी हुनुपर्छ सधैं
मनको पीडा पोख्न सक्ने बन्न सक्छन् सबै
भावनामा चोट लागे सबको मन दुख्छ
नरनारी मिले मात्र समाज सुन्दर हुन्छ ।
कानून र भाषणको अर्थ केही हुन्न
व्यवहारमा नभएपछि नाराले चाहिँ छुन्न
नारी पनि सक्षम हुन्छन् अवसर पाए
विश्वमाता बन्न सक्छन् सबले साथ दिए ।
(नारी, पृ. ६१)
उमेरले आठ दशक पार गरेकी स्रष्टा निद्रा देउजा राजवंशीको कवितासङ्ग्र हो, ‘अदृश्य हावा’ । देउजाले कवितामार्फत् आफूले भोगेका, देखेका र सुनेका कुराहरुलाई जीवनसँग जोडेर हेर्ने प्रयास गरेकी छन् ।
‘कवि निद्रा देउजा ‘राजवंशी’ आफ्नो नवीन कविताकृति सहित कविको रुपमा देखापर्नुभएको छ । उहाँका रचनाहरु सरल, सहज र स्पष्ट छन् ।’, पुस्तकका बारेमा विष्णुबहादुर कायस्थ लेख्छन्, ‘सामान्यभन्दा समान्य व्यक्तिले पनि उहाँका रचनाहरु सहजै बुझ्न र ग्रहण गर्न सक्छन् । कविले प्रस्तुत सङ्ग्रहमा देखेका, भोगेका, छामेका र अनुभव गरेका विषयलाई अत्यन्त सटीक र रोचक ढङ्गबाट प्रस्तुत गर्नुभएको छ ।’
कविताकृतिलाई सूचक प्रकाशनले बजारमा ल्याएको हो । ४९ थान कविताहरु सङ्ग्रहित पुस्तकको मूल्य १ सय १५ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
साताका पुस्तक : पाैड्यालकाे ‘तादी किनारको गीत’देखि सुदिप अर्यालको ‘क्रान्ति’सम्म
२८ माघ २०८२, बुधबार 








