साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई प्राध्यापक तथा कथाकार प्रा.डा. कपिल लामिछानेकृत छैटौँ लघुकथासंग्रह “मन्त्रीको मुस्कान” प्राप्त भएको छ ।
यसमा ‘पिँजडा, बाघको विजय, ईश्वरको पुनर्जन्म, थाल, फर्सीको झाल, रेस्टुरेन्ट, मन्त्रीको मुस्कान, श्री तीन, हन्तकाली, भर, आँखा, मौनी, सत्यवान्, अर्की सावित्री, आगलागी, मास्क’ लगायत ५४ थान लघुकथा संग्रहित छन् । लामिछानेको मीठो र सरल भाषाशैलीमा लघुकथाहरू देशको, समाजको, राजनीतिको आवाज बन्न पुगेको छ । थोरै शब्दमा खँदिलो बन्न सफल भएको छ उक्त संग्रह ।
पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा प्रा.डा. दयाराम श्रेष्ठ लेख्छन्, “कपिल लामिछाने समकालीन राष्ट्रिय परिवेशबाट आभ्यान्तरिक रूपले प्रभावित एक चेतनशील कथा – स्रष्टा हुन् । उनले समाजभित्रका विकृति र विसङ्गतिहरूको यथार्थ अङ्कन गरेर तिनलाई आख्यानीकरण गरेका छन् । यसका साथै उनले केही वर्षअघि देशमा सम्पन्न भएको दशबर्से द्वन्द्वबाट उत्पन्न भएका कारुणिक संवेदना र अनुभूतिहरूलाई पनि आफ्ना कथाको विषय बनाएका छन् । उनी व्यङ्ग्य विधानमा प्रवीण भएकैले उनका लघुकथाहरू प्रभावकारी भएका छन् ।”
पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा डा. पुष्करराज भट्ट लेख्छन्, “नेपाली लघुकथा लेखनका क्षेत्रमा कपिल लामिछाने अग्रणी लेखकको रूपमा मानिन्छन् । – उनका लघुकथामा सामाजिक विषमताको विरोधका साथै राजनीतिक अव्यवस्थाप्रति व्यङ्ग्य गरिएको पाइन्छ । लामिछानेको लेखनमा प्रमुख पक्षका रूपमा निरङ्कुशतन्त्रविरोधी चेतना रहेको छ ।”
लघुकथनमा कपिल लामिछाने उल्लेख गर्छन्, “लघुकथा आख्यानको एक लघुतम भेद हो । यसमा न्यूनतम आख्यान हुन्छ । यो छोटो हुन्छ। छोटो भईकन पनि आफैँमा पूर्ण हुन्छ र यसले पाठकमा विशेष प्रभाव पार्दछ । यसको गति तीव्र हुन्छ । यसमा भनाइ खँदिलो र चोटिलो हुन्छ । पात्र कम। घटना न्यूनतम । कथानक अकस्मात् आरम्भ भई हठात् अन्त्य हुन्छ । यस्तो आख्यान दायाँ बायाँ नलागी सोझै अगाडि बढ्छ र एक्कासि अन्त्य हुन्छ – झिलिक्क बिजुली चम्के जस्तो । यसको आकार परिमित भए पनि प्रभाव अपरिमित हुन्छ । पढेर सक्दा पाठक घोरिन थाल्छ । यी लघुकथा यस्तै भए कि भएनन् । पारखीबाट पारख हुने नै छ ।”
पुस्तकलाई भुँडीपुराणले प्रकाशनमा ल्याएको हो । ९७ पृष्ठमा आधारित यस पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।