काठमाडौं । फाइनप्रिन्ट बुक्सले नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा शनिबार घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’ को काठमाडौं संस्करण आयोजना गर्ने भएको छ । कात्तिकमा चितवनबाट सुरु भएको यो महोत्सव पोखरा, सुर्खेत, नेपालगञ्ज र दाङ हुँदै काठमाडौं आइपुगेको हो ।

महोत्सवमा सम्राट उपाध्याय, नीलम कार्की निहारिका, अमर न्यौपाने, नयनराज पाण्डे, निरञ्जन कुँवर, स्नेहा प्रधान र केशव दाहाललगायत स्रष्टाको सहभागिता रहनेछ । चार सत्रमा सञ्चालन हुने कार्यक्रममा पहिलो सत्रमा नीलम कार्की निहारिका र केशव दाहालबीच “आख्यानमा इतिहास” विषयमा संवाद हुनेछ ।

दोस्रो सत्रमा बेलायतमा प्रकाशित ग्राफिक कमिक ‘यल्प! यती! केयोस इन काठमाडौं’ की लेखिका स्नेहा प्रधानसँग प्रकाशक तथा महोत्सव निर्देशक मोनिता गुरुङले संवाद गर्नुहुनेछ । तेस्रो सत्रमा अमर न्यौपाने, नयनराज पाण्डे र निरञ्जन कुँवरबीच “कस्तो भाषान्तर, कस्तो भावान्तर” विषयमा छलफल हुनेछ । सोही अवसरमा सेतो धरती र सल्लीपिर का अंग्रेजी अनुवाद सार्वजनिक गरिनेछ ।

चौथो सत्रमा नेपाली–अमेरिकी लेखक सम्राट उपाध्यायको नयाँ डिस्टोपियन उपन्यास ‘डार्कमदरल्याण्ड’ माथि कुराकानी हुने र उपन्यासको नेपाली संस्करण विमोचन गरिनेछ ।

फाइनप्रिन्टका लेखक र पुस्तकलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा चार पुस्तक विमोचन, लेखकसँग पुस्तक हस्ताक्षर कार्यक्रम तथा विशेष छुटसहितको पुस्तक प्रदर्शनी रहनेछ । सबै सत्रमा सहभागिता निःशुल्क रहने आयोजकले जनाएको छ ।