द्रोण अधिकारी, भद्रपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटको ११७ औं जन्म जयन्तीका अवसर पारेर चन्द्रगढीमा विविध कार्यक्रम सम्पन्न गरिएको छ ।देवकोटा स्मारक संरक्षण समिति भद्रपुर ९ चन्द्रगढीको आयोजनामा बाल कविता प्रतियोगिता, उत्कृष्ट विद्यार्थी सम्मान तथा मनोरम काव्य सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।

संरक्षण समितिका अध्यक्ष राजु बरालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आमन्त्रणमा सम्पन्न कार्यक्रममा कवि, लेखक तथा पत्रकार राजेश ढुंगानालाई २० हजार नगद राशिसहित मनोरम काव्य साधना पुरस्कारबाट पुरस्कृत गरिएको थियो । त्यस्तै, कवि गणेशप्रसाद नेपाललाई स्रष्टा सम्मानबाट सम्मानित गरियो ।

त्यस्तै, कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने सुप्रभा नेपाललाई एआई वैज्ञानिक डा. परशुराम दाहालले स्थापना गरेको जेहेन्दार छात्रवृत्ति रकमसहित सम्मान गरिएको थियो ।

महाकवि देवकोटाका बारेमा सहप्राध्यापक होम सुवेदीले चर्चा गर्दै नेपाली भाषा र साहित्यको विकासमा अविस्मरणीय योगदान पुर्याएको बताउनुभयो । त्यस्तै, सम्मानित प्रतिभा राजेश ढुंगानाका बारेमा प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकर तथा गणेश नेपालका बारेमा स्रष्टा लता खरेलले प्रकाश पार्दै सम्मानित व्यक्तिहरूको नेपाली भाषा र साहित्यको विकासमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

समितिका उपाध्यक्ष ज्ञानेन्द्र कटुवालले स्वागत गरेको कार्यक्रममा बाल कविता प्रतियोगितामा श्रद्धा रेग्मी प्रथम, सुमन रेग्मी द्वितीया, पूर्णिमा रिमाल तृतीय र रीमा सापकोटाले शान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो ।

सचिव युवराज ढकालले सञ्चालन गरेको कार्यक्रममा पुरस्कार स्थापना गर्ने दाता परिवारबाट नेपभल सरकारका सहसचिव समेत रहनुभएका कुमार दाहालले मन्तव्य राख्दै आफ्नो जन्मभूमिको उन्नतिका लागि साहित्य, कला र शिक्षा क्षेत्रमा विकास गर्न सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।