‘लघुकथा प्रतिष्ठान, नेपाल’ले आफ्नो ‘चौथो वार्षिकोत्सव’ सृजनात्मक र भावनात्मक वातावरणमा सम्पन्न गरेको छ । कार्यक्रम फेसबुक लाइभमार्फत करीब दुई घण्टा प्रसारण गरिएको थियो ।

देश-विदेशका लघुकथाकार, सम्पादक, पाठक र समीक्षकहरूले ३३ सामयिक लघुकथा पठाउँदै यस अवसरलाई “साहित्यिक तिहार”मा रूपान्तरण गर्नुभयो । कार्यक्रममा प्राप्त ३३ सामयिक लघुकथाहरूले युद्ध र शान्ति, प्रविधि र एक्लोपन, आस्था र यथार्थका सन्दर्भमा समयको अनुहार देखाएका थिए ।

समारोहको प्रारम्भमा समर भण्डारी, गरिमा आचार्य, डिमला जर्गा, सन्जिता भट्टराई, शारदा भण्डारी, शुक्रराज कुँवर लगायत स्रष्टाले पाठकीय मन्दिरमा शब्दका दीप जलाए । रचना शर्माले चितवनबाट कार्यक्रमको कुशल सञ्चालन गर्नुभएको थियो भने राजविराजका मनोहर पोखरेल र सिरहाका नन्दलाल आचार्य सहयोगी भूमिकामा हुनुहुन्थ्यो ।

प्रा.डा. खेमराज खनाल, रमेन्द्र कोइराला र पुण्य कार्कीको लघुकथा विमर्शले कार्यक्रमलाई बौद्धिक गहिराइ प्रदान गर्‍यो । प्रस्तुत भएका सामयिक लघुकथाहरूमा अन्धकार र उज्यालो, श्रद्धा र उपेक्षा, आस्था र यथार्थको द्वन्द्व कलात्मक रूपमा उजागर भएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण “स्वस्तिका सिम्खडा लघुकथा सम्मान-२०८२” को घोषणा रहेको थियो । दिवङ्गत स्रष्टा स्वस्तिका सिम्खडाको स्मृतिमा स्थापित यो सम्मान नन्दलाल आचार्यको संयोजनमा सञ्चालन हुँदै आएको छ । लक्ष्मी रिजाल संरक्षक रहेको यो सम्मान गत वर्ष (२०८१) एन्जल निलु (मिना साह) लाई प्रदान गरिएको थियो भने यस वर्ष संखुवासभाकी स्रष्टा शारदा दाहाल भण्डारीलाई प्रदान गरिने घोषणा गरियो । दाहाल शिक्षण र योग प्रशिक्षणमा आबद्ध हुनुहुन्छ । सम्मान राशि रु. १,१११/- र प्रमाणपत्र रहेको जनाइएको छ ।

संरक्षक रिजालले भन्नुभयो, “यो सम्मान शब्दको मात्र होइन, आत्माको पुनर्जागरण हो । स्वस्तिकाको सन्देश हाम्रा कलममा अझै बाँचिरहेका छन् ।”

गत वर्षको सम्मानित स्रष्टा एन्जल निलुले भन्नुभयो, “साहित्य आत्माको ध्यान हो । स्वस्तिकाजीको नाममा सम्मान पाउनु मेरा लागि पुनर्जन्म जस्तै हो ।”

कार्यक्रमको समापनको क्रममा आगामी वर्षदेखि अध्ययन-अनुसन्धान, अन्तर्राष्ट्रिय सम्मेलन र लघुकथा समालोचना कार्यक्रमहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको थियो ।

२०७८ साल कार्तिक ३ गते स्थापित प्रतिष्ठान चार वर्षे यात्रामा प्रवेश गरेको छ । संस्थापक अध्यक्ष लक्ष्मी रिजाल, नन्दलाल आचार्य र मनोहर पोखरेलको पहलमा शुरु भएको “मलन समूह” पछि “निरमलन समूह”को रूपमै लघुकथा अध्ययन, वाचन र विमर्शको सशक्त केन्द्र बन्यो । रचना शर्मा र एन्जल निलुको सहभागिताले यस यात्रामा नयाँपन र ऊर्जाको सिँचाइ थप्यो ।