लघुकथा लेखनमा महिलाहरुको सक्रियता बढाउने उद्देश्यले लघुकथा प्रतिष्ठान नेपालले लघुकथा सम्मानको घोषणा गरेको छ ।
फुटकर रुपमा संख्यात्मक र गुणात्मक लघुकथा लेखी लघुकथाको उन्नयनमा उत्कृष्ट कार्य गर्ने एक जना नवोदित महिला सर्जकलाई वर्षेनी उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानका व्यवस्थापक मनोहर पोखरेलले बताएका छन् ।
लघुकथाको संस्थागत र विधागत समुन्नतिमा सघाउने विश्वास राख्दै उक्त सम्मानको नाम ‘स्वस्तिका स्मृति लघुकथा सम्मान’ राखिएको प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजालले वताइन् । उनले हरेक वर्ष लघुकथाकर्मी स्वस्तिका सिम्खडाको जन्मोत्सव बैशाख १६ गतेको उक्त सम्मान प्रदान गरिने जानकारीे दिइन् । उनले सम्मानका लागि अक्षयकोषको स्थापना गरेर संस्थागत गति दिने समेत जनाइन् ।
लघुकथाकर्मी स्वस्तिका सिम्खडाको स्मृतिमा उक्त पुरस्कार घोषणा गरिएको हो । स्वस्तिकाको देहवसान २०८० साउन २० गते भएको थियो । उनको जन्म भने २०६१ बैशाख १६ गते भएको हो । उनी जुझारु लघुकथा लेखक र लघुकथा वाचक रुपमा परिचित थिइन् ।
उनले लघुकथा प्रतिष्ठान नेपालको नियमित वाचन तथा विश्लेषण कार्यक्रममा दर्जनौँ श्रृङ्खला सञ्चालन गरिसकेकी छिन् । बि. एड. प्रथम वर्षमा समेत अध्ययनरत् स्वस्तिका ‘गर्दै र सिक्दै’ सिद्धान्तको पक्षधर थिइन् । घोडा चढ्दा लडियो भने सिकिन्छ र आँट भरिन्छ भन्दै उनी थप्थिन्– लड्ने डरले घोडा चढिएन भने काँतर भएको अनुभूतिले आफैँलाई भित्रभित्रै जलाउँछ र गलाउँछ ।
उनी सौम्य समाजको अनुहार ढाक्ने कालो पर्दा च्यात्न लघुकथा मार्फत् सहज हुने बताउँथिन् । पुरानो लेखन तौरतरिका र शैलीलाई सम्मान गर्दै आजका लघुकथाकर्मीले आफ्नो निजत्व झल्कने शैली बनाउनुपर्छ भन्थिन् । लघुकथा वाचनमा समेत शब्दशब्दमा, वाक्यवाक्यमा प्रस्तोताले ध्यान पुर्याउनुपर्ने ठान्थिन् ।
साहित्यमा र बोलाउने दुबैतिर उनको नाम स्वस्तिका सिम्खडा रहेको भए पनि नागरिकता र प्रमाणपत्रमा उनको नाम सोस्तिका सिम्खडा थियो । सिलाइबुनाइ, पाककला र होटल म्यानेजमेन्टमा तालिम प्राप्त उनी मान्छे धनको हैन मनको धनी हुनुपर्छ भन्थिन् ।
वाचन कलाका सम्बन्धमा उनको कथन थियो– लघुकथामा पात्रले कुन परिवेश र मनस्थितिमा कस्ता कुरा अभिव्यक्त गरिरहेको छ भन्ने कुरा प्रस्तोताको वाणीले त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ । नव रसको आभास प्रस्तोताको वाणीमा आउनुपर्छ । स्रोताको ध्यानलाई प्रस्तोताको वाणीले खिच्नुपर्छ । प्रस्तोता वाणीमा त्यो जादु घुस्नुपर्छ जसको एकैछिन श्रवणले पनि कार्यक्रमको अन्तसम्म स्रोतालाई अड्याइरहने बनाउनुपर्छ । आफ्नो कला, गला र स्वर स्रोताले खोजीखोजी नियाल्ने बनाउन सकियो भने मात्र सफल प्रस्तोता कहलिन सकिन्छ ।
लघुकथाकर्मी स्वस्तिका सिम्खडाका दुई दर्जन अधिक लघुकथा फुटकर रुपमा प्रकाशित र प्रसारित छन् । उनको असामयिक निधनले सम्पूर्ण लघुकथा जगत् मर्माहत रहेको बताउँदै प्रतिष्ठानका अर्का व्यवस्थापक नन्दलाल आचार्य भन्छन् – लघुकथाकर्मी स्वस्तिका सिम्खडाको मृतात्माले शान्ति पाओस्, सम्पूर्ण लघुकथाकर्मीको तर्फबाट सहकर्मीलाई एकमुस्ट रुपमा हार्दिक श्रद्धाञ्जली !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।