लघुकथा प्रतिष्ठान, नेपालद्वारा दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित ‘बुढ्यौली विषयक लघुकथा अभियान–२०८०’ मा ‘डगल्यान्ड’ शीर्षकको लघुकथा सर्वोत्कृष्ट भएको छ ।

गत हप्ता पीपी कोइरालाको ‘डगल्याण्ड’ शीर्षकको लघुकथा,  शारदा दहालको ‘इच्छामरण’ शीर्षकको लघुकथा, शुक्रराज कुँवरको ‘सहारा’ शीर्षकको लघुकथा, निर्मला बरालको ‘साथी’ शीर्षकको लघुकथा, सुनिता निरौला पौडेलको ‘चौरासी पूजा’ शीर्षकको लघुकथा। उमानाथ दाहालको ‘नामसारी’ शीर्षकको लघुकथा, तिलक तारामी रेशालीको ‘बचत’ शीर्षकको लघुकथा, रचना शर्माको ‘बुढ्यौली’ शीर्षकको लघुकथा, गंगा खड्काको ‘तीर्थ’ शीर्षकको लघुकथा, प्रेम पुन मगरको ‘वृद्ध’ शीर्षकको लघुकथा, ध्रुवराज थापा पुरूषको ‘पीडा’ शीर्षकको लघुकथा गरी ११ लघुकथाहरू उत्कृष्टको सूचीमा परेका थिए । तिनैमध्ये निर्णायक संयोजक डा. राजेन्द्र विमलको मण्डलले धरान १३, सुनसरीका पिपि कोइरालाको ‘डगल्यान्ड’ लघुकथालाई सर्वोत्कृष्ट ठहर गरेको हो ।

निर्णायकमा सदस्यहरूमा रमेन्द्र कोइराला, खगेन्द्र बस्याल र तुलसा काफ्ले थिए । प्रतिष्ठानका व्यवस्थापकमा मलन समूह अर्थात् मनोहर पोखरेल, लक्ष्मी रिजाल र नन्दलाल आचार्य क्रियाशील छन् ।

प्रतिष्ठानलाई प्राप्त प्रतिस्पर्धी र सहभागी लघुकथालाई समेटी ‘सन्दर्भ’ लघुकथा प्रधान पत्रिकाको सातौं अङ्क प्रकाशन गरिएको छ ।

लघुकथा प्रतिष्ठान, नेपालले स्थापनाकालदेखि हालसम्म रातको ७ः५५ बजे निरन्तर लघुकथा विमर्श र प्रशिक्षणको काम गर्दै आएको छ । त्यस्तै विविध सन्दर्भमा मासिक लघुकथा अभियान समेत सञ्चालन गरिरहेको छ । उत्कृष्ट लघुकथा लेखकलाई सम्मान र अभियानको सर्वोत्कृष्टलाई नगद सहित पुरस्कृत गर्दै आएको छ ।

सोही अनुरुप ‘बुढ्यौली विषयक लघुकथा अभियान–२०८०’ मा सर्वोत्कृष्ट हुन सफल ‘डगल्यान्ड’ लघुकथाका सर्जक पिपि कोइरालालाई नगद रु. १५ हजारसहितकोे पुरस्कार दिइनेभएको हो । एजिङ नेपाल अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङमास्टर’ का तर्फबाट पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

पिपि कोइराला २०४८ सालदेखि हालसम्म निरन्तर लघुकथा लेखनमा सक्रिय छन् । शिक्षण पेसाबाट अवकास कोइरालाको अभिभावक शिक्षा सन्दर्भको एक शैक्षिक पुस्तक प्रकाशन छ । उनको लघुकथा कृति प्रकाशोन्मुख छ ।

प्रस्तुत छ ‘डगल्यान्ड’ लघुकथाको पाठ्य रुप–

समाजशास्त्रका एक वृद्ध प्राध्यापक डा.हरिप्रसादलेलेक्चर दिँदै गर्दा एउटा विद्यार्थीले सोध्छ, “यो डगल्याण्ड त अचम्मको सुनियो त ! विश्वको नक्शामा कहाँ छ सर ?”

अरु विद्यार्थी गललल हाँस्छन् ।

अर्को विद्यार्थीले पनिनिकै उत्सुकतापूर्वक सोध्छ, “यसको खास भुगोल चाहिँ कहाँ पर्छ सर?”

सर पनि जोसिदै जवाफ दिन्छन्,”पृथ्वीको जताततै पर्न सक्छ।”

फेरि सबै हाँस्छन्।

अर्की विद्यार्थी हाँस्दै सोध्छिन्,”त्यो ल्याण्ड बनेपछि के देख्न पाइन्छ त सर? ”

सर भन्छन,”अरु केही होइन जताततै कुकुरै कुकुर देखिन्छन्।”

कक्षाभित्र फेरि ठूलो ठहाका गुन्जन्छ ।

सर भनिरहन्छन्, “त्यो डगल्याण्डमा प्रायः सबै काम कुकुरहरुकै जिम्मामा अाउनेछ।त्यस ल्याण्डको हरेक चोक,गल्ली, टोलतिरचाहिँ अन्यभुस्याहा र वेवारिसे कुकुरहरुकोहुल वा जमात देखिनेछन्। बाटोमा मानिसहरुले ती कुकुरहरुबाट अाफुलाई जोगाउन अाफ्ना घर पालुवा कुकुरहरु अनिवार्य साथमा लानु पर्नेछ।”

प्राध्यापक अझै हाँस्दै लेक्चर दिइरहेका हुन्छन्, “घरै पिच्छे कुकुरका निम्ति कोठाहरु र मासुका परिकारहरु बन्नेछन् । मानिसहरु अाफ्ना वृद्ध बाबुअामा लाई त्यागेर कुकुरहरुलाई मात्र महत्त्व दिनेछन्।”

विद्यार्थीहरुले सोच्दछन् – “प्राध्यापक वृद्ध भए पनि भविष्यवाणी त ठ्याक्क मिल्ने गरी पो भन्दा रहेछन् ।”