
स्याङ्जा ।
विद्यार्थीहरूको सिर्जनशील विकासका लागि मध्यनजर राखी दहथुम माध्यामिक विद्यालयले आयोजना गर्दै आएको ‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’ सम्पन्न भएको छ । ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीबीच पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीसँग असोज २२ गते बुधबार अनौपचारिक सिर्जनशील एवम् साहित्यिक अन्तरक्रिया सम्पन्न गरेको हो ।
कवि/साहित्यकार मिलन समिरले सहजीकरण गरेको कार्यक्रममा वियोगीले झन्डै दुई दशक लामो पत्रकारिताको सिकाइ, ऊर्जा पत्रकारिता तथा पर्यावरणीय लेखन एवम् सिर्जनाका विविध पाटाहरूका बारेमा आफ्ना अनुभव सुनाएका थिए । सिर्जना एवम् सिकाइका लागि खुला र स्वतन्त्र पारिपारिक तथा सामाजिक परिवेश अपरिहार्य रहेको भन्दै उनले त्यस्तो सामाजिक संरचनामा विद्यार्थीको सिर्जनशीलताको प्रचुर विकास हुन सक्ने बताए ।
गत जेठमा मात्र वियोगीको १५ वटा कथा सङ्ग्रहित ‘सत्यम्’ कथासङ्ग्रह बजारमा आएको छ । उनले पत्रकारितासँगै निबन्ध, नियात्रा, संस्मरण, गीत तथा कवितामा समेत कलम चलाउँदै आएका छन् ।
कार्यक्रममा विद्यालयका शिक्षक शेषकान्त खनालले स्वागत मन्तव्य राखेका थिए भने सहायक प्रध्यानाध्यापक टोलप्रसाद रेग्मीले साहित्यकारसँग हुने यस्ता परामर्श एवम् अनौपचारिक छलफलले विद्यार्थीहरूको सिकाइको दायरा फराकिलो हुने बताए ।
यस्तै, कार्यक्रममा शिक्षकहरू भूपेन कोइराला तथा बलराम बस्नेतले विद्यार्थीहरूको सर्वाङ्गिण विकासलाई मनन् गर्दै आगामी दिनमा विद्यालयले यस्ता अनौपचारिक कार्यक्रमलाई निरन्तरता दिने बताए । यसैगरी, कार्यक्रममा मौन आवाज निबन्धकृति र सेतो सुनखानीका सर्जक एवम् साहित्यकार शम्भु अर्यालले आफ्ना केही सिर्जना वाचन गरेका थिए ।
सहजकर्ताको भूमिकासँगै कवि मिलनले आफ्ना सिर्जना वाचन गरेका थिए । अन्तरक्रियामा करीब दुई दर्जन विद्यार्थीको सहभागिता थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

सङ्गीत तथा नाट्य प्रतिष्ठानको आयोजनामा ‘भ्वाइस एण्ड स्पीच’ कार्यशाला सम्पन्न
