‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ६ पुस्तक – टङ्क भट्टराईकाे ‘ठाँटीको घाम’, विष्णु एस राईकाे ‘डाँडावारि डाँडापारि’, युवराज भण्डारीकाे ‘अर्को कर्नाली’, ‘नेपाली बौद्ध कथा’, डा. रामकृष्ण आचार्य ‘विशेष्य’काे ‘आदिबिम्ब’, सत्या अधिकारीकाे ‘ऐना’ ।
१ . ठाँटीको घाम – टङ्क भट्टराई
लेखक टङ्क भट्टराईकृत उपन्यास हो – “ठाँटीको घाम ।”
२ सय ४५ पृष्ठमा आबद्ध यस उपन्यासलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो ।
उपन्यास ‘रमितेखोलो’, ‘गोठाला’, ‘चिठी-चपेटो’, ‘मायाको फूल’, ‘सिलोक’, ‘दुखेसो’, ‘गाउँको काखमा’, ‘जोगी’, ‘ठाँटीको घाम’ आदि ५२ शीर्षकहरूबाट बुनिएको छ र बनेको छ उज्यालोको खोजी ।
उपन्यासको पछिल्लो पृष्ठमा लेखिएको छ, “… बा रेडियो बोकेर हिँडे । दिखुवापारि पुगेपछि बालाई दिसा लागेछ । बालाई रेडियो मार्न र खोल्न सिकाउन काकाले बिर्सेटन् । रेडियोका मान्छे आफैँ चुप लाग्लान् भनेर बाले सोचेका रछन् । … तिमरू चुप लागेर वरै बस भनेर बाले सतीबयरका बुटामुनि रेडियो राखेर…पर्तिर लागेछन् । तर, रेडियोमा बोल्ने मान्छे चुप नलागेपछि रेडियोका मान्छेले दिसा गरेको देख्लान् भनेर बाले सतीबयरका सेउला भाँचेर रेडियो छोपेछन् ।”
“मैले मेरो जीवनका साढे तीन दशक अविच्छिन्न रूपले गाउँ (खाल्ले)मा बिताएँ । त्यो बेला खोटाङ पूर्वको कालीकोट भनेर चिनिन्थ्यो । अरूको नजरमा जतिसुकै विकट, ढुङ्गेनी र अक्करे भीरपाखाले घेरिएको किन नहोस्, तर आफ्नो नाइटो गाडिएको ठाउँ सधैँ प्यारो हुन्छ आफूलाई । छोडेर जहाँ पुगे पनि त्यो घर, आँगन, गोठ, ती बारीका पाटा, खेतका गरा, बस्तुभाउ चराएका र घाँस दाउरा गरेका वनपाखा, साथीभाइसँग हिँडेका, मेलापात गरेका उकाली-ओराली बाटा, घुम्ती र कुइनेटा, अञ्जुली र पातको खोँचे बनाएर कलकल पानी पिएका धारा-पँधेरा, नाघ्दै र पानी अचाउँदै हिँडेका खोला-खोल्सी, नदीको सुसेली सुन्दै तरेका जङ्घार, फड्के र साँघु, भारी बिसाएका वर-पीपल चौतारी र फूलपाती चढाएका देउराली अनि आफूसँगै खेलेहुर्केका हिजोका बाला दौँतरी र दसैँमा आशीर्वाद थापेका थुप्रै बुढ्यौली हातहरू कहाँ भुल्न सकिँदो रहेछ र ।” भूमिकामा लेखक उल्लेख गर्छन्, “लेख्नेका लागि यी सबै कुरा आफ्ना सिर्जनामा अनेक विषय बनेर आउँछन् । नलेख्नेका लागि यी कुरा सुख-दुःखका सुस्केरा बनेर आउँछन् । सम्झनाका तरेलीसँगै गीतका गुनगुनाहट बनेर आउँछन् । अरूलाई सुनाउने कथा र कहानी बनेर आउँछन् । यो उपन्यासको जग मेरो गाउँले जीवनका यिनै स्मृतिबिम्बहरू हुन् । केही फरक र काल्पनिक रूपमा उभिए पनि मसँग जोडिएका तिनै पात्र, परिवेश र घटना उपन्यासका भावभूमि हुन् ।”
उपन्यासको मूल्य ४ सय ९५ रुपियाँ रहेको छ ।
००००
२. डाँडावारि डाँडापारि – विष्णु एस राई
‘डाँडावारि’ र ‘डाँडापारि’ दुई परिच्छेदमा विभाजित नियात्राकार विष्णु एस राईको गैरआख्यानात्मक दोस्रो पुस्तक हो – “डाँडावारि डाँडापारि” ।
देश र विदेशका विभिन्न ठाउँहरूको वर्णन यस नियात्रा सङ्ग्रहमा पाइन्छ । र सङ्ग्रहलाई डाँडावारि – ‘तराई मधेसको गर्मीमा’, ‘काँक्रेविहार’, ‘विराटनगर’लगायत अन्य ८ थान शीर्षक र डाँडापारि – ‘नजरूल र नसरिनको देश: बङ्गलादेश’, ‘दोस्रो अमेरिका यात्रा: फोर्ट वेन-युस्टन-लास वेगास’लगायत अन्य ४ थान शीर्षकबाट तयार पारिएको छ ।
लेखकीयमा लेख्छन्, “यात्रा सुन्दर ठाउँको मात्रे गर्नुपर्छ भन्ने पनि छैन र अर्को कुरो सुन्दरता भनेको हेर्नेको आँखामा निर्भर हुन्छ । त्यसैले यस पुस्तकमा भएका ठाउँहरू लोकप्रिय सुन्दरताको श्रेणीमा नपर्लान् तर मेरा आँखाहरूले तिनीहरूमा केही न केही विशेषताचाहिँ पक्कै देखेको छ । मैले त्यसैलाई प्रस्तुत गरेको छु । मैले ‘नौ डाँडापारि’जस्तै यसमा पनि कथात्मक हाइबुन शैली (गद्यपद्य मिश्रित) प्रयोग गरेको छु । दुवैमा एउटा फरक के छ भने यो मैले मेरी छोरी डललाई (अहिले डा. आरती) यसमा भएको सबै नियात्राहरू समर्पित गरेको छु र उनीलाई नै सम्बोधित गरेर सुरु गरेको छु ।”
प्रिय छोरीमा लेखिएको छ, “मेरो जन्म तराईमा भयो – तिम्रो पहाडमा । तराईका धेरै कुरा तिमीलाई थाहा छैन । प्रायः जसो पहाडहरूमा तराईप्रति (जसलाई मधेस पनि भनिन्छ) अवहेलनाको भावना छ । तराई-मधेस बस्ने ठाउँ होइन- गर्मी हुन्छ, लामखुट्टेले टोक्छ, मान्छेहरू काला हुन्छन्, नेपाली बोल्न जाँदैनन्, यस्ता कुराहरू गरिन्छ । यी सब गलत कुरा हुन् । तराईको मलिलो फाँटले नै हाम्रो देशको कृषितन्त्रलाई धानेको छ, यसैको गर्मीमा आँप, लिची, भुइँकटहर, र अरू दर्जनौँ फल फल्छन्, यही बाटो भएर इन्डिया गइन्छ, यो हाम्रै देशको अभिन्न अङ्ग हो र यहाँको बासिन्दा पनि नेपाली हुन्- यी कुरा हामी पहाडेले कहिल्यै बिर्सिनु हुँदैन । यस यात्रा वृत्तान्तमा तराईको वर्णन छ जसले तिमीलाई तराईसँग परिचय गराउनेछ ।”
रत्न पुस्तक भण्डारले बजारमा ल्याएको २ सय ६४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ९५ रुपियाँ रहेको छ ।
००००
३. अर्को कर्नाली – युवराज भण्डारी
करिब ४० वर्षअघिबाट लेखनका लाग्दै आएका लेखक युवराज भण्डारीको कवितासङ्ग्रह हो – “अर्को कर्नाली” ।
१ सय ४४ पृष्ठमा फैलिएको यस कृतिमा ‘नमन’, ‘भावनाको नक्सा’, ‘राजनीतिको रङ’, ‘तिमी मेरो भूगोल’, ‘अजम्मरी’, ‘रेक्स’, ‘मेरा बा’, ‘बेवारिसी नोट’, ‘आँसुको कर्नाली’लगायत ५६ थान कविता सङ्ग्रहित छन् ।
“युवराज भण्डारीको ‘अर्को कर्नाली’मा सङ्कलित कविता समसामयिक समस्या, चिन्ता, मुद्दा र परिवेशसँग कविताको भावनाले अन्तरक्रिया गरेपछि अभिव्यञ्जित आलोकका काव्यगुच्छा हुन् । यी कविता भौतिक संसार, लौकिक जीवन र अध्ययन-अनुभवका विविध स्रोतबाट माथि उठ्दै गरेको कविका गहन चिन्तनसार हुन् । उनका कविता भावावेगमा प्रवाहित छन्, जसले गर्दा तिनले पाठकको गूढ अनुभूतिलाई प्रदीप्त पार्छन् र भाषिक कलाका रूपमा कविताको पृथक् सौन्दर्यशास्त्रीय विशिष्टता स्थापित गर्छन् ।” भूमिकामा डा. नेत्र एटम लेख्छन्, “भावको आवेगले कवितालाई हाम्रा ज्ञानेन्द्रियको संज्ञानसँग जोड्छ । यसैका कारण हामी कवितामा दृश्य देख्छौँ, ध्वनि सुन्छौँ, स्पर्श अनुभूत गर्छौँ, स्वाद पाउँछौँ अनि बास्ना लिन्छौँ । यसले कवितालाई ठोस बनाउँछ, कविताको अमूर्त चिन्तनलाई आकार दिन्छ र ग्रहण गर्न सहज तुल्याउँछ । भण्डारीले आफ्ना कवितामा भावावेगलाई सांसारिक वस्तुसँगको तुलना, प्रतीकीकरण एवम् विम्बका रूपमा प्रस्तुत गरेर पाठकको सुषुप्त संवेदनालाई जागरूक बनाउन सकेका छन् ।”
कवि लेख्छन्, “जीवनमा आउने आरोह-अवरोहको प्रभाव मेरो साहित्य-यात्रामा पनि पर्ने नै भए । परिणामतः सिर्जनाका प्रवाह अविच्छिन्न रहेन । बाँधहरूमा अल्झिएँ कतै, बगरहरूमा बल्झिएँ कतै । म बगे पनि रोकिए पनि मेरो कलिलो मनमा फुटेको त्यो भाषा-साहित्यप्रतिको अनुराग भने अविरल बगी नै रह्यो र कविता-रसमा भिज्दै पहिलो कविता लेखेको झन्डै ४० वर्षपछि जन्मियो – ‘अर्को कर्नाली’ ।”
बेवारिसी नोट
एक्लैएक्लै हिँड्दै थिएँ बाटामा
ऋचानक देखेँ- हजारै हजारका नोट
थामिएर हेरे, कोही देखिएन वरिपरि ।
एक बटुवा आएर सोध्यो मलाई
के यो पैसा तपाईंको हो, दाइ ?
मैले होइन भन्न भ्याउँदै
ऊ हिँड्यो निमेषमै गोजी भरेर ।
खुशी लाग्छ
जिन्दगीमा कहिल्यै चोरी गर्न जानिएन
कहिलेकाहीँ लाग्छ
आफ्ने बगैँचाको फल टिप्न पनि जानिएन ।
भुँडीपुराण प्रकाशनबाट बजारमा ल्याएको यस पुस्तकको मूल्य २ सय ९० रुपियाँ रहेको छ ।
००००
४. नेपाली बौद्ध कथा
डा. माणिकरत्न शाक्यद्वारा सम्पादित पुस्तक हो – “नेपाली बौद्ध कथा” ।
यस सङ्ग्रहमा अभय श्रेष्ठको ‘मैत्रेय’, अश्विनी कोइरालाको ‘प्रेमको परिभाषा’, प्रा.डा कपिलदेव लामिछानेको ‘स्लिम बुद्ध’, गङ्गा कर्माचार्य पौडेलको ‘उ पागल होइन’, डा. गणेश प्रसाद भट्टराईको ‘शील सुगन्ध’, दिलीप शाहको ‘तितो सत्य’, धनराज गिरीको ‘दुःख छ !’, धीरकुमार श्रेष्ठको ‘मेरो कथाका नायक’, रामदेव पाण्डेको ‘ज्ञानको पुस्तातन्तरण’, रिता महर्जनको ‘कर्मको भोगाई’, रूद्र ज्ञवालीको ‘जीवनज्योति’, लक्ष्मी उप्रेतिको ‘धम्मपदको मार्ग’, विजय चालीसेको ‘समर्पण’, बिक्रमभक्त जोशीको ‘बुद्धका आँखा’, शारदा पराजुलीको ‘परिवर्तन’, सुमन्तराज न्यौपानेको ‘आनन्दका पश्यनामा’, हरिप्रसाद भण्डारीको ‘परिवर्तन’ बौद्ध कथाहरू रहेका छन् ।
शुभकामनामा डा. तिलकराम आचार्य लेख्छन्, “लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध शिक्षाको अध्ययन अध्यापन तथा अनुसन्धान गराउने क्रममा Door to Door Buddhism भन्ने नारार्ला अवलम्बन गरेको छ । सोही अनुरूप बौद्ध शिक्षालाई व्यापक रूपमा प्रचार-प्रसार गर्ने एक माध्यम साहित्य हो । साहित्यमार्फत आम जनमानसमा बौद्ध शिक्षा पुर्याउने लक्ष्यले आयोजना गरिएको वरिष्ठ साहित्यकार हरूद्वारा बौद्ध कथा लेखन कार्यक्रममा संलग्न कथाहरूले बुद्धको शिक्षालाई सन्देशमूलक तरिकाबाट सम्प्रेषण गर्ने छन् भन्ने अपेक्षा गरेको छु । साथै साहित्यको माध्यमबाट बौद्ध शिक्षा हासिल गर्न चाहनेहरूका लागि यी कथाहरू स्रोतका रूपमा हुने विश्वास लिएको छु ।”
भूमिकामा डा. माणिकरत्न शाक्य लेख्छन्, “नपाली बौद्ध कथा लेखन कार्य लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन सङ्कायको आयोजनामा भएको छ । यस कार्यका लागि प्रारम्भमा नेपालका प्रतिष्ठित कथाकारहरूको नाम सङ्कलन गरी कथा लेखनका लागि पत्राचार गरिएको थियो । बौद्ध कथाको विषयवस्तुको लागि बौद्ध जगतमा अत्यन्त लोकप्रिय ग्रन्थ धम्मपदलाई मूल आधार बनाइएको थियो । धम्मपदमा रहेका विभिन्न श्लोकहरू विभाजन गरी कथाकारहरूलाई दिइएको र ती श्लोकको भावलाई मूल विषय बनाई कथा लेखाइएको थियो । यस पुस्तकमा जम्मा १७ वटा कथाहरू समावेश भएका छन् ।”
१ सय ३० पृष्ठमा बुनिएको पुस्तकलाई लुम्बिनी बौद्ध विश्वविद्यालयबाट प्रकाशन भएको हो ।
००००
५. आदिबिम्ब – डा. रामकृष्ण आचार्य ‘विशेष्य’
कथाकार डा. रामकृष्ण आचार्य ‘विशेष्य’द्वारा लिखित कथासङ्ग्रह हो – “आदिबिम्ब – राउटेबस्तीका कथा” ।
कथाहरू जङ्गलका आदिवासी राउटेहरूकै जीवनका कथा-व्यथालाई केन्द्र मानेर रचना गरिएको छ । पुस्तकमा ‘राउटेको बिहे’, ‘जङ्गली प्रेम’, ‘हृदयको आवाज’, ‘बासी समाचार’, ‘दर्शन र राउटे’लगायत २० थान कथा सङ्ग्रहित छन् ।
“नारी नभए वंश रोकिन्छ भन्ने थाहा पाएर पनि राउटे जातिमा नारीमाथि गरिएको शोषण, अन्याय, अत्याचार, हिंसा र बलात्कारबाट अत्यन्तै पीडित नारीहरूको अवस्था देख्दा जो कसैको हृदय पनि मर्माहत हुन्छ ।” भूमिकामा प्रा. डा. सुषमा आचार्य लेख्छन्, “ज्ञान भए पनि शैक्षिक चेतनाको कमीले उजिल्याउन नसकेको अधकल्चो ज्ञानले स्वघोषित राजा बनेको राउटे मुखियाको शोषण, दमन र थिचोमिचोले गाउँ नै ग्रसित हुँदा पनि उसको विरोधमा कसैले बोल्न नसक्नु र उसको सन्तानबाट समेत हेपिनु, थिचिनु र किचिनुको वास्तविकतालाई धेरै वर्षसम्म नजिकबाट नियालोका कथाकार आचार्यले चर्लङ्ग पार्न खोजेका छन् ।”
पछिल्लो पृष्ठमा डा. मधुसुधन गिरी लेख्छन्, “…समग्रमा नयाँ विषयवस्तुयुक्त यी नेपाली साहित्यमा नै नयाँ स्वाद प्रदान गर्ने छन् । नयाँ सन्तुष्टि दिने छन् । यसबाट एकातिर नेपाली कथा साहित्यमा विषयगत विविधीकरण हुने छ भने अर्कोतिर राउटेसँग सम्बद्ध मानवशास्त्रीय अध्ययन अझ समृद्ध बन्दै जाने र बन्न प्रेरणा प्रदान गर्ने छ ।”
पछिल्लो पृष्ठमा प्रा.डा. रामचन्द्र लम्साल लेख्छन्, “…यस कथासङ्ग्रहमा कथाकारले अद्यापि आखेट युगबाट कृषि युगमा समेत प्रवेश नगरेका जङ्गललाई राज्य मान्ने र आफूहरूलाई जङ्गलकै राजारानी मान्दै जङ्गल-जङ्गल चहारेर र घुमन्ते जीवन बिताउन रुचाउने राउटेका रहस्यमय तथा रोमाञ्चक जीवनको पर्दा उघार्नु भएको छ ।”
लेखक लेख्छन्, “‘आदिबिम्ब’ अनुसन्धान र साहित्यको सङ्गम हो । यसमा समाविष्ट कथामा अनुसन्धानबाट प्राप्त तथ्यलाई साहित्यिक रङ भरिएको छ । अनुसन्धान र साहित्यका सक्दो समन्वय गरिएको छ । अनुसन्धान तथ्यमा र साहित्य कल्पनामा आधारित हुन्छ । यस कथासङ्ग्रहका कथामा बढी तथ्य र कम कल्पनाको उचित संयोजन भएको छ । काल्पनिक भन्दा यथार्थमा विशेष जोड दिई कथा रचना गरिएको छ । तथ्य बढी र कल्पना कमको संयोजन गरी कथासङ्ग्रह तयार गर्नु निकै गाह्रो काम रहेछ ।”
पुस्तकलाई क्याप्टेन जगतप्रसाद आचार्यले प्रकाशनमा ल्याएका हुन् । १ सय ४ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य ३ सय ५५ रुपियाँ रहेको छ ।
००००
६. ऐना – सत्या अधिकारी
कथाकार सत्या अधिकारीकृत दोस्रो लघुकथासङ्ग्रह हो – “ऐना” ।
१ सय ४ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘ऐना’, ‘ठेस’, ‘आशिष्’, ‘मूल्याङ्कन’, ‘सावधान’, ‘निर्णय’, ‘मातातीर्थ औँसी’, ‘भ्रुण’, ‘वर्तमान समाज’, ‘तर्पण’, ‘हर्जना’आदि ६९ वटा लघुकथा सङ्ग्रहित छन् । पुस्तकले व्यक्ति, समाज र राष्ट्रका विकृति विसङ्गतिलाई ऐनाले झैँ देखाइएको छ ।
“परिवेशका आधारमा सत्याका लघुकथाहरूमा सहर र गाउँ दुवै स्थानमा घट्न सक्ने घटनाहरूको संयोजन छ । तथापि लामो समयदेखि काठमाडौँ उपत्यकाभित्र बसोबास भएकाले उनका धेरै कथाहरूमा सहर नै स्थानको रूपमा आएको देखिन्छ । त्यस्तै, समयका आधारमा हेर्दा उनका लघुकथाहरूमा वर्तमान समय आएका छन् । यसका साथै ‘मन’ लगायत केही लघुकथाहरूको समय सीमा बढी भए पनि सम्पूर्ण लघुकथाहरूलाई सोलोडालो रूपमा हर्दा लघुकथाको वर्तमान सिद्धान्तअनुरूप समय प्रयोगमा सचेतता हुँदै गएको देखिन्छ ।” भूमिकामा डा. शेखरकुमार श्रेष्ठ लेख्छन्, “सत्याका लघुकथाहरूमा आदि, मध्य र अन्तको क्रममा विन्यस्त छन् । उनले लघुकथाहरूमा सामान्य जनजीवनमा प्रयोग हुने भाषा प्रयोग गरेका छन् । उनका सबै लघुकथाहरूमा बाह्य दृष्टिविन्दुको प्रयोग छ । निष्कर्षमा भाषाशैलीको कोणबाट ‘ऐना’ सरल, सहज र सम्प्रेषणीय छन् ।”
शुभकामनामा श्रीओम श्रेष्ठ ‘रोदन’ लेख्छन्, “ऐनाले ढाँट्दैन र बेइमानी पनि गर्दैन जे छ त्यसैलाई देखाइदिन्छ । सत्यलाई प्रतिबिम्बित गरिदिन्छ । ऐनाभित्र सङ्गृहीत लघुकथाले पनि महिलाको पीडा समाजमा हुने गरेको विभेद विकृति र विसङ्गतिलाई प्रस्ट रूपमा उतार्न सफल भएको छ । सत्या अधिकारीको लघुकथा लेखन र अभियान सार्थक र परिणाममुखी बनिरहन सकोस् भन्ने हार्दिक शुभकामना ।”
सत्या अधिकारी लेख्छिन्, “सत्य तितो हुन्छ भने झैँ मैले लेखेका लघुकथा कतिलाई करेला खाए जस्तो हुन सक्छ । कतिलाई खल्लो लाग्न सक्छ । कतिलाई मेरै कथा हो कि झैँ पनि लाग्न सक्छ । त्यति भयो मात्रै पनि म सफल भएको ठान्ने छु । आँसु निकाल्न नसक्लान् मेरो लघुकथाले तर सावधान अवश्य गराउने छन् भन्नेमा म विश्वस्त छु ।”
हाम्रो लघुकथा केन्द्रबाट प्रकाशित पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।