काठमाडौँ । समकालीन नेपाली साहित्यमा महाकाव्य लेखनको नयाँ अध्याय रच्दै कवि डा. नवराज लम्सालले आफ्नो चौथो महाकाव्य कल्प सार्वजनिक गर्नुभएकाे छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा आयोजित विमोचन कार्यक्रमलाई साहित्यिक, राजनीतिक र शैक्षिक जगतका प्रतिष्ठित व्यक्तित्वहरूले गरिमामय बनाउनुभएकाे थियाे ।

विमोचन समारोहमा नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापा, एमाले नेतृ एवं पूर्वमन्त्री विद्या भट्टराई, नेकपा माओवादीका सांसद तथा पूर्वमन्त्री सुदन किराँती, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, समीक्षक राजकुमार बानियाँ र लेखक स्वयं उपस्थित भई संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएकाे थियाे।

यसअघि कर्ण, धारा र अग्नि जस्ता चर्चित महाकाव्यमार्फत महाकाव्य लेखनमा स्थापित भइसक्नुभएकाे लम्सालको यो नवीनतम कृति कल्प प्रतीक्षाको पुस्तक बनेको थियो। अग्नि महाकाव्यका लागि उहाँलाई २०७८ सालको मदन पुरस्कार प्रदान गरिएको थियो, जसले उहाँलाई नेपाली महाकाव्य लेखनको अग्रपंक्तिमा स्थापित गरिदिएको छ।

समारोहमा बोल्दै गगन थापाले लम्सालको काव्यिक यात्रा विशिष्ट भएको उल्लेख गर्नुभयाे । “लम्सालको प्रतिस्पर्धा लम्सालसँगै मात्र छ,” उहाँले भन्नुभयाे, “२०६२ को आन्दोलन यताकै केन्द्रीय साहित्यिक व्यक्तित्व  हाे उहाँ । कुनै राजनीतिक दलको झन्डा नबोके पनि कुनै नेताभन्दा कम राजनीतिक चेतना उहाँसँग छैन।” थापाका अनुसार यही वैचारिक चेतनाले लम्सालका कृतिलाई राजनीतिक नेतृत्वले समेत पढ्नुपर्ने काव्य बनाएर पठनीय बनाएको छ।

त्यस्तै, पूर्वमन्त्री तथा सांसद विद्या भट्टराईले कल्प अध्ययनपछि लम्सालको वैचारिक धरातल अझ गहिरो र विश्वदृष्टि अझ प्रखर भएको अनुभूति भएको बताउनुभयाे। उहाँले लम्सालका काव्यहरूबाट बौद्धिक सम्पन्नता मात्र होइन, जीवन र समाजप्रतिको संवेदनशील दृष्टि पनि पाउन सकिने धारणा व्यक्त गर्नुभयाे ।

नेकपा माओवादीका सांसद सुदन किराँतीले लम्साललाई सिमान्तकृत जाति, आदिवासी, महिला र मधेशी समुदायको आवाजलाई साहित्यमा प्रतिबिम्बित गर्ने कवि भनेर व्याख्या गर्नुभयाे । “उहाँका काव्यमा सांस्कृतिक बहुलता, पहिचान र अस्मिताको गहिरो झल्को पाइन्छ,” किराँतीले भन्नुभयाे ।

त्यस्तै, सांसद मनिष झाले लम्सालले मधेशका जनताको मौन पीडालाई कविताको स्वर दिएर देशलाई जोड्ने काम गरेको प्रशंसा गर्नुभयाे। “जुरुक्क उठेर आफ्नो आवाज राख्न नसक्नेहरूको पीडा उनले कवितामा व्यक्त गर्छन्,” उहाँले टिप्पणी गर्नुभयाे ।

समीक्षक राजकुमार बानियाँले लम्सालको कल्पलाई नेपाली भाषाको गौरवका रूपमा प्रस्तुत गर्दै भन्नुभयाे, “महाकाव्य हुनका लागि आवश्यक चिन्तन, बौद्धिकता र गहिराइ लम्सालले पार गरिसक्नुभएकाे छ । यो कृति नेपाली भाषालाई विश्वस्तरीय साहित्यिक संवादमा प्रस्तुत गर्ने क्षमता बोकेको छ।”

स्वयं कवि डा. लम्सालले महाकाव्य लेखनका लागि रेडियो नेपालको जागिर त्यागेर सिर्जनामा समर्पित भएको स्मरण गर्दै कल्प आफ्नो “मस्तिष्क निचोरिएको” कृति भएको उल्लेख गर्नुभयाे। उहाँले यसलाई आफ्नो जीवन अनुभव, चिन्तन र दर्शनको संश्लेषण भएको बताउनुभयाे।

कवि लम्साल रेडियो नेपालमा तीन दशक र बीबीसीमा एक दशक काम गरेर नेपाली प्रसारण जगतमा महत्वपूर्ण योगदान पुर्‍याइसक्नुभएकाे व्यक्तित्व हुनुहुन्छ। समाचार, सूचना, शिक्षा र मनोरञ्जन सबै क्षेत्रमा उहाँले रेडियो प्रसारणलाई उचाइमा पुयाएको स्मरण गर्दै उहाँलाई नेपाली रेडियो प्रसारणको मानकका रूपमा समेत चिनिन्छ।

कल्प शिखा बुक्सले प्रकाशन गरेको हो। प्रकाशक पुष्पराज पौडेलका अनुसार पुस्तक देशका प्रमुख सहरमा वितरण भइसकेको छ। उहाँले भन्नुभयाे, “नवराज लम्साल जस्तो महाकाव्यकारको चौथो कृति प्रकाशित गर्न पाउनु हाम्रो प्रकाशन गृहकै लागि पनि अभूतपूर्व अवसर हो।”

डा. लम्सालका हालसम्म चार महाकाव्य, तीन कविता संग्रह र दुई गीतसंग्रहसहित नौ वटा पुस्तक प्रकाशित भइसकेका छन्। समकालीन नेपाली महाकाव्य लेखनमा पुनर्जागरणको नेतृत्व गर्ने लेखकको रूपमा उहाँलाई मान्यता दिइँदै आएको छ।