काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ सालको प्रतिष्ठित मदन पुरस्कार जित्नुभएकाे कवि डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ यही भदौ २० गते शुक्रबार अपराह्न ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा सार्वजनिक हुँदैछ।
लामो समयदेखि नेपाली काव्यविधालाई लोकप्रिय बनाउँदै आउनुभएकाे लम्सालले यसपटक ‘कल्प’ मार्फत नेपाली महाकाव्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। उहाँले महाकाव्यलाई बौद्धिक र प्राज्ञिक क्षेत्रमा मात्र सीमित नराखी नयाँ पुस्तासम्म पुर्याउँदै लोकप्रिय बनाउनुभएकाे छ। विद्यालय तथा कलेजका विद्यार्थीहरूसँग निरन्तर संवाद गर्ने लम्साल आफैँलाई “भाइबहिनी पुस्ताले उठाएको कवि” भन्न रुचाउनुहुन्छ ।
शिखा बुक्सले प्रकाशन गरेको ‘कल्प’ लाई वैश्विक चेतनाका साथ आएको कृति भनेर प्रकाशक पुष्पराज पौडेलले वर्णन गर्नुभएकाे छ । उहाँका अनुसार यो पुस्तकले आजको विश्व समस्यामाथि गहिरो बहस सुरु गर्नेछ। “एउटा नेपाली कविले विश्वका महत्त्वपूर्ण घटनाक्रम र त्यसको प्रभावबारे गम्भीर आँकलन गरेका छन्। यसले विषय, भाषा र शैलीमा नयाँपन ल्याउनेछ,” पौडेलले भन्नुभयाे ।
यसअघि लम्सालका ‘कर्ण’, ‘धरा’ र ‘अग्नि’ महाकाव्य प्रकाशित भइसकेका छन्। कर्णमा महाभारतका पात्रलाई नायकत्व दिइएको छ भने धरामा बहुलता र वैचारिक परम्परा, अग्नि मा आरनको सिप र देशको इतिहासलाई काव्यमा उतारिएको थियो। रेडियो नेपालको निर्देशक तहको जागिर त्यागेर ‘कल्प’ लेखनमा जुटनुभएकाे लम्सालले यो कृतिमा करिब पाँच वर्ष लगाउनुभएकाे छ।
सूचना, समाचार र साहित्यिक कर्मका लागि उहाँले रेडियो नेपालमा ३० वर्ष र बीबीसीमा १० वर्ष बिताउनुभएकाे छ । उहाँ नेपाली रेडियो प्रसारणका मानक स्वरका रूपमा पनि परिचित हुनुहुन्छ । विगत चार दशकदेखि गीत र कवितामा रमाइरहनुभएकाे लम्साल अध्ययनशील, बौद्धिक र शालीन कवि मानिनुहुन्छ । उहाँको ‘कल्प’ चौथो महाकाव्य र नवौं कृति हो, जसलाई साहित्यिक वृत्तले विशेष प्रतीक्षाका साथ हेरेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२८ जेष्ठ २०८३, बिहीबार 









