
स्यानफ्रान्सिस्को । डा. नवराज लम्साल अमेरिकाको साहित्यिक भ्रमणमा हुनुहुन्छ । लगभग एक महिना लामो यस भ्रमणमा उहाँ पूर्वी न्यूयोर्कदेखि पश्चिमी लस एन्जलससम्म विभिन्न शहरहरूमा साहित्यिक कार्यक्रमहरूमा व्यस्त हुनुहुनेछ। उहाँको मनमोहक आवाज र प्रस्तुति शैलीले दर्शकहरूलाई मन्त्रमुग्ध पारेको छ।
न्यूयोर्कबाट सुरु भएको यस साहित्यिक यात्रामा अन्तर्राष्ट्रिय साहित्य समाज र उहाँका फ्यान फलोअर्सले विभिन्न कार्यक्रमहरूको आयोजना गर्नुभएको छ । न्यूयोर्कको लङ आइल्याण्डमा सम्मान कार्यक्रम, मेरिल्याण्डमा कविता वाचन, वासिंटन डिसी, पेन्सिलभेनिया र भर्जिनियामा साहित्यिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
ओहायो पुगेपछि डा. लम्सालले आफूले अमेरिकामा नेपाल भेटेको अनुभव सुनाउँदै भावुक बन्नुभएको थियो । उहाँले भन्नुभयो, ‘म एकदमै नोस्टाल्जिक भएको छु, बीसौँ वर्ष अघिको ‘मधुवन’मा फर्केजस्तो भएको छ। मेरा छोराछोरी उमेरका साथीहरूले मलाई जीवनकै पुनर्ताजगी दिएका छन्।’ ‘मधुवन’ उहाँको चर्चित कार्यक्रम हो जसले उहाँलाई देश–विदेशमा परिचित गराएको छ। धेरैले उहाँलाई ५० को दशकको पानासोनिक रेडियो र उहाँको आवाजसँग जोडेर सम्झनुहुन्छ । १८ वर्षपछि अमेरिका आउँदा पुराना साथीहरूसँगको भेट र साहित्यिक व्यस्तताले रेडियो नेपालका दिन सम्झाइदिएको उहाँले बताउनुभयो ।
कार्यक्रमहरूमा उपस्थित दर्शकहरू लम्सालको प्रस्तुतिबाट अत्यन्त प्रभावित हुनुभएको छ । बाल्टिमोरको कार्यक्रममा सहभागी सुमित्राका अनुसार कार्यक्रमपछि दर्शकहरू लामो समयसम्म बसेर उहाँसँग गफगाफ र गीत–संगीतमा रमाउनुभएको थियो ।
ओहायोमा नेपाली तथा भूटानी मूलका नेपालीहरूसँग साहित्यिक भेटघाटपछि लम्साल केन्टकी, कोलोराडो, क्यालिफोर्नियाका स्यानफ्रान्सिस्को र लस एन्जलसमा अनेसासका साहित्यिक कार्यक्रमहरूमा सहभागी हुनुहनेछ। मे महिनाको दोस्रो साता नेपाल फर्कनुअघि न्यूयोर्कमा उहाँको ठूलो साहित्यिक कार्यक्रम आयोजना गरिनेछ।
अप्रिल २९ मा स्यानफ्रान्सिस्कोको रिचमण्डस्थित नेपाली कम्युनिटी सेन्टरमा अनेसास उत्तरी क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको ‘डा. नवराज लम्सालसँग एक साँझ–शब्द, स्वर र संवेदनाको सङ्गम’ कार्यक्रममा सहभागी हुने उत्सुकता स्यानफ्रान्सिस्को निवासी स्वस्ती शर्माले व्यक्त गर्नुभएको छ । उहाँले २०५८ तिर रेडियोमा लम्सालसँग कुरा गरेको स्मृति ताजा भएको बताउनुभएको छ।
रेडियो नेपालका पूर्व निर्देशक तथा बीबीसी नेपाली सेवामा समेत कार्यरत लम्साल दर्जनौँ कृतिहरूका सर्जक हुनुहुन्छ । उहाँको ‘अग्नि महाकाव्य’ ले २०७९ को मदन पुरस्कार प्राप्त गरेको थियो। लम्सालले आफ्नो अमेरिका भ्रमणको अन्तिम कार्यक्रम न्यूयोर्कमा हुने बताउनुभएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

