अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले १५९ औँ मोती जयन्ती विशेष अनलाइन रचना वाचन साहित्यिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाली साहित्यको उत्थान र प्रवासी सन्दर्भमा सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित यस कार्यक्रममा वरिष्ठ साहित्यकार, सिर्जक र साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम प्रतिष्ठित साहित्यकार, मदन पुरस्कार विजेता कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। यूरोपका विभिन्न मुलुक — जर्मनी, फ्रान्स, बेल्जियम, पोर्चुगल, बेलायत, नेदरल्याण्ड, नर्वे र रोमानियाबाट सहभागी भएका साहित्य प्रेमीहरूले कार्यक्रमलाई उत्साहपूर्ण बनाउनुभएकाे थियाे । करिब दुई दर्जनभन्दा बढी सर्जकहरूले कविता, गजल, मुक्तक र हाइकु विधामा आफ्ना रचनात्मक प्रस्तुति दिनुभएकाे थियाे ।

विशेष आतिथ्यतामा अनेसास केन्द्रका संस्थापक सदस्य तथा जर्मनी च्याप्टरका  सल्लाहकार, नियात्राकार जीवा लामिछाने उपस्थित हुनुहुन्थ्याे भने अनेसास केन्द्र (अमेरिका) का वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी र एनआरएनए जर्मनीका अध्यक्ष लोकमणि ढकालले कार्यक्रमलाई शुभकामना मन्तव्य प्रकट गर्नुभएकाे थियाे ।

कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य सीमा ढुंगानाले गर्नुभएकाे थियाे भने प्राविधिक संयोजन सचिव गौरव तिवारीले गर्नुभएकाे थियाे । स्वागत मन्तव्य सदस्य एलिजा हुमागाईंले प्रस्तुत गर्नुभएकाे थियाे । यस अवसरमा जर्मनी च्याप्टरका सल्लाहकार खड्ग न्यौपानेले युवाकवि मोतीराम भट्टको जीवन, व्यक्तित्व र साहित्यिक योगदानबारे  प्रस्तुति दिँदै कार्यक्रमलाई ऐतिहासिक र शैक्षिक महत्त्व दिएको टिप्पणी गर्नुभएकाे थियाे ।

समापन सत्रमा प्रमुख अतिथी डा. लम्सालले कार्यक्रमको समिक्षा गर्दै साहित्यमा बिम्बको प्रयोग, लेखनको गहिराइ र प्रकाशनमा धैर्यताको महत्त्वबारे जोड दिनुभयाे । उहाँले सिर्जनामा मौलिकता, अभिव्यक्तिमा गम्भीरता र साहित्यिक यात्रामा धैर्यता आवश्यक हुने भन्दै सशक्त रचनामा निरन्तर ध्यान दिन सहभागीलाई प्रोत्साहित गर्नुभएकाे थियाे ।

कार्यक्रमको औपचारिक समापन अनेसास जर्मनी च्याप्टरकी अध्यक्ष सुजाता घिमिरे राउतले गर्नुभएकाे थियाे । उहाँले सम्पूर्ण सर्जक, साहित्यप्रेमी र श्रोताप्रति आभार व्यक्त गर्दै डा. लम्सालकै महाकाव्य धरा बाट कविता वाचन गर्नुभएकाे थियाे । साथै उहाँले यूरोप महादेशमा नारी सर्जकहरूको बढ्दो उपस्थिति साहित्यिक आन्दोलनलाई समृद्ध बनाउन योगदान दिइरहेको बताउनुभयाे । भाषा र साहित्य रहे मात्र नेपाली अस्तित्व रहिरहने भन्दै उहाँले नेपाली साहित्यलाई माया र सम्बर्द्धन गर्न सबैलाई आह्वान गर्नुभयाे ।

समग्रमा, १५९ औँ मोती जयन्ती विशेष कार्यक्रम सिर्जनात्मक अभिव्यक्तिको मात्र मंच नभई प्रवासी नेपाली साहित्यलाई सुदृढ बनाउन महत्वपूर्ण कदमका रूपमा स्थापित भएको सहभागी र श्रोताहरूले प्रतिक्रिया दिएकाे  छ ।