कवि नवराज लम्साल रु एक लाख नगदसहित “भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७९“ द्वारा सम्मानित भएका छन् । यो पुरस्कार भगत सर्वजीतको नाममा नेपाल सरकारले स्थापना गरेको हो ।

भगत सर्वजीत राष्ट्रिय एकता, सामाजिक सद्भाव, लोकतन्त्र र मानव मर्यादाका लागि लामो सङ्घर्ष गरेका व्यक्ति हुन् र उनलाई नेपाली दलित आन्दोलनको प्रणेता समेत मानिन्छ । वनारसबाट संस्कृतमा आचार्य गरी फर्केका भगतलाई दलित भनेर समाजले गरेको अपहेलनाविरुद्ध उनले शालीन विद्रोह गरेका थिए । समाजले उनको त्यो विद्वत्ताको प्रयोग गर्न नदिएको र अभिव्यक्तिमा बन्देज लगाएका कारण मानव मर्यादाका लागि उनी विद्रोहमा उत्रिएका हुन् ।

उनको सम्झना र सम्मानमा २०७२ वैशाख ५ गतेको निर्णयअनुसार नेपाल सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा यो पुरस्कार प्रदान गरिँदै आएको छ । समाज सुधार अभियान, मानव मर्यादा र मानव अधिकारको क्षेत्रमा योगदान गरेका ३ जना व्यक्तिलाई हरेक वर्ष एक एक लाख रुपियाँ सहित यो पुरस्कार प्रदान गर्ने गरिन्छ । २०७९ को पुरस्कार कवि लम्सालका साथै मैना अछामी र चक्रमान विश्वकर्मालाई प्रदान गरिएको छ । अछामी र विश्वकमालाई उनीहरुले दलित आन्दोलनमार्फत समाजिक सद्भाव कायम गर्न पुर्याएको योगदानको कदर स्वरुप प्रदान गरिएको छ भने कवि लम्साललाई उनले लेखन र सञ्चारकर्म मार्फत पुर्याएको विशेष योगदानका लागि प्रदान गरिएको हो । उनले देश निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेर पनि इतिहासमा पछि परेका लौहकर्मी ठूले कामीको कथामा आधारित भएर अग्नि महाकाव्य लेखेका छन् । अग्निले २०७८ को मदन पुरस्कारसहित अन्य पाँच वटा राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । अग्निलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाका महाकव्यहरुपछि सबैभन्दा बढी पढिएको महाकाव्यको रुपमा हेरिएको छ र साहित्यमा मृत विधा भनिएको महाकाव्य विधालाई अग्निले पुन जागृत गरेको मानिएको छ । अग्निअघि लम्सालका कर्ण र धरा नामका दुई महाकाव्य प्रकाशित छन् ।

पुरस्कार प्राप्त गरेपछि मैना अछामी र चक्रमान विश्वकर्माले अब दलित आन्दोलन दलितको मात्र नभएको र यसमा गैर दलितहरुको पनि बौद्धिक साथ रहेको बताए ।

भगत सर्वजीतको नाममा भगत सर्वजीत प्रतिष्ठान पनि सक्रिय छ । प्रतिष्ठानले विभिन्न गतिविधि सञ्चालन गरी उनको नामलाई अमर बनाउने प्रयासहरु गर्दै आएको छ । सरकारीस्तरमा यो पुरस्कार स्थापनाको पहल पनि प्रतिष्ठानले नै गरेको प्रतिष्ठानका संस्थापक छविलाल विश्वकर्माले बताए । पूर्वमन्त्री र संघीय सांसदसमेत रहेका विश्वकर्माले भने, ‘अब दलित आन्दोलन बौद्धिक बाटो हुँदै शालीन विद्रोहमा प्रवेश गरेको छ र यसमा गैर दलित लेखक तथा विद्वान्हरुको पनि साथ र सक्रिय सहयोग बढ्दै गएको छ ।’

भानुजयन्तीको अवसर पारेर संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारहरु समेत प्रदान गरेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित समारोहमा पुरस्कार ग्रहणका लागि देशैभरिबाट छानिएका स्रष्टाहरुको ठूलो जमघट थियो ।

‘भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७९’ प्राप्त गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियोको समेत दशकौँ लामो अनुभव संगालेका र ३ महाकाव्यसहित ८ पुस्तक प्रकाशित गरिसकेका लम्सालले भनेका छन्, ‘मेरो सञ्चार कर्म र लेखनमार्फत योगदान पुगेको ठानी देशकै तर्फबाट प्रदान गरिने यो पुरस्कार पाउनु मेरा लागि खुसीको कुरा हो ।’

उनले सामाजिक सञ्जाल मार्फत लेखेका छन्, ‘म अझै राम्रो लेख्ने कोशिश गर्नेछु । मेरो आँखामा सबैभन्दा माथि मान्छे छ र मान्छेको मर्यादाभन्दा ठूलो शाश्वत चिन्तन मेरा लागि केही छैन, रहने छैन र मानव मर्यादाको सीमा कहिल्यै उल्लङ्घन गर्ने पनि छैन । मेरो यो खुसी मेरा सबै पाठक तथा समीक्षक, समालोचकहरूसम्म पुगोस् भन्ने रहर छ । मेरो खुसी तपाईँहरूको पनि हो ।’

पुरस्कार चयन समितिका सदस्य समेत रहेका पूर्व राजदूत डा. निर्मल विश्वकर्माले मानव मर्यादाका लागि लेख्ने र लेखेजस्तै जीवन बाँच्ने डा. नवराज लम्साललाई यो पुरस्कार प्रदान गर्न पाउँदा भगत सर्वजीत प्रतिष्ठान आफैँ पनि खुसी भएको बताए ।