जापानमा नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित ऐतिहासिक तीज फेस्टिवल (अगस्त २३ र २४) को पहिलो दिन भव्य रूपमा सम्पन्न भयो । टोक्यो शहरस्थित शिवा कोएन (टोक्यो टावर नजिक) भएको फेस्टिवलमा जापनमै पहिलोपटक आयोजित तीज गीत प्रतियोगिताले विशेष आकर्षण थप्यो ।

आठ समूहले भाग लिएको तीज गीत प्रतियोगितामा जन कल्याणकारी समाज जापानले प्रथम स्थान हासिल गर्‍यो । त्यस्तै, द रोयल योकोहामा दोस्रो र बागलुङ समाज जापान तेस्रो स्थानमा रहे ।

प्रतियोगिताको निर्णायक मण्डलमा सूर्य खड्का, रामकृष्ण बम मल्ल र ज्योति लोहनी हुनुहुन्थ्यो ।

टोक्यो र आसपासका क्षेत्रबाट विभिन्न सज्जामा सजिएका नेपाली नारीहरूको उत्साहजनक सहभागिताले कार्यक्रममा रौनकता थपेको थियो । राष्ट्रिय तथा स्थानीय कलाकारहरू खुमन अधिकारी, सुनिता दुलाल, सूर्य खड्का, माधव सिग्देल र समुद्रराज पौडेलको जोडदार प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो ।

फेस्टिवलमा जापानमा रहेको नेपाली स्कुल एभेरेस्ट इन्टरनेशनलका बालबालिकाहरूले पनि विशेष प्रस्तुति दिएका थिए । उनीहरूको प्रस्तुतिले नेपाली संस्कृतिको नयाँ पुस्तामा पनि निरन्तरता रहेको सन्देश प्रवाह गर्‍यो।

कार्यक्रम संयोजक कामना भण्डारीका अनुसार फेस्टिवलको दोस्रो दिन (अगस्त २४) झनै विशेष र भव्य हुने अपेक्षा गरिएको छ । यो फेस्टिवलमार्फत् जापानमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्नुका साथै नेपाली कला, संस्कृति र परम्परालाई प्रवासमा जीवन्त राख्ने सकारात्मक सन्देश प्रवाह गर्न चाहेको उहाँले बताउनुभयो ।

कार्यक्रमको सञ्चालन विनिशा सापकोटा र प्रहार पौडेलले गर्नुभएको थियो ।