‘अनेसास जापान सिटी एक्सप्रेस साहित्य पुरस्कार’ का लागि अनेसास जापानले गरेको चौथो जापानव्यापी खुला कविता प्रतियोगितामा “उत्कृष्ट तीन” कवि घोषणा गरिएको छ। प्रतियोगितामा मीना खड्काको प्रिय प्रतिरोध, राजेन्द्र शर्माको छातीभरि देश छ र विकल्प लम्सालको सायद बालाई थाहा छ शीर्षकका कविताहरू उत्कृष्ट तीनमा परेका हुन्।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको विशेष अवसर पारेर आयोजना गरिएको साहित्य चौतारी शृङ्खला ३० लाई नतिजा घोषणा विशेष कार्यक्रम बनाइएको थियो। जुम र फेसबुकको माध्यमबाट सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक तथा पूर्वअध्यक्षहरू दीप पाठक, बेलुकाजी थापा, आलोक चालिसे, प्रायोजक संस्थाका तर्फबाट महेश श्रेष्ठ लगायतले शुभकामना सन्देश व्यक्त गर्नुभएको थियो। कवि तथा समालोचकहरू डा. नेत्र एटम, डा. विष्णु प्रसाद ज्ञवाली र यसोदा राईको निर्णायक समितिले गरेको निर्णयका आधारमा समिति संयोजक डा. नेत्र एटमले उत्कृष्ट तीन कविको नाम र कविताको शीर्षक घोषणा गर्नुका साथै प्रतियोगितामा आएका कविताबारे आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।
अनेसास केन्द्रका निवर्तमान अध्यक्ष तथा अनेसास जापानका संरक्षक प्रकाश पौडेल “माइला” को प्रमूख आतिथ्यता तथा संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका महासचिव शरद पोख्रेलले गर्नुभएको थियो।
अनेसास जापानले योभन्दा अगाडि जापानव्यापी कविता प्रतियोगिताको तीन संस्करण सम्पन्न गरिसकेको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।