पहेली –विष्णु एस राई
लेखक विष्णु एस राईको सत्य घटनामा आधारित उपन्यास हो, ‘पहेली’ । विष्णु एस राईले साइबर भित्रिएसँगै भित्रिएको विकृतिले एउटा परिवार ध्वस्त भएको कथा उपन्यासमा समेट्नुभएको छ ।
”विष्णु एस राईको ‘पहेली’ मा वर्तमान युग र जीवनको त्रासदी अघि सारिएको छ ।”, पुस्तकमा प्रा.डा. मोहनराज शर्मा लेख्नुहुन्छ, ”यो त्रासदी केही मेसिनको प्रभाव र केही मानिसको त्रुटिका कारण घटित भएको देखिन्छ । वर्तमान युग भनेको प्रौद्योगिक सस्कृतिको युग र जीवन हो । यसको तात्पर्य कुनै पत्नि मानिस यसको प्रभावबाट उम्किन सक्तैन भन्ने हो । हो, प्रौद्योगिकी वर्तमान समयको आवश्यकता बनिसकेको छ, तर यो वर्तमान समयको अभिशाप पनि बनेको छ । प्रौद्योगिकीको एउटा प्रबल पक्ष साइबर हो विद्युतीय सञ्चार सञ्जाल अर्थात् इन्टरनेटसँग सम्बद्धता हो । यस्तो सम्बद्धता भएको साहित्यलाई साइबर साहित्य भनिन्छ र याे उपन्यास त्यही वर्गमा पर्छ । यसमा त्रासदीको एउटा प्रमुख कारण नै साइबरको अत्याधिक उपयोग बनिदिन्छ । अन्त्यमा नौलो र सार्थक किसिमले नारीको समस्या प्रस्तुत गरेकोमा उपन्यासकार राईलाई बधाई छ ।”
त्यसैगरी, पुस्तकमा डा. गोविन्दराज भट्टराई लेख्नुहुन्छ, “सर्वप्रथम त यो एक प्रयोग आख्यान हो । नेपालीमा प्रयोग आख्यान स्रष्टाको सङ्ख्या एक हातका औंलाभरि पनि पुगेको छैन । त्योभन्दा पनि यसको रचना नेपाली संस्कृतिको मधुरो पृष्ठभूमिमा भए पनि हाम्रा सृजनालाई अझ हाम्रो सांस्कृतिक जीवनलाई निर्भूगोल बनाउने तत्व साइबर संस्कृतिले यसलाई अघि बढाएको छ । यसमा दुई वटा परस्परविरोधी (कन्ट्रास्टिङ) पृष्ठभूमि छन्- हाम्रो समाजले स्थापना गरेको युगौँदेखि पालना हुँदै आएको मूल्य मान्यता र मर्यादाको एउटा धागो त्यसको एउटा मसिनो डोरो वा गोरेटो छ । त्यसको विपरीत वर्तमान समयले, खासगरी विज्ञान र प्रविधिले बनाएको एक विशाल राजपथ । ती बीचको द्वन्द्व र अन्तत: सङ्घर्ष नै यस आख्यानको केन्द्र हो ।”
पुस्तकलाई सगुण–आसराले बजारमा ल्याएको हो । एक सय ४६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ कार्तिक २०८२, शनिबार 










