साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कवि बिनीता छेत्रीको दोस्रो पुस्तक हिमफेदीका कथाहरू” प्राप्त भएको  छ ।

१ सय २८ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘प्लास्टिकको आँटा’, ‘त्योसित एक दिन’, ‘प्रश्न’, ‘दायित्व’, ‘नेपथ्यको कथा’, ‘अन्तर कथा’, ‘हिसाब’सहित १६ थान कथा सङ्ग्रहित छन् ।

हिमफेदीका कथाहरू

हिमफेदीका कथाहरू

पुस्तकको पछिल्लो पृष्ठमा ध्रुव चौहान लेख्छन्, “यस सङ्कलनभित्रका अधिकांश कथाहरूमा वर्तमान सामाजिक पक्षहरू कथाका विषयवस्तु बनेका छन् । नारी मनभित्रका उकुसमुकुस र विद्रोह कथाको आन्तरिक मूल बिन्दु भए पनि अभिव्यक्तिका भाषाहरू शिष्ट र कोमल रूपले सजिएका छन् । हरेक कथामा सन्देश छ, आह्वान पनि । पढ्दा तानिरहन्छ कथाहरूले । सरल र सहज छ प्रस्तुति । आफ्नै हिसाबको मीठो शैली छ बिनीताका कथाहरू ।”

“बिनीताका कथाहरू आफ्नै परिवेशबाटै टिपिएका हुन्छन् । पात्रहरू अचिनारू छैनन् – ती छन् चिनिएका, भेटिएका, बोलिएका । यसैले उनका कथाहरू कृत्रिमताविहीन लाग्छन् । आञ्चलिकताको रोगनले सिङ्गारिएका उनका कथाहरूमा आफ्नै वासभूमिको सुगन्ध छ ।” डा. वीणा हाङखिम लेख्छन्, “जीवनका उकाली – ओरालीहरूका कुइनेटाहरूमा कहिलेकाहीँ अप्रत्याशित रूपमा जम्काभेट हुने तर वर्षोंदेखि चिनिएका झैँ लाग्ने पात्रहरू र तिनका जीवनशृङ्खलाहरू अनि छन् । कथामा सत्÷असत् पात्रहरूका चारित्रिक विशेषताहरू अत्यन्त स्वाभाविक छन् । सरल, तरल एवम् माधुर्यपूर्ण शैलीभित्र पहाडी खोलाको निनाद छ भने कतै सागरको असीमित गहिराइ समेटिएको छ तथा पाठकवर्गलाई तत्कालै आकर्षित ने एउटा अज्ञात मोहनी छ ।”

खुसेन्द्र राई लेख्छन्, “वर्तमानमा नेपाल इतर प्रकाशित कथा सङ्ग्रहहरूमध्ये मलाई उत्कृष्ट ‘हिमफेदीका कथाहरू’ लागेको छ । बिनीता छेत्री लिखित ‘हिमफेदीका कथाहरू’ शीर्षकबाटै बुझ्न सकिन्छ यी कथाहरू दार्जिलिङबारे लेखिएका हुन् । अधिकांश कथाहरूले दार्जिलिङका मध्यम वर्गीय जनजीवनको सूक्ष्म अनि विश्वसनीय तस्बिर उतारेको छ ।”

पुस्तकलाई रमेश बन्धु प्रकाशनले बजारमा ल्याएको हो । दोस्रो संस्करणमा आएको यस पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।