
साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई लेखक द्वय त्रिभुवनचन्द्र वाग्ले र किरणचन्द्र वाग्लेकृत जीवनीसंग्रह “राष्ट्रनिर्माणमा दलित” प्राप्त भएको छ ।
पुस्तकलाई दुई खण्डमा विभाजन गरिएको छ । खण्ड एकमा ‘दलितीकरण’, ‘दलितीकरणका सामाजिक पक्ष’, र ‘दलितीकरणलाई कानुनी मान्यता’ आदि समावेश छन् । खण्ड दुईमा ‘ईश्वरी रिजाल’, ‘ओमप्रकाश रामदाम’, ‘जवाहर रोका’, ‘टी.आर विश्वकर्मा’, ‘तुलप्रसाद विश्वकर्मा (राजेश)’, ‘डा. द्रोणप्रकाश रसाली’, ‘बाङ्गे सार्की’, ‘डा. मित्र परियार’, ‘रामशरण दर्नाल’, ‘विजयकुमार सुनाम’, ‘सिद्धिबहादुर खड्गी’ लगायत १ सय २१ जनाको जीवनी संग्रहित छन् । साथमा जीवनी लेखनको क्रममा सम्पर्क गरिएका व्यक्ति र मिति तथा संस्थाहरूको नामावली समेत समाविष्ट छन् ।
हरि गौतम उल्लेख गर्छन्, “…मुलुकको विशिष्ट विविधताको प्रवर्द्धन, संरक्षण तथा विस्तारमा नेपाली दलित समुदायको योगदान उल्लेखनीय छ । मुलुकको एकीकरणदेखि प्रजातान्त्रीकरण, आधुनिकीकरण तथा सामाजिक, आर्थिक, राजनीतिक, कला, सङ्गीतलगायत विभिन्न क्षेत्रमार्फत् योगदान दिनुहुने दलित समुदायका विभूति, विशिष्ट व्यक्ति तथा नवोदित युवा प्रतिभाको जीवनी खोजी तथा प्रचारप्रसार गर्नु आवश्यक छ जसले राष्ट्र निर्माण र राष्ट्रियता प्रवर्द्धनमा उहाँहरूको योगदान अभिलेखीकरण होओस् । यसै पहल स्वरूप यो जीवनी संग्रह प्रकाशन गरिएको हो ”
“कानुन बनाएरै जातीय विभेद आरम्भ गरिएको नेपालमा पछिल्ला पुस्ताले गरेका सशक्त प्रतिकारका कारण कानुन बनाएरै नेपालले त्यस्तो विभेदको अन्त्य गरेको छ तर पूर्वस्थापित मनोविज्ञान वर्तमान व्यवहारमा पनि यदाकदा अनुभव गरिएकै छ । विभेदका पूर्वस्थापित शृङ्खला भत्काएर मानव मर्यादापूर्ण सहअस्तित्वयुक्त समाज निर्माणमा लेखक वाग्ले द्वयको प्रयास सफल हुनेछ ।” छविलाल विश्वकर्मा लेख्छन्, “समाजमा विद्यमान त्यस्ता समस्याको समाधान एउटै पहल, पात्र र पलबाट सम्भव नभएकाले सामूहिक प्रयास र पहल अझ बढी अकाट्य बन्दै छ । मानवमर्यादाको मूल प्रवाहबाट किनारामा पारिएका व्यक्ति तथा समुदायले राष्ट्र, राष्ट्रियताका लागि दिएका योगदानको खोजी र अभिलेखीकरण गरेर न्यायपूर्ण इतिहास लेखनको थालनी गर्न यो कृति सहायक हुने विश्वास लिएको छु ।”
प्रा.डा.विद्यानाथ कोइराला लेख्छन्, “दलित पहिलो हो कि पीडा हो ? यो प्रश्नको उत्तर दिन वाग्ले बन्धुले व्यावहारिक मनोविज्ञानको प्रयोग गर्नुभएको छ । दलित पहिचान चाहनेले राष्ट्रनिर्माणमा गरेका योगदानको सूची समावेश गरेर, नचाहनेको नाम समावेश नगरेर कृति निर्माण भएको छ ।”
ओरिएन्टल डेस्कबाट प्रकाशित ३ सय ९३ पृष्ठमा आधारित यसको मूल्य ७ सय ९५ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
