बेल्जियम । आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसरमा बेल्जियमको ओस्टण्डमा विशेष कार्यक्रम आयोजना गरिएकाे थियाे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम र नेपाली समुदाय ओस्टण्डको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा भानुभक्तको काव्य साधना, योगदान र कृतित्वबारे चर्चा, विश्लेषण तथा कविता वाचन गरिएकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि, युरोपियन युनियनका लागि नेपाली राजदूत सेवा लम्सालले भानुभक्त नेपाली जातिको भाषिक पहिचानका एक आधारस्तम्भ भएको बताउँदै उहाँको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्नुभयो।

अनेसास केन्द्रीय उपाध्यक्ष डिल्ली अंम्माईले भानुबाट सुरु भएको साहित्यिक यात्रा आज विश्वभरका नेपाली डायस्पोरामा फैलिएको बताउनुभयो। यस्तै, अनेसास युरोप सह-संयोजक पंचम अधिकारीले भानुभक्तको योगदानलाई सम्पूर्ण नेपाली भाषी समाजको गौरवको विषय भएको बताउनुभयाे ।

कार्यक्रममा अनेसास युरोप सल्लाहकार ब्रम्हदत्त वाग्ले, गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, नेपाली समुदाय ओस्टण्डका अध्यक्ष धर्म पाठक, अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारंजित, उपाध्यक्ष समीरराज शर्मा, लोकनाथ शर्मा तथा पूर्व ICC सदस्य कमल पन्थीले भानुभक्तका योगदानबारे विचार व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा हालै सम्पन्न छैठौं अनेसास च्याप्टर्स सम्मेलनका सहयोगदातालाई राजदूत लम्सालले प्रमाणपत्र वितरण गर्नुभएको थियो। साथै, भानु जयन्ती अवसरमा डिल्ली अंम्माई, राधाकृष्ण अधिकारी, दिनेश पोखरेल, गोपाल सापकोटा, इन्दु नेवा, रुक्मिणी अमात्य, ब्रम्हदत्त वाग्ले, पंचम अधिकारीलगायतका कविहरूले आफ्ना रचना वाचन गर्नुभएकाे थियाे ।

समापनपछि नेपाली समुदाय ओस्टण्डको आयोजनामा कलाकार रमेशराज भट्टराईको प्रस्तुति रहेको साँगितिक कार्यक्रम पनि आयोजना गरिएको थियो, जसले भानु जयन्तीलाई सांस्कृतिक र भावनात्मक उत्सवमा परिणत गर्‍यो।