सङ्खुवासभा । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा सङ्खुवासभाको खाँदबारीमा मकालु साहित्यिक समाजको आयोजनामा  साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रम खाँदबारी नगरपालिकाको वडा नम्बर १ स्थित भानुभक्तको प्रतिमामा माला अर्पण गरेर प्रारम्भ गरिएको थियो। कार्यक्रममा प्रतिमा रङरोगन तथा अन्य व्यवस्थापन खाँदबारी नगरपालिकाको वडा नम्बर १ ले गरेको आयोजक समितिले जानकारी दिएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख सुमन शाक्यले भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गर्दै उद्घाटन गर्नु भएको थियो। उहाँले भाषाको विकास र एकताको जग भानुभक्त आचार्यले राखेको स्मरण गर्दै भानु जयन्तीलाई अझ भव्य बनाउनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साहित्यिक गोष्ठीमा कवि ताराबहादुर बुढाथोकी, सुलोचना शर्मा, कृष्ण चापागाईं, धर्मराज चापागाईं, तारा घिमिरे, ध्रुव खड्का, सुजन अधिकारी लगायत दर्जनभन्दा बढी कविहरूले आ-आफ्ना कविता वाचन गर्नुभएकाे थियाे। कविहरूले वर्तमान समाजमा देखिएका विकृति, विसङ्गति र आदिकवि भानुभक्त आचार्यको व्यक्तित्वलाई आफ्ना कविता र सिर्जनाको मुख्य विषयवस्तु बनाउँदै गद्य तथा पद्य दुवै शैलीमा सिर्जनात्मक प्रस्तुति दिनुभएकाे थियाे ।

कार्यक्रमका अवसरमा शुभकामना मन्तव्य राख्दै मोरङस्थित भानु साझा पुस्तकालयका पूर्व अध्यक्ष तथा कवि बीरेस राईले भानुभक्तलाई प्रेरणा दिने घाँसी खड्गबहादुर ठाडा मगर भएको चर्चा गर्नुभयो। उहाँले पत्रकारहरू मोतीराम जस्तै भएर साहित्य र समाजका सवालमा कलम चलाउनु पर्ने धारणा राख्दै खाँदबारीमा भानुभक्तको सन्देशलाई जीवित राख्ने कवि ताराबहादुर बुढाथोकी भएको दाबी गर्नुभयो।

वडाध्यक्ष निरञ्जन श्रेष्ठले पनि कार्यक्रममा प्रसन्नता व्यक्त गर्दै आगामी वर्ष भानु जयन्तीलाई झन् भव्यताका साथ मनाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रमको अध्यक्षता मकालु साहित्यिक समाजका अध्यक्षले गर्नुभएको थियो। आयोजक समितिका अनुसार यस्ता कार्यक्रमले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।