
अमेरिकामा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती फरक शैलीमा मनाइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अनेसास मेरिल्याण्ड च्याप्टरले आयोजनामा २१० औं भानु जयन्ती मनाइएको हो ।
उक्त साहित्यिक कार्यक्रम, भानु जयन्तीमा सहभागी वक्ताहरूले नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तले पुर्याएको योगदान र उनको सिर्जनाको बहुआयामिक पाटोको बारेमा चर्चा गरेका थिए ।
उक्त अवसरमा मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक डा. ह्यारी भण्डारीले भानुभक्तले दुई सय वर्षअगाडि नै नेपाली भाषा र साहित्यको उत्थानका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषा र साहित्यको जग बसाउन भानुभक्तले अतुलनीय योगदान गरेको बताए ।
कार्यक्रममा मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा. उत्तम गौलीले भानुभक्तको रचनामा स्वतन्त्रताको लडाइँसमेत उल्लेख भएको स्मरण गरे । उनले भने, “हामीलाई आर्थिक स्वतन्त्रताका लागि विदेशी भूमिमा पुर्याए पनि भानुभक्तको योगदान र उहाँले गर्नुभएको भाषागत स्वतन्त्रताको योगदानलाई दुई सय वर्षपछि पनि हामीले सम्झिरहेका छौँ ।”
कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणाले भानु जयन्ती मनाउन विदेशस्थित नियोगले विशेष पहल गर्नुपर्ने बताए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

