आउ भानु आउ

म मेरा काव्यार्चनाले

तिमीलाई अभिनन्दन गर्न चाहन्छु ।

 

एकपल्ट मेरो अगाडि आउ

पोतिदेउ ममा शारदीय किरण

तिम्रै आलोक तापेर

लेख्न सकूँ म कविताका हरफहरू ।

 

तिमीलाई म अभिनन्दन गर्न चाहन्छु

तिमीलाई गुरू मानेर लेख्न सकूँ

समयको खण्डकाव्य,

रचना गर्न सकूँ म

सत्कर्मको महाकाव्य ।

 

भानु, तिमीले सिकाउ मलाई

कविताले समाज परिवर्तनको महत्त्व,

भर्न लगाउ कवितामा चेतनाको

विगुलमय सङ्गीत

जुन कविता पढेर बिर्सन सकून्

मानिसले मनका पीडाहरू ।

 

घाँसीका कुराले तिमीले कलम समायौ

तिमीसित सिकेका कविताले म

खन्न सकूँ काव्यको कुवा

कविताले उमार्न सकूँ

इलमका मुनाहरू

सजाउन सकूँ म आफ्नो माटो ।

 

तिमीले पाहुना लाग्दा सत्कार पाएनौ

र कविता कोर्यौ

गजाधर सोतेकी बुढीलाई सिकायौ संस्कार

त्यसरी नै म कविताबाट

सिकाउन चाहन्छु नैतिकता

कुलबधुहरूलाई मदिराको बोतलमा लठ्ठिन हैन

मीठो मोहीको गिलास

कसरी समाउने भन्ने सिकाउन चाहन्छु

र, चखाउन चाहान्छु सबैमा काव्यको अमृत ।

 

तिमीले सिकाएको कविताबाट म

घर, परिवार र समाज सुधार्न चाहन्छु

आउ भानु एकपल्ट मेरो अगाडि

म तिमीसित कविताको कला सिक्न चाहन्छु

तिमीलाई गुरु मानेर

अभिनन्दन गर्न चाहन्छु ।

 

आउ भानु विलम्ब नगर

तिमीसित कविता लेख्न र

वाचन गर्न सिक्न चाहन्छु

तिमीलाई आफ्नै अगाडि राखेर

पाठ गर्न चाहन्छु रामायण

स्वर हालेर गाउन चाहन्छु प्रश्नोत्तरी

प्रत्येक बिहान अर्घ चढाएर

म तिमीलाई अभिनन्दन गर्न चाहन्छु ।