जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको ७२ औ साहित्य शृंखला तथा कवि रविन शर्माको ‘देउता बनाउने कारखाना’को सोलमारी मुरा हल, शिन-ओकुबोमा कर्मभूमि लोकार्पण सम्पन्न भएको छ।

अनेसास जापान च्याप्टरका अध्यक्ष अरुण पौडेलको अध्यक्षता र जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा पुस्तकको लोकार्पण गरिएको हो ।

कार्य्रममा एनआरएनए जापानका उपाध्यक्ष सुभाष लामिछाने, पूर्व सांसद सूर्य पाठक, पत्रकार राजु सुवेदी, अनेसासका पूर्व अध्यक्ष विष्णुप्रसाद घिमिरे, अनेसासका पूर्वाध्यक्ष प्रकाश पौडेल ‘माइला’, अनेसास जापान च्याप्टरका संस्थापक अध्यक्ष डा. कुमार बस्नेत, पूर्व अध्यक्षहरू दीप पाठक तथा गिरिजा गैरेलगायत जापानमा रहेर विभिन्न क्षेत्रमा योगदान गरिरहनुभएको नेपाली व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले कवि रविन शर्माको साहित्यिक योगदानको प्रशंसा गर्दै भन्नुभएको थियो । उहाँले भन्नुभयो, ”कवि रविन शर्मा जस्ता कवि र लेखकहरूले समाजलाई सकारात्मकताको बाटोमा कलमको सहायताले अघि बढाउन ठूलो योगदान गरिरहनुभएको छ ।”

कार्यक्रममा अनेसास जापान च्याप्टरका पूर्वाध्यक्ष दीप पाठकले स्रष्टा परिचय गर्नुभएको थियो भने पुस्तक चर्चा साहित्यकार मूर्तिकार ‘मञ्जुल मितेरी’ले गर्नुभएको थियो।

कवि शर्माले एकल कविता वाचनको क्रममा कृतिभित्रका ‘पाहुना’, ‘सिन्दूर’, ‘आमा म घर फर्कें’, ‘आराध्याको पहिलो दसैँ’ लगायत कविताहरू वाचन गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन अनेसास जापान च्याप्टरकी सदस्य बिनिशा सापकोटाले गर्नुभएको थियो भने अतिथिहरूलाई स्वागत अनेसासकी सचिव सङ्गीता कुँवरले गर्नुभएको थियो।