विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा विराटनगरस्थित भानुकला केन्द्रले विविध कार्यक्रमसहित उत्सव सम्पन्न गरेको छ। आइतबार बिहान विराटनगरको सन्सारीमाईस्थानबाट भानुभक्त आचार्यको तस्वीरसहित विशेष रथयात्रा निकालिएको थियो। रथयात्राले शहरका विभिन्न सडक र मुख्य चोकहरूको परिक्रमा गर्दै पुनः सोही स्थानमा समापन गरेको थियो।
रथयात्रापछि आयोजित बहुभाषिक कविगोष्ठीमा नेपाली, मैथिली, हिन्दी लगायत भाषाका कविहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा मधु पोखरेल, शिवनारायण सिंगल, मीनकुमार नवोदित, सरिता तुलाधर, भवानीप्रसाद पोखरेल, सरला चापागाईं लगायतका कविहरूले भानुभक्तको योगदानलाई स्मरण गर्दै विविध भावका कविता सुनाउनुभएकाे थियाे ।
सोही अवसरमा नेपाली साहित्यमा योगदान पुर्याएबापत कवि सीमा आभास र कला क्षेत्रमा विशेष योगदान पुर्याएका कलाकार सञ्जय मण्डललाई सम्मान गरिएको थियो। उहाँहरूलाई सम्मानपत्रसहित दोसल्ला ओढाइएकाे आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, भानुकला केन्द्रकी अध्यक्ष माया पौडेल, सचिव प्रचण्ड पौडेल, अग्रज साहित्यकार खेम नेपाली, डा. देवी पन्थी, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, भारतबाट आएका साहित्यकार पीएस यादव अजनवी, मातृभाषा विभाग प्रमुख शिवनारायण पण्डित सिंगल लगायतले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभएकाे थियाे । उहाँहरूले भानुभक्तको कृतित्वले नेपाली भाषालाई एकताको सूत्रमा बाँधेको र साहित्यिक चेतना जगाएको उल्लेख गर्नुभएकाे थियाे ।
भानुकला केन्द्रले आदिकवि भानुभक्त आचार्यको स्मृतिमा यस्ता कार्यक्रम हरेक वर्ष गर्दै आएको जानकारी दिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










