चैतन्यबोध –मानसाग्नि

निबन्धकार मानसाग्नि (डा. हरिप्रसाद पोखरेल) को निबन्धसंग्रह हो ‘चैतन्यबोध’ । संग्रहमा मानसाग्निले स्वधर्मसहितको जीवनको अनुष्ठानमय वैदिक प्रज्ञा र आध्यात्मिक दर्शनसँग सम्बन्धित निबन्धहरू समेट्नुभएको छ ।

”मानसाग्नि नेपाली निबन्ध संसारमा अचानकै मानस अर्थात् चेतनाका अग्नि बनेर प्रवेश गरेका छन् ।”,  पुस्तकमा मोमिला जोशी लेख्नुहुन्छ, ”यसर्थ मानसाग्निको ‘चैतन्यबोध’ मा पदार्पण गर्ने जोकोहीले आफैमा अन्तर्निहित सृष्टिको बीजसत्य मानस अग्निलाई बुझ्ने छन्, पढ्ने छन्, सलबलाउने छन् अनि कतै आफैमाको चेतनामा आफै अग्लिने छन् त कतै आफैमाको चेतनामा आफै गहिरिने छन् र अन्ततः मानस रूपमा सत्तासीन रहस्यात्मक अध्यात्म सत्यसँग एकाकार हुँदै परमानन्दमा लीन हुने छन् । ठिक त्यही समय हुने छ, जतिखेर मानसाग्निको निबन्धहेतु यात्रारत कलमले मोक्ष प्राप्त गर्ने छन् । यदि ‘चैतन्यबोध’ मा अ‌ङ्कित दृश्य संसारमै यसो अडेसा लाग्ने हो भने पनि आफै उभिएको माटोको आत्मीय सुगन्धले मनग्य नै पुलकित पार्ने छन् र पूर्वीय चेतको वैभवशाली उज्यालोमा जीवनले मार्ग पहिल्याउने छन् । यहींनेर लेखकीय विशिष्ट प्राप्ति स्वरूप भावकको अक्षरयात्राबाट पनि यो दृश्य जगत्‌को आनन्दी तीर्थाटन एउटा सीमासम्म सफलीभूत हुने नै छन् ।”

त्यसैगरी, पुस्तकमा प्रा.डा लक्ष्मणप्रसाद गौतम लेख्नुहुन्छ, ”समकालीन नेपाली निबन्धलेखन बहुलवादी प्रवृत्तिका साथ गतिशील छ । युगजीवनका अनुभूति, भोगाइ, चिन्तन, दृष्टिकोण, आत्मचेतना, दर्शन, भावनाको गहिराइ, भोक्ता अनुभूति र द्रष्टा अनुभूतिको सन्तुलन आदि अहिलेको निबन्धलेखनका स्थूल प्रवृत्ति हुन् । अनेकौँ प्रवृत्ति, शैली र शिल्पका समकालीन नेपाली निबन्धको यस यात्रामा प्रत्येक निबन्धकारका भिन्नभिन्न प्रवृत्ति देखिन्छन् र यस्ता अनेकौँ प्रवृत्तिहरूको सङ्‌कुल वृत्तबाट आजको नेपाली निबन्ध गतिशील छ । यसै सन्दर्भमा दार्शनिक निबन्धहरूको सङ्ग्रह लिएर मानसाग्नि उपस्थित भएका छन् । लाग्छ; मानसाग्निमा ज्ञानको विराट भण्डार छ, पूर्वीय सभ्यता, संस्कृति र तिनका वैभवसँग उनी परिचित मात्र होइन त्यसभित्र चुर्लुम्म डुबेर त्यस वैभवलाई जनसमक्ष सम्प्रेषण गर्न पनि समर्थ छन् ।”

पुस्तकलाई पेज टर्नर प्रा.लि.ले बजारमा ल्याएको हो । १८ ओटा निबन्ध संग्रहित पुस्तकको मूल्य पाँच सय २५ रुपियाँ रहेको छ ।