काठमाडौं ।  गीतकार विजयध्वज थापाको नयाँ गीत ‘पिउँदै नशा नयनको’ आज इमेज एफ.एम. ९७.९ मार्फत सार्वजनिक भएको छ।

गजलको लयमा रहेको यो गीतलाई  गायक मुरलीधरले स्वर दिनुभएकाे  छ भने संगीत सञ्जय खड्गीले तयार पार्नुभएकाे हाे । यद्यपि, गीतकार थापाले यसलाई गजल नभई ‘चारु’ भन्न रुचाउने बताइएको छ।

विजयध्वज थापाका यसअघि पनि थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन्। उहाँका गीतमा मुरलीधर, मेलिना राई, सत्यराज आचार्य, स्वरुपराज आचार्य, अञ्जु पन्त, शिव परियार, सिने गुरुङ, विष्णु चेम्जोङ, राजेश पायल राई, आनन्द कार्की, रामकृष्ण ढकाल, सीमा सङ्ग्रौला, सरिता शाही, सञ्जय खड्गी, शिशिर योगी, न्हु बज्राचार्य, प्रमोद खरेल जस्ता चर्चित गायक–गायिकाहरूले स्वर दिनुभएकाे छ । उहाँका गीतहरूलाई संगीत न्हु बज्राचार्य, रामहरि कपाली, राजु सिंह, सञ्जय खड्गी, विजयध्वज थापा स्वयं र कीर्ति नेउपानेले दिनुभएकाे छ ।

हाल थापाका अन्य थुप्रै गीतहरू रेकर्डिङको क्रममा रहेको जनाइएको छ। उहाँका गीतमध्ये दुईवटा स्वदेश गान हुन् भने बाँकी सबै आधुनिक गीतमा आधारित छन्।

गीत लेखनसँगै विजयध्वज थापा कविता, मुक्तक, नियात्रा विधामा पनि समान रूपमा सक्रिय हुनुहुन्छ। उहाँका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन्। उहाँ लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्षसमेत हुनुहुन्छ ।