सुगम संगीतका बहुचर्चित गायक प्रमोद खरेलको सुमधुर स्वर तथा कवि, गीत गजलकार तथा नियात्राकार विजयध्वज थापाको शब्दमा ‘नेपालीको देश नेपाल’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ ।

नेपाली सुगम सङ्गीतका फाँटमा थुप्रै गीतहरू प्रस्तुत गरिसकेका श्रष्टा विजयध्वज थापाको राष्ट्रियभावले ओतप्रोत भएको दोस्रो स्वदेश महिमागानका रुपमा रहेको छ । पहिलो राष्ट्रिय गान रामकृष्ण ढकालको आवाजमा रेकर्ड गरिएको छ ।

नेपाल सरकारबाट निवृत्तपछि आफ्ना बुवा उपन्यासकार लीलाध्वज थापा साहित्य प्रतिष्ठानको स्थापना गरी मासिक रुपमा रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गर्दै साहित्यिक क्षेत्रमा सक्रिय रहेका श्रष्टा विजयजयध्वजका गीत कविता मुक्तकहरूले समाजको वास्तविकता बोल्छन् ।

उक्त राष्ट्रिय गीतमा गायक प्रमोद खरेलको सुमधुर स्वर तथा वर्तमान अवस्थाका सर्वप्रिय वरिष्ठ संगीतकार राजु सिंहको संगीत तथा कम्प्युटरग्राफर विजयराज भुर्तेल र फणिन्द्र राईले एरेन्ज गरेका छन् । राष्ट्रलाई केन्द्रमा राखेर सृजना गरिएको प्रस्तुत स्वदेश महिमागानमा ‘हिमशिखरमा विश्वमै पहिलो जलभण्डार नेपाल, विश्वशान्तिको मुहान हो यो नेपालीको देश नेपाल’ बोलको गीतले प्रकृति, भाषा धर्म र भेषभूषाका साथै गौरवमय इतिहासको महत्तालाई गहन रुपमा प्रस्तुत गरिएको छ ।

आधुनिक सुगम संगीतमा सर्वाधिक चर्चित गायक प्रमोद खरेलको यो भाग्यमा खोट छ, पराइको बगैचामा फूल्ने फूल भयो, अर्कैलाइ रोज्दै छौ कि लगायत थुप्रै सदाबहार गीतहरुको भीडमा प्रस्तुत स्वदेश महिमागान पनि एउटा कोशेढुंगाका रुपमा रहने देखिन्छ भने बरिष्ठ संगीतकार राजु सिंहले पनि सृजनात्मकताको बेजोडको प्रस्तुति दिएका छन् साथै गीतकार संघका सदस्य समेत रहेका स्रष्टा विजयध्वज थापाका ‘सम्झनाले पिर्यो’ गीति संग्रह , ‘भुमरी’, ‘स्नेह’ र प्यासी जीवन लगायतका गीति एल्बम यसअघि नै बजारमा ल्याइसकेका छन् ।
-जयराम बिडारीको रिपोर्ट