साहित्यपोस्टले हरेक वर्ष नवोदित कवि लेखकलाई प्रदान गर्दै आएको तीन पुरस्कार नवलेखकहरूमा अर्पण गरेको छ ।
वर्ष २०८१ का लागि ‘साहित्यपोस्ट काव्य पुरस्कार’ कवि आर्यशको कवितासङ्ग्रह ‘म तिमी आउनुभन्दा अघि नै गइसकेको थिएँ’लाई, ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ बालिका बान्तावाको उपन्यास ‘प्याउली’लाई र ‘साहित्यपोस्ट गैर–आख्यान पुरस्कार’ रमेश भुसालको नियात्राकृति ‘छालबाटो’लाई अर्पण गरिएको हो ।
विजेता कृतिका लेखक तथा कविले जनही ५० हजार राशिका साथमा प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिनको अवसरमा एपेक्स बिजनेस होटल, एअरपोर्टमा आयोजित एक कार्यक्रमका बीच नवरत्न सम्मान, पुरस्कार घोषणा तथा पुरस्कार अर्पण कार्यक्रम एक साथ गरिएको हो ।
कार्यक्रममा काव्य, आख्यान र गैरआख्यानतर्फको पुरस्कारहरूको घोषणा क्रमशः प्रा.डा. सनतकुमार वस्ती, गोपी मैनाली र महेश पौड्यालले गर्नुभएको थियो । कार्यक्रमका सभापति तथा साहित्यपोस्टका प्रधान–सम्पादक अश्विनी कोइराला तथा पुरस्कार प्रायोजक चैतन्य अधिकारी र विनयकुमार भण्डारीले संयुक्त रुपमा विजेताहरूलाई नगद राशिका साथमा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा ‘साहित्यपोस्ट नवरत्न २०८१’ लाई प्रमाणपत्रका साथमा खादा ओढाएर सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरूमा कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’का सर्जन हेमन्त शिशिर, ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’का सर्जन आर्यश, ‘मायाको आयतन’का सर्जक मधुसुदन घिमिरे, कथासङ्ग्रह ‘कथा हुन्, कथा हैनन्’का सर्जक रमण, उपन्यास ‘धीमहि’का सर्जक जयराम तिमल्सिना, उपन्यास ‘प्याउली’का सर्जक बालिका वान्तावा, नियात्राकृति ‘छालबाटो’का सर्जक रमेश भुसाल, संस्मरणकृति ‘छोटु’का सर्जक सञ्जीव पौडेल र निबन्धकृति ‘मार्केट अफ स्वीटहार्ट’का सर्जक तारा भट्टराई रहनुभएको थियो ।
कार्यक्रममा ‘साहित्यपोस्ट एप’को औपचारिक रूपमा सार्वजनिकीकरण समेत गरिएको थियो । एप तथा साहित्यपोस्टका पछिल्ला गतिविधिहरूका बारेमा अच्युत कोइरालाले प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी, कवि तथा अधिकक्ता पेशलकुमार लुइँटेलले आउँदो वर्षबाट आफ्नो प्रायोजनमा साहित्यपोस्टमार्फत् अंग्रेजीतर्फ समेत एक पुस्तकलाई पुरस्कृति गर्ने घोषणा गर्नुभयो ।
साहित्यपोस्टका कार्यकारी सम्पादक कृष्ण ढुङ्गेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन साहित्यपोस्टकी आख्यान सम्पादक तैं तैं धितालले गर्नुभएको थियो ।
कार्यक्रममा बाछिटाहरूको संग्रह ‘उत्कृत बाछिटा’को विमोचन समेत गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२१ जेष्ठ २०८३, बिहीबार 








