‘साहित्यपोस्ट आख्यान पुरस्कार – २०८१’ का लागि ५ आख्यान कृतिको छनौट भइसकेका छन् । यो पुरस्कारको प्रायोजन साहित्यकार चैतन्य अधिकारीले गर्नुभएको हो । यसै सन्दर्भमा उत्कृष्ट ५ कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट आख्यान पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो । यहाँ उत्कृष्ट ५ मा छनोट भएको कृति ‘धीमहि’का स्रष्टा जयराम तिमल्सिनासंगको संवाद प्रस्तुत गरिएको छ ।

१. अरूका पुस्तक प्रकाशन गर्दागर्दै आफ्नो लेखन छुटेको हो कि अरूको लोकप्रियता देखेपछि तपाईंलाई पनि लेख्न रहर जागेको हो ? साहित्यपोस्ट आख्यान पुरस्कारको छोटो सूचीमा तपाईँको पुस्तक छनोट भएको छ कस्तो महसूस गरिरहनुभएको छ ?

डिजाइन, प्रिन्टिङ तथा प्रकाशन त मेरा कर्महरू भए । मेरो लेखन कार्य ढिला हुनुमा कर्मको पनि केही न कही उपस्थिति छ नै होला । त्योभन्दा बढी त  योजनाविहीन मेरो लेखनकर्म जिम्मेवार छ । मेरो बाँच्ने तरिकाले पनि काम गरेको हुनुपर्छ । तर यति चाहिँ भन्नसक्छु, मलाई अरूको लोकप्रियताले लेखन क्षेत्रमा तानेको भने चाहिँ होइन । यदि त्यस्तो हुन्थ्यो भने त मसँग मेरा धेरै किताब हुनसक्ने थिए ।

साहित्यपोस्ट आख्यान पुरस्कारको छोटो सूचीमा मेरो किताब धीमहि पनि उपस्थित छ । आफूले लेखेको पुस्तकले यो खालको उपस्थिति जनाउँदा धेरै खुशी लाग्नेरहेछ  । अहिले म त्यही पलको अनुभव लिइरहेको छु । धेरै राम्रो लागिरहेको छ । खुशी छु ।

२. तपाईँले पात्रहरूलाई त्यतिकै छोडिदिनुभएको छ । सुयोग फर्किन्छ कि फर्किँदैन ? सरितालाई कस्तो सजाय हुन्छ ? दिपेन्द्रले आत्महत्या गर्नुको कारण के थियो ? चलचित्रमा दोस्रो भाग बनाए जस्तै तपाईँले पनि दोस्रो पुस्तक लेख्नलाई यसरी पाठकहरूको मनमा प्रश्न छोडनुभएको हो ?

मलाई जीवन लेख्न मनपर्छ । सोही अनुरूप केही लेखेँ, आफ्नै कुरा लेखेँ, आफ्नै विरुद्ध पनि लेखेँ । लेखनका क्रममा कति प्रश्नहरू आफैँतिर फर्किएका पनि थिए, तिनीहरूलाई अनुत्तरित नै छाडेको हुँ । मलाई परेको समस्या  पाठकहरूले बुझ्नुहुन्छ । म कुनै दार्शनिक कथा लेखिरहेको थिइनँ । मैले सामान्य जीवन लेखेको थिएँ । जीवन भोगाइको क्रममा हरेक प्रश्नको जवाफ हुन्छ भन्ने त हुन्न नि । कति कुरा सङ्केत र सङ्क्षेपमा बुझ्नुपर्ने हुन्छ । सायद, यहाँ पनि यस्तै भयो । मैले जवाफका लागि छाडेका प्रश्नको जवाफ हरेक पाठकको मनमा हुनुपर्छ । मैले यस पुस्तकमा पाठकलाई पनि आफ्नै स्थानमा राख्ने कोशिश गरेको हुँ भनौँ । त्यसैले सुयोग फर्किन्छ कि फर्किँदैन ? सरितालाई कस्तो सजाय हुन्छ ? दिपेन्द्रले आत्महत्या गर्नुको कारण के थियो ? लगायतका प्रश्नका लागि विभिन्न धारणा उपन्यासमा व्यक्त भएकै छन् । देशको विद्यमान कानून र बदलिँदो समयलाई पाठकहरूले पक्कै सजिलै बुझ्नुहुन्छ । तर यस पुस्तकको दोस्रो भाग लेखनको कुनै सम्भावना छैन ।

३.  प्रकाशक हुन सजिलो कि लेखक ?

प्रकाशन वा लेखन कुन सजिलो भन्ने प्रश्नको मेरा लागि धेरै गाह्रो प्रश्न हो । सायद, यस प्रश्नको जवाफ मसँग हुँदैन होला । लेखन र प्रकाशन एउटा सिक्काका दुई पाटा हुन् । एउटा विना अर्काको उपस्थिति सम्भव हुन्न । यसमा सजिलो अप्ठेरो भन्दा पनि सहयात्रा अथवा सहजीवन भन्दा उपयुक्त होला । सजिलो कसैलाई छैन, दुवैको आआफ्नो सीमारेखा छन् । दुवैले पार गर्नु नै पर्छ । यत्ति भनौँ ।

४ . पुरस्कारको छोटो सूचीमा तपाईँको पुस्तकसहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात् तपाईँका प्रतिस्पर्धीका रूपमा बलिया कृतिहरू छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ ? तपाईँले ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ पाउनु भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?

लोकप्रिय पत्रिका साहित्यपोस्टमा प्राप्त भएका सबै पुस्तकहरू महत्त्वपूर्ण थिए भन्ने कुरा बुझ्न मलाई गाह्रो छैन । त्यसबाट पनि छनोटका विभिन्न प्रक्रिया पार गर्दै उत्कृष्ट पाँच सार्वजनिक भएको अवस्था छ । म यी पाँच पुस्तकको गरिमा र महिमा महसूस गर्नसक्छु । म योजना बनाएर लेख्ने काम गर्दिनँ । मसँग लेखनका लागि खास योजना छैनन् । त्यसको मतलब अब लेख्दिनँ भन्ने चाहिँ हैन । साहित्यिक क्षेत्रमा कुनै न कुनै रूपमा लामो समयदेखि सक्रिय छु । अब भने लेखनलाई निरन्तरता दिने बारेमा सोचिरहेको छु । यसका लागि पुरस्कारले मेरो लेखनयात्रामा असर पार्छ कि पार्दैन भन्ने थाहा नै छैन । अनुमान पनि छैन । पुरस्कार पाउनु त धेरै नै ठूलो कुरा हो । त्यो पाइन्छ नै भन्ने छैन । पुरस्कारका लागि लेखिने भन्ने पनि हुन्न । यदि पुरस्कार नै प्राप्त गरे भने कुनै परिणाममुखी काममा खर्च गर्छु होला । अहिले योजना बनाउनु उपयुक्त हुन्न भन्ने ठान्छु ।

५. अन्त्यमा, तपाईँका आगामी साहित्यिक यात्राका योजनाहरू के के छन् ? बताइदिनुहोस् न !

खासमा मैले कुनै योजना बनाएको छैन । लेखनमा निरन्तरता दिने बारेमा सोचिरहेको छु । यस पुस्तकबाट प्राप्त भएका प्रतिक्रियाले लेखन पनि मेरो एउटा मार्ग हुनेरहेछ भन्न महसूस गराएको छ । अरू केही योजना बनाए भने पक्कै भन्ने नै छु ।