बसन्त अनुभव
चितवन । नमस्ते आधुनिक लघुकथा मञ्चले यस वर्षको लघुकथालय कृति पुरस्कार २०८२ लघुकथाकार लक्ष्मण अर्यालको लघुकथा सङ्ग्रह ‘दुर्बिन’ लाई प्रदान गर्ने घोषणा गरेको छ। सातौँ वार्षिकोत्सवको पहिलो दिन असार ९ गते सो पुरस्कारको घोषणा गरिएको हो।
हजार एक सय ११ रूपियाँ नगद र प्रमाणपत्र रहेको सो पुरस्कार २०८१ सालभरि बजारमा उपलब्ध लघुकथा कृतिहरूको मूल्याङ्कनपछि छनोट गरिएको हो। ‘दुर्बिन’लाई विषयवस्तु, प्रस्तुतिकला, भाषिक गुरुत्व र सामाजिक सुधारवादी चेतनाको सशक्त संयोजनका आधारमा उत्कृष्ट ठहर गरिएको निर्णायक समितिले जनाएको छ।
लक्ष्मण अर्याल, धादिङका स्थायी बासिन्दा, हाल रत्ननगर–३, चितवनमा बसोबास गर्दै आउनुभएकाे छ । उहाँले ‘टुटीकाण्ड’, ‘औँला’ र ‘दुर्बिन’ गरी तीन लघुकथा सङ्ग्रह तथा ‘लघुकथा विमर्शन’ शीर्षकको सिद्धान्त पुस्तक प्रकाशित गरिसक्नुभएकाे छ । दुई दर्जनभन्दा बढी प्रकाशनहरूमा सम्पादकीय भूमिका निर्वाह गरिसक्नुभएकाे अर्याल यसअघि ‘लघुकथाश्री समालोचक सम्मान–२०८०’ लगायत आधा दर्जनभन्दा बढी सम्मान प्राप्त गरिसक्नुभएकाे छ।
पुरस्कार आगामी राष्ट्रिय कार्यक्रममा औपचारिक रूपमा प्रदान गरिनेछ। गत वर्ष यो पुरस्कार ललिता दोषीकृतको ‘पहिरो’ लाई प्रदान गरिएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










