म यात्रा रुचाउँछु किनकि यात्राका अनुभूतिले मलाई तङ्ग्र्याउँछ, उठ्न सिकाउँछ, अझ भनौं बाँच्न सिकाउँछ । असरल्ल व्यावहारिक जीवनमा एउटा लय भरिदिन्छ यात्राले । हुन त जीवन नै एउटा सुखद् यात्रा हो । जीवन यात्राले मानिसलाई धेरै कुरा सिकाएको हुन्छ । जीवनमा उकाली र ओरालीहरू आइरहन्छन् र गइरहन्छन् । एक मानिसका जीवनमा उकाली मात्र पनि आइरहँदैन र ओराली मात्र पनि कसैका जीवनमा स्थायी रहन्न । जीवन यात्राका उकालीमा मात्तिने र ओरालीदेखि आत्तिनेहरूले गन्तव्य नाप्न सक्दैनन् । यसैले जीवन यात्राको एउटा नियम छ — सुख र दुःखमा समभावको उपयोग ।
जीवन यात्राको जटिल दर्शनमा पस्नु मेरो उद्देश्य होइन । म त्यतातिर जान्नँ पनि । मेरो उद्देश्य यात्राको अनुभूतिको साझेदारी गर्नु हो । एउटा धार्मिक स्थलको यात्रा, जहाँ म एक वर्ष अगाडि गएको थिएँ, त्यसैको संक्षिप्त वृत्तान्त पस्कँदै छु यहाँ । यात्रा धार्मिक स्थलको हो तर उद्देश्यमा त्यो धार्मिक यात्रा थिएन । हुन त यात्रामा धार्मिक कृत्य पनि गरियो, जो धर्मका अनुयायीले गर्छन् । यात्रा पाँच दिनको थियो र यात्रीहरू थियौं — म र सहकर्मी मित्र अम्बिकाप्रसाद दुलाल । यात्रा हो — गोसाइँकुण्डको ।
अम्बिकाप्रसाद दुलाल एक व्यावहारिक मान्छे हुनुहुन्छ मेरा विचारमा । उमेरका हिसाबले दाइ, स्वभावका हिसाबले एकदम स्पष्टवक्ता, पेशागत हिसाबले प्राध्यायक र बसाइका हिसाबले मेरा छिमेकी हुनुहुन्छ उहाँ । हामी प्राध्यापन गर्छौ एकसाथ । विगत २४ वर्षदेखि शहीद स्मृति बहुमुखी क्याम्पसमा । शहीद स्मृति बहुमुखी क्याम्पस पूर्वी चितवनको रत्ननगर नगरपालिकामा अवस्थित छ । यो नेपालकै पुरानो सामुदायिक क्याम्पस हो ।
एक दिन अम्बिका दाइले प्रस्ताव ल्याउनु भो यात्राको । यात्री दुई जना मात्र । गन्तव्य कति दुरुह छ, त्यो कुरामा न उहाँ जानकार हुनुहुन्थ्यो, न म नै विज्ञता राख्थें तर योजना बन्यो । हामी दुई निस्कियौं ।
हाम्रो पहिलो दिनको यात्रा चितवनदेखि धुन्चेसम्मको रह्यो । बाटामा तीन बस फेरिए । चितवनबाट गल्छी, गल्छीबाट ढुङ्गे र ढुङ्गेबाट धुन्चे । जिल्लाका हिसाबले हामीले चितवन, धादिङ, नुवाकोट र रसुवा छोयौं । रसुवाको सदरमुकाम धुन्चे । म यस अघि त्रिशूलीसम्म पनि पुगेको थिइनँ, रसुवाको त कुरै छोडौं ।
रसुवा तामाङ बाहुल्य जिल्ला रहेछ । रसुवादेखि बाहेक तामाङहरू मकवानपुर, नुवाकोट, धादिङ, काभ्रेपलान्चोक, रामेछाप, दोलखा र सिन्धुलीमा उल्लेख्य मात्रामा छन् । भोटबर्मेली परिवारभित्र पर्ने तामाङ भाषा नै तामाङ जातिको भाषा हो । जाति र भाषाभाषीको संख्यालाई हेर्दा नेपालमा तामाङहरू जति छन्, त्यो भन्दा कम जनसंख्या तामाङ भाषाभाषीको रहेको छ । तामाङहरूले आफ्नो मातृभाषा बोल्न छाडेर नेपाली भाषातिर आकर्षित भएकाले जातिको जनसंख्याभन्दा भाषाभाषीको जनसंख्या कम भएको हुनुपर्छ । यस्तै तामाङहरू बौद्ध धर्मावलम्बी हुन् । तामाङहरूले बौद्ध धर्म र परम्पराअनुसार गुम्बा, माने र छ्योर्तेनमा पूजाआजा गर्छन् । उनीहरूको आफ्नै किसिमको संस्कार छ । जस्तै नामकरण, नाककान छेड्ने, भातख्वाई, छेवार, गुन्युचोलो दिने, विवाह, मृत्यु संस्कार आदि । तामाङ समाजमा कुनै पनि कार्य सम्पन्न गर्न ताम्बा, बोन्बो र लामाको आवश्यकता पर्छ । नामकरणदेखि मृत्युसंस्कारसम्म लामाको भूमिका महत्वपूर्ण हुन्छ तामाङ जातिमा ।
म रसुवा र तामाङ जातिको कुरा अलि बढी गर्दैछु किनकि हाम्रो गन्तव्यस्थल गोसाइँकुण्ड रसुवामै पर्छ । १५४४ वर्ग किमी क्षेत्रफल रहेको एक विकट पहाडी जिल्ला रसुवालाई हावापानीका हिसाबले मोटामोटी रूपमा टुन्ट्राप्रदेशीय, शीतप्रदेशीय र समशीतोष्ण प्रदेशीय गरी विभाजन गर्न सकिन्छ । यस जिल्लाको उच्च हिमाली भेगमा हिउँ जमिरहन्छ, मध्यपहाडी भेगमा चिसो हावापानी छ । मध्यपहाडी भेगमा हिउँदमा हिमपात पनि हुने गर्छ भने यस जिल्लाको तल्लो भेगमा समशीतोष्ण हावापानी भेटिन्छ । जलसम्पदाका हिसाबले यो सम्पन्न छ । त्रिशूली, चिलिमे, मैलुङ, भोटेकोशी, लाङटाङ, फलाँखु जस्ता नदी तथा खोलाहरू र गोसाइँकुण्ड, पार्वतीकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, दुधकुण्ड, जोगेश्वरकुण्ड, तातोपानी आदि जलाधार क्षेत्र हुन्, रसुवाका ।
यात्राको पहिलो बिसौंनी धुन्चे पुगेपछि माथि जाने यात्रीहरू कोही छन् कि भनी खोज्न थाल्यौं । दशहरा कटिसकेको थियो हामी पुग्दा । तर जनैपूर्णिमा आउन निकै दिन बाँकी थियो । यो यात्री हिंड्ने सिजन होइन रहेछ । तीन जना भेट्यौं नुवाकोटतिरका । बूढाबूढी थिए । ती पनि एकादशीको सन्दर्भ पारेर आएका रहेछन् । हामीलाई केही राहत भयो । एकै होटलमा बस्यौं हामी सबैजना । धुन्चेको राम्रो होटलमा गनिंदो रहेछ त्यो होटल । होटेल मालिक घिमिरे थरका रहेछन् । उनले त्यो होटल भाडामा लगाएका रहेछन् । संयोगवश त्यसै दिन होटल मालिक पनि भेटिए । चितवनमा उनका दाजुभाइ पनि रहेछन् । अम्बिका दाइले चिन्नु हुँदोरहेछ उनका चितवनका आफन्तलाई । २०७२ को भूकम्प अधिसम्म आफैं चलाउँथे रे तर भूकम्प पछि त्यहाँ बस्न छाडेछन् ।
भोलिपल्ट सखारैमा हिंड्ने तय भयो । बिहानै पसल नखुल्ला भनेर हामीले अघिल्लै दिन एक एक वटा हरिया बर्सादी किन्यौं । हावा तेज चल्ने भएकाले छाताको काम आउँदो रहेनछ त्यहाँ । सुन्यौं — माथि लेक लाग्छ, लेक लाग्दा वाकवाक लागेजस्तो हुन्छ, लसुन र अदुवाले लेक लाग्नबाट केही हदसम्म बचाउँछ । लेक लागिहाल्यो भने त्यसको कुनै औषधी छैन । औषधी भनेकै जतिसक्दो छिटो तल ओराल्नु हो । हामीले केही टुक्रा अदुवा र लसुनका पोटी खल्तीमा हाल्यौं । अहिले नाम बिर्सिएँ मैले, हामीले लेक लाग्नबाट जोगिनका लागि एक एक चक्की औषधी पनि खाएका थियौं ।
भोलिपल्ट सखारै यात्रा सुरु भयो हाम्रो । तेर्सो बाटो करीब दुई किलोमिटर जति हिंडेपछि घट्टे खोला पुग्यौं । घट्टे खोलाको मुहान भनेको त्रिशूलधारा र गोसाइँकुण्ड नै हो । घट्टे खोलामा अजङ्गको उकालो उक्लिएर गोसाइँकुण्डसम्म पुग्न नसक्नेका लागि एउटा सानो मानवनिर्मित कुण्ड रहेछ । त्यहींबाट चढाइ सुरु भयो । यात्रापथको अनभिज्ञता पनि यात्राको साथी हुँदो रहेछ । हामीले अडकल लगायौं — ठाडै उकालो माथिसम्म त छैन होला, तेर्सो र तर्पायाँ बाटो पक्कै फेला पर्नेछ । हामी तेर्सो र सजिलो बाटो फेला पारिने कल्पनामा नाकठोक्ने उकालो उक्लिरह्यौं । हामी तराईमा बस्छौं । उकालाको अभ्यस्तता टुटेको छ । सायद नाकठोक्ने उकालाको सिलसिला निकै लामो छ भन्ने ज्ञान हुँदो हो त यो यात्राको योजना बन्थ्यो या बन्दैनथ्यो म प्रष्ट छैन ।
देउरालीमा पुग्दा एउटा बन्द होटल देखियो । चिसो पानीसँग बिस्कुट टोक्दै पेटको सामान्य पूजा गरेपछि हामी दिम्सा पुग्यौं । दिम्सामा पहिले आर्मी पोस्ट रहेछ । २०७२ को भूकम्पपछि त्यो दिम्सा पोस्ट त्यहाँबाट माथि चन्दनबारी सरेको थाहा पाइयो । दिम्साको पुरानो आर्मी पोस्ट रहेको स्थानमा एउटा शिलापत्र भेटियो जहाँ रसुवा जिल्लाका मुख्य स्थानहरूका उचाइ मीटर र फिट दुबैमा लेखिएको पाइयो । मैले यो जानकारीलाई फोटोमा बन्दी बनाएँ । शिलापत्रको जानकारी यस्तो थियो — वेत्रावती — ६२० मिटर (२०३४ फीट), कालिकास्थान — १४०० मिटर (४५९२ फीट), धुन्चे — १९६५ मिटर (६४४५ फिट), घट्टे खोला — १९७७ मिटर (६४६१ फिट), देउराली — २६२५ मिटर (८६१० फिट), दिम्सा पोस्ट — ३०३८ मिटर (९९६५ फिट), चन्दनबारी — ३२५० मिटर (१०२३४ फिट), चोलाङपाटी — ३१०० मिटर (१०१६० फिट), लौरी विनायक — ३२७७ मिटर (११४६३ फिट), गोसाइँकुण्ड — ४३८० मिटर (१४३६६ फिट), स्याप्रुबेसी — १४६० मिटर (४७८८ फिट), रसुवागढी — १८१४ मिटर (५९४९ फिट), सामडाँडा — ३६०० मिटर (११८०८ फिट) ।
दिम्साको पुरानो आर्मी पोस्टबाट अलिकति उक्लिएपछि एउटा होटल देखियो । त्यो होटलको नाम दिम्सा रहेछ । हामीले लख काट्यौं कि दिम्सा ठाउँको नामबाट दिम्सा पोस्ट र त्यसैका आधारमा होटलको नाम दिम्सा रहेको हुनुपर्छ तर यसबारे हामीले कसैसँग सोधेनौं । ११ बजिसकेछ । स्थानीय यात्रुका लागि २ घण्टा जतिमा पुगिने दिम्सा पुग्न हामीलाई पाँच घण्टा लाग्यो । बिहानी खाना त्यहीं खायौं । दुई घण्टा जति आराम गरेर फेरि सुरु गर्यौं उकालाको यात्रा ।
यात्रामा सहरबजारका कोलाहल थिएन । सुनसान थियो । मूल बाटोसँग जोडिएका उपबाटाहरू थिएनन् त्यहाँ । खच्चर र चौंरीका घाँटीमा झुण्ड्याइएका घण्टीका आवाजले नीरवता चिर्थ्यो । यात्रीहरू खासै भेटिएनन् भन्दा हुन्छ । एकाध जोडीहरू भने बाटामा भेटिए । हामीले उकालामा एकजना भारतीय साधु भेट्यौं, खाली खुट्टामा । चिसो छेक्ने कपडा थिएन । एउटा झोली बोकेका थिए । मलाई लाग्यो — यी ज्यान पाल्नका पीरले मागी खान पल्किएका जोगी पक्कै होइनन् ।
दिम्सामा खाना खाए पछि हामी तातेताते गर्दै चन्दनबारी पुग्यौं । त्यहाँ चिज उत्पादन केन्द्र रहेछ । त्यस्ता चिज उत्पादन केन्द्रहरू धुन्चे, चन्दनबारी, लाङटाङ तथा पार्वतीकुण्ड गाउँपालिकाको गत्लाङमा रहेछन् । सुनिएअनुसार रसुवामा वार्षिक करीब ३६ हजार किलो चिज उत्पादन हुन्छ र यसको खपत स्थानीय बजारमा केही भए पनि बाँकी संस्थानमा लगिंदो रहेछ । वैशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन हुने कुरा पनि थाहा पायौं हामीले ।
अत्यासलाग्दो तराइको गर्मीबाट पहाडी जिल्लामा पुगेका हामीलाई त्यहाँ चन्दनबारीले चिसो ए.सी. चलायो । कति विविधता छ नेपालको प्रकृतिमा । १०/२० किलोमिटरकै फरकमा हावापानी पूरै बदलिन्छ त्यहाँ । मेरा विचारमा नेपाल भूस्वर्ग हो । हामीलाई प्रकृतिले त दिएको छ तर हामीले प्रकृतिप्रदत्त स्वर्गीय आनन्दको उपभोग गर्न जानेनौं । हाम्रो भूस्वर्गलाई आम्दानीको मूल स्रोत बनाउन जानेनौं । नभएका कुराहरूको प्राप्तिका खातिर अन्यत्रै दौडिरह्यौं हामी । हुन नसकेका कुराहरूको दोष अर्काप्रति पन्छाएर हिलोमाथिको ओभानो बनिरह्यौं । हामीले हीरा चिनेनौं र पित्तललाई सुन ठानेर मृगतृष्णामा भौंतारिरह्यौं ।
चन्दनबारीबाट चोलाङपाटीसम्म तेर्सो बाटो छ भन्ने जानकारीले नाकठोक्ने उकालो उक्लिएका हामीलाई ठूलो राहत भयो । समय थियो । चोलाङपाटी पुग्न दुई घण्टा लाग्ने जानकारीले हामी हौसियौं । घना जंगल छ । घना जंगल छिचोलेर उज्यालो पस्न पनि डराउँदो रहेछ त्यहाँ । हामी दुई जना मात्र छौं । बाटो चिप्लो छ । सिमसिम सिमसिम पानी बर्संदो छ । एकदम उराठलाग्दो वातावरण । मोबाइलले टावर नपाएको निकै तलबाट हो । यो एकान्तमा मोबाइलले टावर पाएको भए केही राहत हुन्थ्यो होला । जंगली जनावरको त्रास त छँदै छ । मलाई लाग्यो — यो एक्लैदुक्लै हिड्ने यात्रा नभई कम्तीमा ५/६ जनाको समूह बनाएर हिंड्नुपर्ने यात्रा रहेछ ।
घट्टे खोलाबाट हिंड्न थालेको ११ घण्टापछि हामी चोलाङपाटी पुग्यौं । उकालो चढ्ने अभ्यस्तता टुटेका हामी कसरी ११ घण्टा लगातार उक्लिरह्यौं होला, कुन शक्तिले हामीलाई हिंडायो होला । म त्यो यात्राको विकटता आज पनि सम्झिरहेछु । हो, हामी विकल्परहित विकल्पमा थियौं । चोलाङपाटी पुग्दा हामी निकै थाकेका थियौं । हामीले एक एक बटुको गार्लिकको तातो झोल पियौं — एक बटुकोको १५० तिरेर । त्यो ठाउँमा एक बटुको तातो झोल पिउन पाउनुलाई हामीले पैसासँग तुलना गर्न सकेनौं । होटल मालिकले सुनाए — हिउँदमा त्यहाँ एक मिटरसम्म हिउँ थुप्रिन्छ । जब चिसो सुरु हुन्छ, उनीहरू तल फाँट झर्दा रहेछन् । हिउँ पग्लिएर सकिएपछि मात्र फेरि उक्लिंदा रहेछन् उनीहरू त्यहाँ । मैले कल्पना गरें — कष्टदायी जिन्दगीको तर उनीहरूमा कुनै कष्टको आभाषसम्म पनि थिएन । एउटा मीठो जीवन पद्धति ठान्थे उनीहरू त्यसलाई । एउटा लय, एउटा निरन्तरता, एउटा बगाइ र एउटा अनवरत क्रमिकता ।
भोलिपल्ट बिहानैदेखि पानी परिरह्यो । एकछिन आकाश चियाएर बस्यौं । रोकिने कुनै छाँट देखिएन । होटेल मालिकले सुनाए — अब यहाँबाट मुख्य चढाइ सुरु हुन्छ । हामी दुवैले प्रत्यक्षमा आत्तिएको देखाएनौं तर मलाई लाग्छ — हामी भित्रभित्रै आत्तिएका थियौं किनकि हिजो हिंडिएको बाटो मुख्य चढाइ थिएन ।
पानी बर्सिने क्रम सिमसिममा परिणतमा भएपछि हरिया बर्सादी ओढेर चोलाङपाटीलाई फेरि भेट्ने वाचाका साथ हामी उक्लियौं । हिजोको बाटो र आजको बाटामा नितान्त फरक छ । जिन्दगीका बाटाहरू पनि यस्तै हुन्छन् । हरेक दिन नयाँ नयाँ बाटाहरू आइपर्छन् जिन्दगीको यात्रामा । सोचिएकै डोरेटोमा जिन्दगीको यात्रा कहाँ तन्किन्छ र ?
लेक लाग्ने सम्भावना लौरी विनायकको उकालामा धेरै हुनसक्छ भन्ने सुनिएको थियो । माथि नै भनिहालेँ, हामी दुई मात्र छौं यात्रामा । फाट्टफुट्ट एकाध मानिसहरू भेटिन्छन् । विकटता झन् झन् चर्किंदो छ । मोबाइलले टावर प्रायः भेट्दैन । हिंड्दै जाँदा एउटा कुइनेटामा टावर भेटियो । हामी दुवैले घरमा खबर गर्यौं । त्यसका अतिरिक्त कतै टावर भेटिएन । मैले सोचें — हामी दुईमध्ये कुनैलाई लेक लागिहाल्यो भने …… तर हामी भाग्यमानी थियौं त्यस्तो अवस्था आएन ।
लौरी विनायकको उकालो चढ्दै जाँदा ठूला रुखहरू भेटिएनन् । होचा बुट्यानहरू थिए । त्यहाँ पाखैभरि बिखालु फूल फुल्छन् रे तर हामी पुग्दा फूलहरू फुल्ने मौसम थिएन सायद । यसैले फूलका बिखालु गन्धले हामीलाई लठ्याएन । लौरी विनायकको उकालाबाट थाप्लामा पुग्न त्यति धेरै दूरी थिएन । नजिकै देखिन्थ्यो डाँडा तर त्यहाँसम्मको दूरी तय गर्न निकै सकस खेप्यौं हामीले । क्रमशः बुट्यानहरू पनि होचिंदै गए । अन्ततः काला ढुङ्गाहरूका डाँडामा हामी पुग्यौं । हामी बुद्ध डाँडाको थाप्लामा थियौं । त्यहाँ यत्रतत्र ढुङ्गाहरूका थुप्राहरू देख्यौं — ती तामाङहरूका चिहान थिए ।
बुद्ध डाँडाको थाप्लोमा पुगेर तल नियाल्यौं । हुस्सुको गुब्बारा माथि माथि उक्लिदै थियो । एकै छिनमा घाम, एकै छिनमा पानी र एकै छिनमा हुस्सुको गुब्बारा स्पर्श । अलौकिक र अवर्णनीय थियो । हिमालले सेता दन्तलहर देखाएर मुस्काएको दृश्यले हामी मुग्ध भयौं, यात्राका थकाइ हामीबाट गायब भइसकेको थियो ।
अब उकालाको यात्रा टुङ्गिएको थियो । बाटामा भेटिएका एकाध यात्रीबाट थाहा भयो — कुण्डको दूरी बढीमा आधाघण्टा मात्रै छ । बाटो तेर्सो छ तर तेर्सो बाटामा पनि पाइला सर्न गाह्रो मानिरहेछ । झरनाले सुसेली हालेर म यहीं छु को सङ्केत गरिरहेछ । हिउँले चाटेका ठूला ठूला काला ढुङ्गाका पहाड देखिएका छन् । बाटो साँघुरो छ । तल निकै डरलाग्दो छ । केहीबेरको हिंडाइपछि बाटा तल हामीले दुई ससाना कुण्ड देख्यौं । पर थुम्कामा एउटा कटेरो पनि देखियो तर हाम्रो गन्तव्यविन्दु देखिएन । जब हामी कटोरोसम्म पुग्यौं तब एउटा मनमोहक तालले हामीलाई फैलिएर स्वागत गरिसकेको थियो । हामी निर्मल गोसाइँकुण्डको किनारमा थियौं ।
घाम, पानी र हुस्सुको गुब्बाराले लुकामारी खेलिरह्यो । हामीले नुहायौं । पानी निकै चिसो थियो । धर्मात्माले शिवजी देख्छ रे कुण्डमा तर मैले देखिनँ । दुलाल दाइले पनि देख्नुभएन । हुनसक्छ, कसैले शिवजी देख्दैनन् त्यहाँ तर अधर्मी भइन्छ भन्ने त्रासमा कुण्डका बीचबाट निकाकार शिवजीको स्वरूप प्रकट हुन्छ एकाएक मानिसहरूका मनोविम्बमा ।
गोसाइँकुण्डको उत्पत्ति कथा हिन्दु धर्मशास्त्रमा शिवजीसँग जोडिएको छ । यो हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो । नेपालमा हिन्दु र बौद्धका यस्ता साझा तीर्थहरू मनग्गे छन् । हिन्दु र बौद्ध बीचको धार्मिक सहिष्णुता शताब्दीयौंदेखिको हो नेपालमा । हिन्दु धर्मावलम्बीहरूले यस कुण्डलाई शिवकुण्ड पनि भन्दा रहेछन् । हिन्दुहरू गङ्गा दशहरा र जनैपूर्णिमाका दिन कुण्डमा स्नानका लागि यात्रा गर्दा रहेछन् भने तामाङहरू जनैपूर्णिमाका दिन । गोसाइँकुण्ड नेपाली भाषामा राखिएको नाम रहेछ । तामाङ भाषीहरूले यसलाई कार्पु छोकर भन्दा रहेछन् । कुण्डको नजिक रहेको सूचनास्तम्भमा लेखिएअनुसार गोसाइँकुण्डको सतहको क्षेत्रफल १३.८० हेक्टर, लम्बाइ ६२५.५५ मिटर, चौडाइ ३०२ मिटर र पानीको आयतन १४,७२,००० घनमिटर रहेको जानकारी दिइएको छ । १०० प्रजातिभन्दा बढी फूल फुल्ने वनस्पति, विष, पदमचाल, जटामसी आदि पाइने यस भेगमा चखेवा, चखेवी, खोयाहाँस, कालीजुरे जस्ता पन्छीहरू पाइने रहेछ । यो क्षेत्रलाई २०६४ असोज ६ गते रामसारमा सूचीकृत गरिएको जानकारी पनि पायौं । रामसार क्षेत्र भन्नाले सिमसार तथा पक्षीको संरक्षित सम्पदा क्षेत्र मानिन्छ । नेपालमा गोसाइँकुण्ड क्षेत्रसहित ९ वटा स्थानलाई रामसार क्षेत्रका रूपमा घोषणा गरिएको छ । रामसारमा यस क्षेत्रलाई सूचीकृत गर्नुको उद्देश्य दुर्लभ, संकटाभिमुख र संकटापन्न जीवजन्तुको संरक्षण र सम्बर्द्धन गर्नु नै हो ।
पाइएसम्मका जानकारी मानसपटलमा पोको पारेर र वरपरका दृश्यावलोकनमा रमाउँदै हामी फर्कियौं । तेस्रो दिनको बसाइ चन्दनबारी रह्यो भने चौथो दिन हामी त्रिशुली झर्यौ । पाँचौं दिन पृथ्वीनारायण शाहको नुवाकोट दरबार हेर्ने तीव्र इच्छा हुँदाहुँदै परिस्थितिले हामीलाई साथ दिएन र एउटा आकाङ्क्षा मनभित्रै थाँति राखेर हामी पुनः चितवन फर्कियौँ त्यसैदिन ।
[यात्रा समय : २०७५ जेठ]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।