देबुका घरमा भीडभाड छ ।
देबु गाउँनेता हुन् । सबैले मान्छन् । गाउँका सानातिना मनमुटाब धोइपखाली गर्ने ठाउँको उपमा पाएको छ देबुका घरले ।
“अन्याय भयो न्याय पाऊँ,” बुधेले सन्नाटा भङ्ग गर्यो ।
“यथार्थ के हो भन्,” देबुले भने ।
“छोरीलाई दुई जीउकी पारियो । हामीलाई जिउँदै मारियो । अपराध गर्ने रमजान भागेको छ ।”
“भन्दैमा हुन्छ ? प्रमाण चाहिन्छ । प्रमाण नभए यस्तोमा फैसला कसरी हुन्छ ?”
“छोरीले नै उही हो भनी । पोलिने पनि भागेको छ ।”
“हो त गोपु, तेरो छोरो भागेको हो ?”
गोपु भन्छ, “हिजोदेखि घर छैन । भागेको पक्का हो । सबैले बदमासी उसैको हो भन्छन् । मलाई पनि त्यही लाग्छ हजुर । तर अरु दश केटाले पनि गाउँ छाडेका छन् हजुर ।”
“तेरो छोरोले स्याहार्नुपर्छ अब । बिहे गराउने हो त ?”
“छोरो माने हुन्छ हजुर ।”
“मलाई क्षतिपूर्ति दिए हुन्छ भन्दैछ बुधे । ऊ गोपुका घर छोरी भित्र्याइदिनु भन्दा क्षतिपूर्तिका लागि बढी सहज भइरहेछ ।
“क्षतिपूर्तिले हुन्छ भने कति लिन्छस् त भन् न त ?” कुरा निथार्न खोज्दै भने देबुले ।
बुधेले एकछिन गम्यो र भन्यो, “पाँच हजार त चाहिन्छ । छोरी कन्ने हो ।”
गोपुले भन्यो, “कहाँ सक्छु म त्यतिका पैसा तिर्न ? बाबुबाजेको छाला सपै बेच्दा नि त्यति हुन्न । बरु भित्र्याउँछु । एउटी ब्वारी भित्र्याउनै छ । एउटा जातपातको कुरो हो, भातपानी हल्ट गर्लान् सहन्छु ।”
बुधेले मानेन, गोपुले सकेन तिर्न ।
छलफललाई बिट मारे देबुले । पच्चीस सयमा कुरो छिनियो । गोपुले एक महिनाको समय पायो ।
एक महिनापछि सुनियो- बुधेले पेटसहितकी छोरीलाई पच्चीस सय लिई अवनीलालको लठेब्रो छोरोको हिस्सा लायो रे !
+ +
कुन समयका लेखे हुनन् यो कथा रेवतीले । तर आज चालीस वर्षपछि पल्टाएर पढ्दा पढ्दै रेवतीकै छोरी रजनीले पिच्च पार्दै भनी, “थुक्क पापी !”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।