पोखरा । साहित्य, कला र संगीतको प्रवर्द्धनमा समर्पित अग्रणी संस्था पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित नियमित कविता श्रृंखला ‘समता काव्य सन्ध्या’ को ३८२औं शृंखला भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले बालसाहित्य, बालसंगीत र बालकलाको विकासमा ध्यान पुर्याउनुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, “बालसाहित्यकार सुमिका घिमिरेजस्ता नवप्रतिभाहरूले यस्ता कार्यक्रममा कविता वाचन गर्दै देशविदेशसम्म चर्चित हुने अवसर पाएका छन्। बालबालिकाको समग्र विकासका लागि उनीहरूकै लागि सिर्जना गर्नुपर्ने हो र त्यसका लागि समाजको सामूहिक सहयोग आवश्यक छ।”
कार्यक्रममा सुमिका घिमिरे, उद्धव प्याकुरेल, लक्ष्मी थापा, ढाकामोहन बराल, दीपकराज अधिकारी, अल्पविराम, चन्द्रावती वाग्ले, भीम रानाभाट, राम खतिवडा लगायत २० भन्दा बढी साहित्यकारले आफ्नाे कविता वाचन गर्नुभएकाे थियाे ।
कार्यक्रमको अध्यक्षता उपाध्यक्ष लक्ष्मण थापाले गर्नुभएको थियो भने सचिव एमडी काफ्लेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। शिव त्रिपाठीले स्वागत मन्तव्य राख्दै संस्थाको क्रियाशीलतालाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
पोखरेली युवा सांस्कृतिक परिवारले लामो समयदेखि काव्य, संगीत र कला क्षेत्रमा नवप्रतिभा उजागर गर्दै रचनात्मक योगदान दिँदै आएको छ।