पोखरा । इन्द्रेणी थिएटरद्वारा आयोजित कार्यक्रममा डा. देवी क्षेत्री दुलालद्वारा लिखित उपन्यास ‘चिफ कर्णेल गजराजसिंह थापा’ को विमोचन गरिएको छ ।

पोखराको राष्ट्रिय उच्च माध्यामिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा साहित्यकार, कलाकार, पत्रकार तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अध्यक्ष केदारनाथ पौडेल रहनुभएको थियो भने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त प्रमुख अतिथि हुनुहुन्थ्यो । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल विशेष अतिथि र उपन्यासकार डा. देवी क्षेत्री दुलाल विशिष्ट अतिथि रहनुभएको थियो । नेपाल नाट्य प्रतिष्ठान पोखराका अध्यक्ष प्रा.डा. रामचन्द्र पोखरेलले उपन्यासको परिचर्चा गर्नुभएको थियो भने नाटककार कृष्ण उदासीले विश्लेषण प्रस्तुत गर्नुभएको थियो ।

कार्तिक २०८१ मा प्रकाशित यस उपन्यासले श्री ३ जङ्गबहादुर राणाका ज्वाइँ तथा इलामका बडाहाकिम गजराजसिंह थापाको जीवन, उनका सत्कर्म, समाजमा पारेको प्रभाव र इलाम गौडा सँगको प्रेमलाई आख्यानको रूपमा प्रस्तुत गरेको छ । उपन्यासमा गजराजसिंहले इलाममा चिया खेतीको विकासमा पुर्‍याएको योगदान, चिया कारखाना स्थापना लगायतका ऐतिहासिक तथ्यहरूलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । उपन्यास १७ खण्डमा विभाजित छ ।

प्रा.डा. पोखरेलले आफ्नो अवधारणा पत्रमा उपन्यासमा समावेश गरिएका ऐतिहासिक तथ्य र काल्पनिक पक्षहरूको विश्लेषण गर्नुभएको थियो भने पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति ढकालले लोककवि अलि मियाँको गीतको अंश पनि सुनाउनुभएको थियो । प्रमुख अतिथि सरुभक्तले आफ्नो बाल्यकालको स्मरण गर्दै राष्ट्रिय माविमा अध्ययन गरेको अनुभव सुनाउनुभएको थियो । उपन्यासकार डा. क्षेत्रीले उपन्यासका नायक गजराज सिंह थापाका ससुरा जङ्गबहादुर राणा नायक हुन् कि खलनायक भन्ने प्रश्न उठाउनुभएको थियो र जङ्गबहादुरले नेपालका केही भूभाग फिर्ता ल्याएर नायकको भूमिका निर्वाह गरेको बताउनुभएको थियो ।

कार्यक्रममा छन्द कवि माधव वियोगी, अङ्ग्रेजी साहित्यका अनुवादक प्रा.डा. यमबहादुर पौडेल क्षेत्री, भूगोलविद् कालिदास शर्मा, कवि जनार्दन दाहाल, नेपाल नाट्यप्रतिष्ठान पोखराका महासचिव सुन्दर मानन्धर, सदस्य ईश्वर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन रामहरि अधिकारीले गर्नुभएको थियो ।