मानव जति मानवीय छ त्यति नै दानवीय पनि छ । मान्छेभित्र हुने भावनात्मक क्षमता, समय र स्थितिलाई परिवर्तन अनुरूप अंगीकार गर्ने व्यवहारको ढाँचा अनि व्यक्तिगत स्वार्थ पूरा गर्नाका खातिर जुनसुकै हद-सीमा पार गर्ने कुराको प्रतिनिधित्व पाउँछौं उपन्यासमा ।

सरुभक्तको लेखन शैली, वाक्य गठन, संरचनागत विविधता, संवाद, पात्र, परिवेश र सन्दर्भ प्रस्तुतिकरण अनि सिर्जनात्मक प्रयोगधर्मीताले हायलकायल बनाउँदछ । पहिलोपटक समय त्रासदी मैले सन् २०११ तिर पढेको थिएँ, पुस्तकालयप्रति कक्षा ११ हुँदा थप कोर्स क्रेडिट आउने भएकोले । उपन्यास पढेपछि डर, त्रास त उत्पन्न भएकै थियो, cannibalism अर्थात् नरमांसभक्षिताको प्रसङ्गले । कारण थियो सन् २०१० आसपास कक्षा १० मा अध्ययनरत रहँदा अंग्रेजी कक्षाको म्यामले कुनै अपरिचित स्थानमा खिचिएका केही विवादास्पद एवम् त्रासद् तस्वीरहरूको स्मरण आएकाले । ती तस्वीरहरूमा खुल्ला बजारमा मानव मांसको बिक्रीवितरण, भाग लगाउने, पैसाको थान्कोमान्को हुने र ग्राहकहरूको अधिक भीड हुने दृश्य — हाम्रोतिर दशैंतिर र शनिबारका दिन गाउँटोलमा खसीको भाग लगाएको मासु बिक्रीवितरण गरे जस्तै । यो किताब अगाडि उनको चुली पढेर पर्वतारोहण गरेको बोध भएको थियो र पागल बस्तीले दिमाग नराम्रैसँग हल्लाएको थियो ।

वि.सं. २०५८ सालमा प्रथमपल्ट छापिएको, २०६७ मा साझाको दोस्रो संस्करण आएर अनि बजारमा अप्राप्य भएको स्थितिमा यस पुस्तकको नयाँ संस्करण बुक-हिल बाट आएको हो । ५८ सालको किताब भए तापनि विश्व स्तरीय गोथ साहित्यको अनुभूति आउँछ यो उपन्यास पढ्दा । झन् अर्जेन्टाइन लेखिका Agustina Bazterrica को कृति Tender is the Flesh पढेपछि शायद समय त्रासदीको अंग्रेज़ी अनुवाद पनि यस्तै त्यस्तै हुन्थ्यो होला है भन्ने लागेको थियो। आफ्ना सिर्जनामा रचनात्मक, दार्शनिक, यथार्थपरक अनि प्रयोगवादी खेती गर्न माहिर छन् सरुभक्त। प्रतिगन्ध चै उनको औँषत लेखनी र हतारोको काम लागेकोले त्यति तृप्त भइएको थिएन। मुख्यतः समय त्रासदी र पागल वस्ती पढेपछि चै कसरी लेख्न सकेका होलान् यिनले यसरी, दिमाग लाई त मान्नै पर्छ, यस्तो पनि हुन्छ / हुन सक्छ र आदि प्रतिक्रियाहरु आएका हुन्। लेखकले भने झैं पागल वस्तीमा प्रेमको बाटोमा यात्रा गरिन्छ त समय त्रासदीमा घृणाको यात्रा गरिन्छ।

यथार्थपरक, स्वैर-काल्पना अनि अरूभन्दा नितान्त फरक साहित्यिक लेखनमा पोख्त छन् सरुभक्त । समय त्रासदीमा Utopia (जहाँ सबै कुरा पूर्ण सद्भाव एवम् सन्तुलनमा रहेको अनुभूति हुन्छ) र Dystopia (जहाँ सबै कुरा असन्तुलित एवम् अपूर्ण लाग्छ) संसारको प्रतिनिधित्व पाइन्छ । त्यो समयकालको साहित्यलाई नियालेर हेर्दा उपन्यास सिर्जनात्मक मौलिकताले उर्वर अनुभूति हुन्छ । सर्जकको दिमागलाई मान्नुपर्छ – शब्दविन्यास, संवाद शैली, पात्रपरिवेशको चित्रणको तौरतरिका हेर्दा । उपन्यासमा उनले एकातिर यो संसार स्वर्गजस्तै शान्त, सन्तुलित अनि मनमोहक लाग्छ त अर्कोतिर त्यही संसार नर्कजस्तै विकराल, भयावह अनि अराजक लाग्छ भन्ने देखाउन खोजेको आभास हुन्छ । हामीले हाम्रो जीवनमा पनि सुख, धन-सम्पत्ति, सौरभ, गौरव पाउँदा जिन्दगी गुलजार पाउँछौं त त्यसको अभावमा एकदमै शुष्क\निरस वोध गर्छौं।

उपन्यासको १४ औं अध्यायसम्म सामाजिक मनोवैज्ञानिक र पतिपत्नीबीचको द्वन्द्व, बेमेल सम्बन्ध र बिग्रेको सम्बन्धको प्रभाव, पर-पुरुष\पर-नारीसँगको विवाहेत्तर सम्बन्धको प्रसङ्ग अनि वैवाहिक सम्बन्धका विभिन्न आयमबारे लेखकले प्रकाश पार्दछन् । अनि १५ औं अध्यायपछि उनले हामीलाई छुट्टै संसारमा पुर्याउँछन्, जहाँ बदलिएको मानव भावना, मसिन र दानवमा परिवर्तन भएका मानव र घृणाका फरकफरक आयामसँग दमदार परिचय गराउँछन् ।

सुरुवातमा परिवारका विरुद्ध गएर प्रेम विवाह गरेका जोडी माया र उसको लोग्नेको पहिलो भेट, सुरुवातको प्रेम सम्बन्ध अनि भएको प्रगतिको कुरा छ । कथानकमा प्रेम विवाह भएको केही समयमा लोग्ने नाम, काम, दाममा सफल प्राध्यापक, प्रजातान्त्रिक बुद्धिजीवी, व्यापारी, प्रतिष्ठित समाजसेवी र आदर्शवादी मूल्यवादी नेता (फाईभ इन वान) कहलाउन सफल हुन्छ र मायालाई मायाले आफ्नो प्रगतिको श्रेयस्कर बताउँछ । तर विस्तारै लोग्नेको विवाहेत्तर सम्बन्धमका कारण पतिपत्नीका बीच आउने दरार, मतभेद, बेडरुममा रातदिन हुने लडाइँ, मतभेद र कुरुक्षेत्र युद्ध, विश्वासको संकट अनि हात हालाहालको स्थितिसम्मको कुरा छ । तिम्रा लागि आकाशको तारा झारेर देखाइदिन्छु भन्दै प्रेम प्रकटबाट सुरु भएर केवल शरीर भोग्ने, पत्नीलाई मसिन र घरायसी काममै सीमित रहने नोकरजस्तो मान्ने, र परस्त्रीसँग लागेर दैनिक घरमा कि तँ छैनस् कि म छैन भन्दै कुटपिट गर्ने वैवाहिक सम्बन्धको कथानक छ ।

जतिसुकै सम्बन्धमा रिक्तता, तिक्तता र दैनिक हुने मारपिट भए तापनि हुर्कंदै गरेका सन्तानका निम्ति आँशु पिएर बाँच्ने, मनको कुरा मनैमा साँचेर मसिन झैं दिनरात नभनी घरको कामकाज धान्ने र राति आरामले सुत्नुको साटो पति (देव) को यौन उन्माद र भोक तृप्त पार्ने नारीको कथा छ । कथानकमा सरकारी कार्यालयमा कर्तव्यपूर्वक आफ्नो तोकिएको काम-कारवाही गर्नभन्दा चिया नास्ताका साथ विभिन्न टीका-टिप्पणी गरेर टाइमपास गर्ने कर्मचारीको दृश्यहरू आउँछ । राजनीति, समाज, सरकार, निर्दलीय व्यवस्था, साम्यवाद, धार्मिक विषय, प्राध्यापन, शिक्षा आदि विषयमा दक्षता देखाउने हाम्रो नेपाली आदतको कुरा नि छ । अनि छ हाम्रो चान्समा डान्स गर्ने बानीको नि चित्र । घरपरिवार र सम्बन्ध बनाउन, बिगार्न, भत्काउन जति भूमिका नारीको हुन्छ त्यति नै पुरुषको पनि हुन्छ भन्ने बुझाउँछ कथानकले । मायाका अराजक तथा परस्त्रीको सम्मोहनमा आफ्नो वैवाहिक जिम्मेवारी बिर्सेर पत्नीमाथि यौन एवम् मानसिक शोषण गर्ने नेताजीको बहुमुखी पात्र र चरित्रमा आउने अनेकौं परिवर्तनले ठ्याक्कै हाम्रा नेता, मन्त्री, सांसद अनि अरु पेशामा आबद्धहरूमा तीव्रताका साथ हुने आउने परिवर्तनको झल्को दिन्छ । हुन पनि आफ्नो फाइदा, स्वार्थ र अर्थका निम्ति छिटोछिटो परिवर्तन हुने कारण मान्छेले त रङ्ग फेर्न माहिर चेमेलिअन छेपारोलाई पनि जित्छ नै ।

धनमानले भरिपूर्ण भएपछि वृहत् पार्टीको आयोजना गर्ने र विभिन्न क्षेत्रका भी.आई.पी (जस्तै: संघ अध्यक्ष, पार्टी सभापति, पार्टी सचिव, उद्योग व्यवसाय संघका अध्यक्ष, आदिका तोकिएको भूमिका तथा कर्तव्यको परिधि अनि गोप्य तवरका व्यापारिक व्यावसायिक संलग्नताको सत्यता पनि आएको छ। हुन पनि आफूलाई खतरा व्यापारी हुँ भने पनि कर-राजस्व छल्ने, विभिन्न गैरकानूनी व्यापार व्यवसायमा लगानी गर्ने, कालोधन विदेशी offshore खातामा राख्ने टन्नै भी.आई.पी छन् वास्तवमै । paradise paper leaks मा आएको थियो यो कुरो केही समयपहिले । पोलिटिकल र इलेक्टोरल यथार्थ, भोट किनेर र जालझेल गरेर चुनाव जित्ने र झन् भ्रष्टाचार गर्ने, पद अनि शक्तिको दुरुपयोग गर्ने नेतामन्त्रीको कथा छ । मीठा सपना बाँडेर चुनावी रणमैदानमा भोटरलाई आफ्ना पक्षमा पार्ने तर चुनाव जितेपछि चैं माखो सम्झने नेताको चरित्र स्मरण आउँछ । यस्ता दृश्य अहिलेका वास्तविक परिस्थितिमा पनि मिल्ने गर्दछन्। मायाले पतिको अन्याय र अत्याचार सहन सक्ने हद पार गरेपछि मृत्युलाई अँगाल्ने विचार गर्छिन् । कुनै समयको साथी सागरसँग लामो समयपछि उनको पुनर्मिलन हुन्छ, र कथानकमा एउटा हत्यापछि दमदार अपर्झट मोड आउँछ ।

The Land of Hateful Salvation अर्थात् घृणा भूमिको स्वैर-काल्पनिक प्रसङ्ग कथानकमा आएपछि भने उपन्यासले राम्रै मोड लिन्छ । उक्त घृणाभूमिमा हुने विभिन्न घटना, माया, प्रेम, सद्भावको बदलामा सरकारी तहबाटै प्रोत्साहन गरिने घृणाजनित नरमांसभक्षिता तथा द्वन्द्वात्मक क्रूरताको प्रसङ्ग, बजारमा हुने नियमनसहितको अनेकौं प्रकारका नरमांसको माग र आपूर्ति अनि त्यहाँको चलन र मान्यता अनुसार चल्न नसक्नेलाई गरिने हिंसाजन्य दण्डसजायको प्रसङ्गले जिउ नै सिरिङ्ग सिरिङ्ग हुन्छ । उक्त भूमिमा मायाप्रेम, दया, करुणा, क्षमालाई कमजोरी मान्ने र अपराधकै दर्जा दिइने प्रसङ्ग छ । सुरुमा एउटा स्वर्ग जस्तै लागे तापनि भयानक नर्क, एक अर्कालाई काट्ने, मार्ने र घृणाको उपचार नरमांसभक्षितालाई सरकार र जनमानसले नै स्वीकार गर्ने परिपाटी तथा मासुको अभाव पूर्तिका निम्ति बालबालिकाको किनबेच, पर्यटकहरूलाई समाउने र जेलमा कोच्ने अनि अपहरण गरेर लैजाने दारुण चित्रण छ ।

डर, त्रास, पाश्विक बर्बरता अनि क्रूरताले उन्मुक्त रहेको समाजको दृश्य, मानव मांस खाने र विरोधीलाई ढुङ्गाले हानेर झैँ मार्ने, बालबच्चा र अन्य वयस्कलाई पनि मार्ने, शिकार खेल्ने र जबर्जस्ती प्रजनन गराउने सन्दर्भ छ । लेखकको कल्पना र एउटा छुट्टै संसार निर्माण गर्ने शैली र क्षमतालाई मान्नै पर्छ। मानव जति मानवीय छ त्यति नै दानवीय पनि छ । मान्छेभित्र हुने भावनात्मक क्षमता, समय र स्थितिलाई परिवर्तन अनुरूप अंगीकार गर्ने व्यवहारको ढाँचा र व्यक्तिगत स्वार्थ पूरा गर्नाका खातिर जुनसुकै हद-सीमा पार गर्ने कुराको प्रतिनिधित्व पाउँछौं उपन्यासमा । पाप र पुण्य अनि प्रायश्चितको सन्दर्भ पनि आएको छ कथानकमा । यति धेरै twists आउँछन् कि कुनै दामी थ्रीलर सस्पेन्स हेरेको झैं भान हुन्छ।

उपन्यासका कतिपय लाइनहरूलाई हाइलाइट गर्दै पढ्नुको मज्जा बेग्लै हुन्छ । प्रत्येक मान्छेभित्र लुकेर बस्ने दानवीय चरित्र, कुरुप पात्र अनि आफ्नो व्यक्तिगत अस्तित्व रक्षाका लागि जुनसुकै हद पार गर्न सक्ने सामर्थ्यको साबिती चित्र छ उपन्यासमा । प्रेम र विश्वास सर्वाधिक गर्नेहरू कसरी भावनाका दास बन्न पुग्दछन्, अधिक चिन्ता, तनाव र पीरका कारण लगभग अँगाल्नै लागेको मृत्यु-चिन्तन अनि कुनै पनि कुराको सीमित सीमा हुने वोध छ उपन्यासमा । धन ज्यादा कमाएपछि आफ्नो साख, शौख अनि ऐश्वर्यको वैभव प्रदर्शन गर्न भव्य पार्टीको आयोजना गर्ने भी.आई.पी मान्छेको पात्रता पनि राम्रैसँग चित्रण भएको छ । जिन्दगीमा आइपर्ने अनेक बाधाअड्चन एक्लै पार गर्न सम्भव नलाग्दा विश्वासिलो साइनो भएकाको दह्रो साथ र सकारात्मक सल्लाहसुझावको आवश्यकता पर्ने अर्को सन्देश पाइन्छ । पतिको परस्त्री-गमन र प्रताडनामा कारण तनाव, डिप्रेसन अनि अतिशय पीरको भुमरीमा पर्ने अभिभावकले मृत्यु-आत्महत्याको बाटोमा लाग्ने प्रण गरे तापनि आफ्ना सन्तानको माया र भविष्यको चिन्ताले दु:खै भए पनि बाँच्न सिकाउने कुरा छ । कथानकमा आएका कतिपय दृश्य परिस्थिति अहिले पनि कहिलेकाहीं हामीले समाचारमा पढ्दै सुन्दै आएका छौं ।

उपन्यास सकिँदासम्म कथानकले यति तानेको हुन्छ कि वर्तमान समयका मानिसमा पनि यस्तै चरित्र हावी भएको जस्तो लाग्छ । जस्तो कोरोनाकालमा सामूहिक रूपमा रोगीलाई निरुत्साहित गर्ने, स्वाब सङ्कलनका निम्ति आएका स्वास्थ्यकर्मीहरूलाई लखेट्ने र कुट्ने, बिरामी अस्पतालमा बितेको बखत डाक्टरनर्सलाई नै कुट्ने, कुनै दुर्घटना हुँदा साथ-सहयोग गर्नभन्दा टिकटक बनाउने र तमाशा हेर्ने, र अन्य हिंसात्मक खबरले मानवीय मानिस कतिसम्म गिरिरहेको छ भन्ने बताइरहेको छ । शङ्का उपशङ्काको जाल र दलदल, पैसाको लोभमा जे पनि गर्दिने र विपत्का बखत फाइद लिने जमातको कथा पनि छ । अनि विपत्, दु:खका बखत सहयोग दिने, व्यक्तिगत रुपमा चिनजान नभए पनि साथ दिने, हिम्मत नहार्न सल्लाह दिने र विनाकुनै स्वार्थ आश्रय दिनेहरूको नि कथा छ। यसरी बुझौँ न, मान्छे आफ्ना कर्तव्य र गतिविधिले देवतातुल्य बन्छ, र दानवतुल्य पनि । अझ आजको वैश्य युगमा त कहिलेकाहीँ मानव मानव नै बन्न पनि सकिरहेको छैन ।