पोखरामा प्रथम साहित्यिक महोत्सव सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय साहित्य समाजद्वारा निकेश गिरीको अध्यक्षता तथा रोशन तिमिल्सिनाको संयोजकत्वमा उक्त महोत्सव सम्पन्न भएको हो ।

महोत्सवको पूर्वसन्धयामा कविता प्रतियोगिता आयोजना गरि उत्कृष्ट ३ जनालाई महोत्सवमा वाचनको अवसर साथै नगद पुरस्कार वितरण गरिएको थियो । वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा विभिन्न सत्र चरणबद्ध सन्चालन भएको थियो ।

उद्धघाटनको पहिलो सत्रमा विश्वविद्यालयकै विद्यार्थीहरूको नृत्य , गायन एवम् साहित्यिक प्रस्तुति थियो। ‘जीवन र साहित्य’ नामक प्यानल छलफलमा वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठसँग दोस्रो सत्र सम्पन्न भएको थियो ।

चर्चित गजलकार प्रदीप रोदनको तेस्रो सत्रले दर्शक तथा श्रोताहरूको उर्जालाई सबैभन्दा उच्च बिन्दुमा पुर्‍याएको थियो। उहाँका मार्मिक र घतलाग्दा गजलहरू सामाजिक सञ्जालमा सुप्रसिद्ध छ्न् । उहाँको वाचनले उत्साहित भएका दर्शकहरूलाई ‘१० स्रष्टा , एक आँगन’ सत्रले थप उमङ्ग भरेको थियो। सो सत्रमा कवि , गजलकार तथा मुक्तककार गरी पोखराका १० साहित्यिक व्यक्तित्वहरूको प्रस्तुति थियो।

एक दिने महोत्सव भव्यताका साथ सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिई महोत्सवका सभापति निकेश गिरीले कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो ।

पोखरा विश्वविद्यालयको प्राङ्गणमा सम्पन्न भएको प्रथम साहित्यिक महोत्सव २०८१ पोख्रेली साहित्यिक जगतमै ऐतिहासिक बनेको दर्शकहरुको दाबी छ।