
काठमाडौं । नोबेल पुरस्कार विजेता चिनियाँ लेखक मो यानका १७ कथा र दुई उपन्यासिकासहित १९ आख्यानहरूको नेपाली अनुवाद कृति शनिबार नेपालय आरशालामा आयोजित समारोहमार्फत लोकार्पण गरिएको छ।
‘मो यानका कथा र उपन्यासिका’ लाइ सर्वोतम श्रेष्ठले अनुवाद गर्नुभएकाे हाे । प्रकाशन पब्लिकेसन नेपालयले गरेकाे छ । तीन सय १९ पृष्ठकाे पुस्तककाे मूल्य छ सय ७५ रूपियाँ रहेकाे छ ।
साहित्यकार अमर न्यौपानेले संस्कृतिविद् सत्यमोहन जोशीको सन्दर्भ सुनाउँदै भन्नुभयाे “मो यानले दन्त्यकथालाई वर्तमानसँग जोडेर लेख्छन्। नेपाली भाषामा उनका कृति आउनु सुखद् छ।”
साहित्यकार कुमार नगरकोटीले मो यानको लेखनलाई “म्याजिकल इम्याजिनेसन र लोककथात्मक शिल्पको अद्भुत मेल” भन्दै आफू हाल मो यानकै फ्यान भएको घोषणासमेत गर्नुभयाे ।
अनुवादक सर्वोतम श्रेष्ठले भन्नुभयाे “चिनियाँ ग्रामीण जीवन र नेपाली परिवेशबीच धेरै समानता छ। यिनै विषयमा लेखकको कल्पनाशीलता मिसिएर कथा जीवन्त बनाएका छन्।”
श्रेष्ठले चीनमा चिकित्सा शिक्षा लिँदै गर्दा चिनियाँ भाषासँगको लगाव विकास भएको बताउनुभयाे । उहाँले हालसम्म ६ वटा चिनियाँ कृति नेपालीमा अनुवाद गरिसक्नुभएकाे छ ।
नेपालयको परम्परा अनुसार एक विशेष व्यक्तित्वद्वारा पुस्तक उपहार दिनुहुने चलनमा अनुवादक श्रेष्ठले अग्रज साहित्यकार भुवन ढुंगानालाई पुस्तक समर्पण गर्दै उहाँसहित लेखक नगरकोटी र अनुवादक स्वयंले पुस्तक लोकार्पण गर्नुभएकाे थियाे ।
नेपालय सम्पादक विमल आचार्यले यसअघि प्रकाशित फणीश्वरनाथ रेणुको ‘सात सालको कथा’ को चर्चा गर्दै भन्नुभयाे “हामीले वैश्विक साहित्य, संगीत र दर्शन आदानप्रदान गर्नुपर्छ। मो यानको यो अनुवाद त्यही अभियानको अर्को खुड्किलो हो।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

