चेतनाथ आचार्य
chetnath@ymail.com

चेतनाथ आचार्य

सन् २०१२ मा विश्वको सबैभन्दा प्रतिष्ठित र उच्च साहित्यिक सम्मान नोबेल पुरस्कारले चिनियाँ लेखक मो यानलाई विभूषित गर्‍यो। साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने मो यान पहिलो चिनियाँ हुन्।
नोबेल पुरस्कार पाउनु अगाडि नै मो यान चर्चित भइसकेका थिए। उनका कृतिहरु विभिन्न भाषामा अनुदित भएका थिए। उनका कृतिबाट चलचित्र बनेर अन्तर्राष्ट्रिय पुरस्कार पनि जितिसकेका थिए।
सन् १९५५ मा चीनको सान्तोङ प्रान्तको काउमी गाउँमा जन्मिएका मो यानको खास नाम क्वान मोए हो। उनी सानैदेखि चतुर र बोलक्कड थिए। उनी कथा वाचनमा विशेष रुचि राख्थे। सांस्कृतिक क्रान्तिको समयमा धेरै बोल्नु हुँदै भनेर उनका बुबाले उनलाई मो यान भन्दथे। चिनियाँ भाषामा मो यान भनेको ‘नबोल’ भन्ने हुन्छ। आफ्नो बुबाले दिएको यही नामलाई नै उनले साहित्यमा प्रयोग गरे र विश्वमै चर्चित बने। त्यतिमात्र होइन उनले आफ्नो नामलाई परिवर्तन गरेर सक्कली नाम नै मो यान राखेका छन्। जुन नाममा किताब प्रकाशन भएको छ त्यही नाममा रोयाल्टी लिनु पर्ने भएपछि उनले आफ्नो नाम परिवर्तन गरेर मो यान राखेको अन्तर्वार्तामा बताएका छन्।
उनले लेखेका दर्जनभन्दा बढी कृतिहरु विभिन्न भाषामा अनुदित भएका छन् भने कतिपय कृतिबाट चलचित्र बनेर महत्वपूर्ण पुरस्कारहरु पनि हात पारिसकेका छन्। मूलत:सर्जकका आँखा सत्ता र शक्तिको विपरीत हुनुपर्छ भन्ने मान्यता मो यानको लेखन शैलीबाट पनि पुष्टि भएको छ। उनले चिनियाँ समाज, संस्कृति र राजनीतिभित्र रहेका नकारात्मक प्रवृत्तिलाई आफ्ना सिर्जनामार्फत उजागर गरेका छन्।
मो यान बाह्र वर्षको हुँदै सांस्कृतिक क्रान्तिको समयमा पढाइ छोडेर आफ्ना बुबासँगै कृषि पेशामा लागेका थिए। आर्थिक अवस्था कमजोर भएको हुनाले उनी पछि कारखानाका मजदुर बने र सन् १९७६ मा चिनियाँ जनमुक्ति सेनामा भर्ना भए। जागिरसँगै सेनाको आन्तरिक अध्ययनबाट उनले स्नातक गरे। सेनामा कार्यरत भएकै समयमा उनी साहित्यिक लेखनमा लागेका थिए।
उनले जनमुक्ति सेनामा सिपाहीको रूपमा कार्यरत रहँदा सन् १९८७ मा रातो जुनेलोघारी (Red Sorghum) उपन्यास लेखे। जापानले चीनमाथि गरेको आक्रमणको विषयमा लेखिएको यो उपन्यासबाट चलचित्र बनेर चर्चित बनिसकेको छ। उनले सेनाबाट अवकाश लिएपछि पैचिङ विश्वविद्यालयबाट स्नातकोत्तर गरे। मो यानका बहुचर्चित अन्य उपन्यासहरुमा लसुनको सवाइ (The Garlic Ballads),तेर्‍ह पाइला (Thirteen Steps),शाकाहारी परिवार (The Herbivorous Family), ठूला स्तन र चौडा नितम्ब (Big Breasts and wide Hips), रक्सीको गणतन्त्र (The Republic of Wine), रातो जङ्गल (Red Forest), चन्दनको मृत्यु (Sandalwood Death) लगायत अन्य थुप्रै कृति रहेका छन्।
यस आलेखमा मोयानको उपन्यास ‘जीवन र मृत्युको दोसाँधमा’ (Life and Death wearing me out)को समालोचना गर्ने प्रयास गरेको छु।
मो यानद्वारा लिखित ‘जीवन र मृत्युको दोसाँधमा’ उपन्यासमा सन् १९५० देखि सन् २००० सम्मको समग्र चिनियाँ समाजको कलात्मक वर्णन गरिएको छ। सन् १९४९ अक्टोबर १ मा नयाँ चीन स्थापना भएपछिको चिनियाँ समाज,संस्कृति,विकास र आरोहअवरोहको शूक्ष्म विश्लेषणका साथै चिनियाँ समाजमा विकसित सकारात्मक र नकारात्मक प्रवृत्तिको साङ्गो पाङ्गो लेखाजोखा पनि हो यो उपन्यास। लेखकले यो उपन्यासमार्फत चिनियाँ समाजका लुकेका कुरालाई दर्पण छायाजस्तै छर्लङ्ग बनाइदिएका छन्। पाँस सय चालीस पृष्ठको यो उपन्यास उनले ४२ दिनमा लेखेको बताएका छन्।
चीनको सान्तोङ प्रान्तमा पर्ने उत्तर काउमी नगरबाट उपन्यास शुरु भएको छ। यो नगर नै उपन्यासकार मो यानको जन्मस्थान पनि हो। काउमी क्षेत्रको सिमन गाउँबाट फक्रिएको उपन्यास सान्तोङ प्रान्त हुँदै चीनको राजधानी पैचिङ अनि सिआनसम्म फैलिएको छ। चिनियाँ क्रान्तिपछि ग्रामीण क्षेत्रमा भएको विकास, कम्युन र सहकारी मार्फत जग्गाको अधिग्रहण र सार्वजनिक खेतीपातीको व्यवस्थाबाट समाजवादको व्यावहारिक प्रयोगसँगसँगै देखिएका नकारात्मक पक्षलाई समेत उपन्यासले समेटेको छ। उपन्यासले काउमी गाउँ कसरी सहरी क्षेत्रमा रुपान्तर भयो भन्ने कुरालाई रौँचिरा केलाएको छ।
उपन्यास मूलत:पाँचभागमा वर्गीकृत छ। काउमीमा जन्मिएका एकजना जमिन्दार सिमन नाओलाई क्रान्तिको सयममा मृत्युदण्ड दिइन्छ। आफू अनाहकमा मारिएको भन्दै उसले भगवानसमक्ष पुनर्जन्मका लागि प्रार्थना गर्छ र भगवानले उसलाई पहिले गधा त्यसपछि गोरु हुँदै सुँगुर, कुकुर र बाँदरको रुपमा पुनर्जन्म गराइदिन्छन्।
उपन्यासको सुरुमा गधाले भोगेको जीवनलाई राखिएको छ जहाँ गधा आफैँले घटनालाई वाचन गर्छ। तत्कालीन अवस्थामा कम्युन र सहकारी निर्माण गरेर विकास निर्माण तीब्र गतिमा बढाइएको कुरासँगै युवा पुस्तामा जनमुक्ति सेनामा लाग्न पाउनु गौरव मान्दै विना सोचका कारण कतिपय दुर्घटना निम्तिएको विषय स्वस्फूर्त रुपमा उपन्यासले समेटेको छ।
उपन्यासमा काउमीको सिमन गाउँका जमिनदार सिमन नाओ सुरुदेखि अन्तसम्म देखा पर्छ। उसले मानव शरीरमा नभएर विभिन्न जनावरको शरीरमा जन्म लिएकाले सबैलाई चिन्छ तर उसलाई कसैले पनि चिन्दैन। सिमन नाओको मृत्युपछि उसकी रखौटी घरकै नोकरसँग बिहे गरेर बसेको जनावरको रुपमा जन्मिको उसले देख्छ। सिमन नाओ र श्रीमती सिमन पाईका कुनै सन्तान थिएनन्। सिमन नाओले यिङ छुन र ऊ छयौस्याङ नामका दुईजना रखौटी राखेको थियो। रखौटी यिङ छुनबाट एउटा छोरा सिमन चिङ्लोङ र एउटी छोरी सिमन पाओफेङ जन्मिएका थिए। सिमन नाओले निलो अनुहार भएको एउटा केटालाई मन्दिरमा भेटेर ल्याएको थियो। चिनियाँ भाषामा निलो रङलाई ‘लान’ र अनुहारलाई ‘लियान’ भनिन्छ। निलो अनुहार भएकै कारणले भेटिएको केटाको नाम ‘लान लियान’ राखिन्छ।
सन् १९४९ को क्रान्तिमा सिमन नाओ मारिएपछि उसकै घरमा रहेको नोकर लान लियानले रखौटी युन छुनसँग बिहे गर्छ। त्यही रखौटी र नोकरको घरमा गधाको रुपमा सिमन नाओको पहिलो पुनर्जन्म भएको हुन्छ।
चीनमा सांस्कृतिक क्रान्ति सुरु हुनुभन्दा अगाडिको पीडालाई ‘गधाले भोगेको दुःख’ बिम्बका रुपमा उपन्यासमा गधा आफैँले वर्णन गर्छ। गधाको जीवनी उपन्यासको पहिलो खण्ड हो। तत्कालीन चीनका जनताले भोगेको दु:ख, गर्नु परेको संघर्ष र समाजवादी चीनको पहिलो चरणको कारुणिक अवस्थालाई मिठो र मर्मस्पर्शी कथाको कथाबाट छर्लङ्ग प्रष्ट्याइएको छ।
खुट्टा भाँचिएर घाइते गधालाई स्थानीयले काटेर खाएपछि सिमन नाओको दोस्रो पुनर्जन्म गोरुका रुपमा हुन्छ। गोरुको जीवनी उपन्यासको दोस्रो खण्ड हो। गोरुको जीवनी पनि सांस्कृतिक क्रान्ति सुरु हुनुभन्दा पहिलेको चिनियाँ समाजको चरित्रचित्रण हो। गधा र गोरुको जीवन सबैभन्दा पीडादायी रुपमा उपन्यासमा व्याख्या हुनु नै त्यो समयमा चिनियाँ विकासका लागि जनताले भोगेको दु:खको दस्तावेज हो भन्ने कुरा पुष्टि हुन्छ।
उपन्यासको चौथो भागमा सिमन नाओ सुँगुरको रुपमा जन्मन्छन्। सांस्कृतिक क्रान्तिताका चीनमा उत्पादन ब्रिगेड सुरु भएको र जनमिलिसियाले कृषि तथा पशुपालनमा सहकारी मार्फत राम्रो प्रगति हासिल गरेको कुरा उपन्यासले व्यक्त गरेको छ। सुँगुरपछि कुकुरको रुपमा पुनर्जन्म भएको भाग उपन्यासको चौथो भाग हो, जतिबेला चीनमा सुधार र खुलापनले प्रवेश पाएको हुन्छ। निजी क्षेत्रको भूमिकालाई स्वीकार्दै अधिग्रहण गरिएका जग्गाजमिन चाहेमा कृषकले फिर्ता लान सक्ने नीति अवलम्बन हुँदै चीनले अन्तर्राष्ट्रिय स्तरको विकास अँगाल्छ।
कुकुरपछि बाँदरको पुनर्जन्म पुस्तकको पाँचौ तथा अन्तिम खण्ड हो। यस खण्डलाई लेखकले उपन्यासको थालनी भनेर उल्लेख गरेका छन्। बाँदरको मृत्यसँगै सिमन नाओ ठूलो टाउको भएको बालकको रुपमा सन् २००० जनवरी १ तारिखमा शताब्दी पुरुषको रुपमा जन्मन्छन्। एक्काईसौँ शताब्दीमा चीनले गरेको आर्थिक विकास नै ‘ठूलो टाउको भएको बालक’ हो जुन दिनदिनै बढ्दै गएको प्रतीकको रुपमा उपन्यासमा प्रयोग भएको छ।
उपन्यासमा पात्रहरुले अनौठो ढङ्गबाट कथा वाचन गरेका छन्। सिमन नाओले पुनर्जन्म लिएको गधा, सुँगुर र कुकुरले आफैँ कथा सुनाउँछन्। उनीहरुले आफूले भोगिरहेको कुरा वाचन गरेर पाठकलाई तत्कालीन चिनियाँ समाजको समाजशास्त्रीय संरचनाको ऐना देखाएका छन्। त्यसैगरी उपन्यासमा घटनाक्रमलाई वर्णन गर्न ‌लान चाइफाङ उपस्थित भएका छन्। उपन्यासका विभिन्न भागमा एउटा लेखक र साहित्यकारको प्रसङ्ग उल्लेख गरिएको छ,त्यो साहित्यकार तथा लेखकको नाम पनि मो यान नै हुन्छ। उपन्यासकारले आफूलाई पनि एउटा पात्रका रुपमा उपन्यासमा उभ्याएका छन्। फरक के छ भने मो यानको खास उमेरभन्दा र उपन्यासमा देखिएको पात्र मो यानको उमेर पाँच वर्ष जेठो छ।
उपन्यासमा सिमन नाओले बारम्बार पुनर्जन्म लिए पनि मुख्य पात्र ऊ होइन। उपन्यासका मुख्य पात्र उसकै धर्मपुत्र लान लियान हो जो नयाँ चीन स्थापना भएको आधा शताब्दीसम्म कम्युन र सहकारीमा सहभागी नभइकन स्वतन्त्र किसानका रुपमा रहन्छ। लान लियानलाई समाजवादी चीनको यात्रामा एउटा अवरोधका रुपमा स्थानीयले लिएका हुन्छन्। उसलाई कम्युन र सहकारीमा आवद्ध हुन बारम्बार दवाव दिइन्छ। यो दवाव उसकै छोराले दिँदा पनि ऊ दृढताका साथ स्वतन्त्र किसानको पक्षमा उभिन्छ। उपन्यासको सुरु र मध्यभागमा उसलाई झण्डै झण्डै खलनायकको रुपमा उभ्याइएको छ। तर पाठकबाट उसले कहिल्यै पनि घृणा पाउँदैन। जब उसको मृत्यु हुन्छ तब उसले सबैभन्दा बढी सहानुभूति प्राप्त गर्छ। उसले आफ्नो मृत्यु हुनुपूर्व नै आफ्नो लासलाई कुनै सार्वजनिक समाधिस्थलमा नभई आफूले कमाउँदै आएको डेढ एक्कड जमिनमा चिहान खनेर गाड्नुपर्ने इच्छा राखेका हुन्छ। उसको यो अडानले पनि एउटा स्वतन्त्र र निर्भिक किसानको प्रतिनिधि दर्साइएको छ। लान लियानपछिको अर्का प्रमुख पात्र उसकै कान्छा छोरा लान चिफोङ हो। लान लियानको जस्तै उसको छोरा लान चिफोङको अनुहारमा पनि वंशाणुगत गुण सरेको हुन्छ। उपन्यासमा घटनालाई सबिस्तार वर्णन गर्ने एक मात्र मानव पात्र लान चिफोङ हो।
‘जीवन र मृत्युको दोसाँध’मा एउटा विशुद्ध साहित्यिक उपन्यास हो। मो यानले उपन्यासको मियोमा चिनियाँ रहनसहन, रीतिरिवाज, संस्कृति, समाज, राजनीति र अर्थ व्यवस्थालाई घुसाएका छन्। चिनियाँ परम्परा अनुसारको चाडपर्व र नयाँ चीन स्थापनापछि चिनियाँ जनताले चिनियाँ चरित्रको समाजवाद निर्माण गर्नका लागि गरेको प्रयास एउटा परिवार तथा गाउँसमाजका पात्र मार्फत उपन्यासमा व्यक्त गरिएको छ। यो उपन्यास हो तसर्थ पाठकले रुचि मानेर पढ्छन्। तर कृति पढिसकेपछि उपन्यासको रसमा चिनियाँ संस्कृति र इतिहासका बारेमा पाठकले राम्रो ज्ञान प्राप्त गर्छन्। उपन्यासमा चिनियाँ समाजलाई जस्ताको तस्तै चित्रण गरिएको छ।
जनमुक्ति सेनामा जागिर खाएर सेवा निर्वृत्त भएका मो यानले चिनियाँ समाजमा भएका राम्रा मात्र नभई नराम्रा कुरालाई पनि संसारभर उजागर गरेका छन्। फलत:उनले थुप्रै चिनियाँ लेखक, बुद्धिजीवी र पाठकबाट आलोचित हुनु परेको छ। त्यसैगरी समाजमा भएको राजनीतिक, आर्थिक, सांस्कृतिक र पारिवारिक विकासलाई पचासवर्षको लामो अवधिमा सविस्तार वर्णन गरेर विशुद्ध साहित्यिक कृति सिर्जना गर्नु मो यानको अद्वितीय क्षमता हो। मो यानका उपन्यास बुझ्नका लागि चिनियाँ समाज,चिनियाँ राजनीतिक परिपाटी र चिनियाँ इतिहासको धेरथोर अध्ययन गरेकै हुनुपर्छ।
उपन्यासमा गधा, सुँगुर र कुकुरले आफ्ना अनुभूतिहरु व्यक्त गर्दा स्वैरकाल्पनिक घटना सिर्जना भएको छ। कुकुरले सभा गरेको, अध्यक्ष छानेको, सुँगुरले पानीमा डुबेका ससाना बालकहरुलाई उतारेको, गोरुले कहिले दुईवटा खुट्टा मात्र टेकेर हिँडेको त कहिले टाउको टेकेर उभिण्डो परेको जस्ता स्वैरकाल्पनिक कुराले उपन्यासलाई केही हदसम्म अस्वभाविक बनाइदिएको छ। उपन्यास पढ्नका लागि चिनियाँ भाषाको उच्चारण पद्धति र पारिवारिक परिपाटीका बारेमा केही जानकारी राख्न आवश्यक छ। एउटा मात्र वर्णको फरकले पात्र नै फरक पर्छ। पढ्दै जाँदा पात्रका नाममा भएको सूक्ष्म फरकले गर्दा यदाकदा दुविधा पनि पैदा गराउँछ।
मो यानले चीन जस्तो विशाल मुलुकले पचास वर्षको अवधिमा भोगेका सालाखाला कुरालाई कलात्मक रुपमा पस्किएका छन्। उपन्यास पढिसकेपछि मात्र उपन्याससँगसँगै चीनको इतिहास पनि पढेको अनुभव हुन्छ। उपन्यासमा सबै पात्रमाथि सर्जकले समान न्याय गरेका छन्। सबैका दोष र गुणलाई जस्ताको तस्तै राखेर पात्र विशेषप्रति दयाभाव प्रकट गरेका छैनन्। उपन्यास पढिसकेपछि पाठकलाई चिनियाँ समाज, संस्कृति, चिनियाँ अर्थव्यवस्था, राजनीतिक परिपाटी र चिनियाँ भाषाको अध्ययन गर्न मन लाग्छ।
नयाँ चीन स्थापनापछि सन् १९५० देखि १९६५ सम्म चिनियाँले गर्नु परेको परिश्रम, पूँजीवादी परिपाटीबाट समाजवादी परिपाटीमा रुपान्तरण हुँदाको समस्या, जमिनको अधिग्रहण, कम्युन र सहकारीको स्थापना, जनमिलिसियाको सक्रियतालाई सीमित श्रोतबाट गर्नु परेको विकास जनश्रमदानबाट विकासका पूर्वाधार निर्माण लगायतका विषयले पाठकलाई तानेर घटनास्थलमै पुर्‍याउँछ।
एउटा मान्छेका पुनर्जन्म विभिन्न जनावरका रुपमा हुनु भनेको नै प्रतीकात्मक रुपमा तत्कालीन अवस्थामा चिनियाँले गरेको परिश्रमलाई उजागर गर्नु हो। सन् १९६६ देखि १९७६ सम्म भएको चिनियाँ सांस्कृतिक क्रान्तिमा भएका उग्र घटनासँगै चिनियाँहरुमा देखा परेको नयाँ शैली र व्यवहारलाई एउटै परिवारमा भएको घटनामार्फत उपन्यासले प्रष्ट्याएको छ। हरेक घटनाका लागि फरक पात्र उभिएका छन् र घटनालाई पुष्टि गरेका छन्।
सांस्कृतिक क्रान्तिको समयमा चीनमा ख्याति कमाएका खालीखुट्टे चिकित्सकदेखि जनमिलिसिया हुँदै चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन अनि चिनियाँ राष्ट्रिय जनकंग्रेससम्मको वर्णन उपन्यासमा गरिएको छ।
सन् १९८० पछि चीनमा देखिएको सुधार र खुलापनको विकाससँग चीनले अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय कमाएको र अन्तर्राष्ट्रिय संस्कृतिले चीनमा प्रवेश पाएको कुरा उपन्यासमा क्रमिक रुपमा आएका छन्। एउटा सानो खोल्सो अन्य खोल्साहरुमा मिसिँदै मिसिँदै ठूलो नदी बन्ने र त्यो ठूलो नदी अन्तत समुन्द्रमा समाहित भएजस्तै उपन्यास एउटा सानो गाउँको एउटा किसान परिवारबाट थालनी भएर विशाल चीनभरि फैलिएको छ। उपन्यासका हरेक अंश, हरेक पृष्ठ र हरेक वाक्य उत्तिकै महत्वपूर्ण छन्। उपन्यासले चीनको पचास वर्षको इतिहासलाई सारांश गरेको छ।
बीसौँ शताब्दीको अन्ततिर चीनले आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सफलता प्राप्त गर्न सफल भएसँगै चिनियाँ नयाँ पुस्तामा आएको भड्कावलाई मो यानले आफ्नो उपन्यासमा सविस्तार वर्णन गर्न कन्जुस्याइ गरेका छैनन्। सन् १९८५ पछि जन्मिएका व्यक्तिहरुमा देखिएको स्वच्छन्दता, आधुनिता र विश्वमा देखिएको उत्तरआधुनिक छलाङले चिनियाँ नयाँ पुस्तालाई गाँजेको कुरा प्रात्रको चरित्रचित्रण र घटनाले सूचित गराएका छन्।
पछिल्लो समयमा चीनमा छाएको भ्रष्टाचार, पद र पैसाको दुरुपयोग अनि धनी र गरीबबीचको दुरी विस्तारलाई उपन्यासमा सरल र सहज तरिकाले प्रवेश गराइएको छ। धनी व्यापारीका छोराछोरी र कम्युनिष्ट पार्टीको विभिन्न तहका नेताहरुका छोराछोरीमा शक्ति र पैसाको घमण्डले भविष्य वर्वाद बनाएको कुरालाई पनि मो यानले निर्धक्क प्रस्तुत गरेका छन्।
युवा पुस्ताले पैसा र यौनलाई मात्र प्राथमिकता दिने, मदिरापान तथा धुमपानको कुलतमा लाग्ने र परिवार तथा सांस्कृतिक विखण्डनतिर गएको कुरालाई उनले संकेत गरेका छन्। तसर्थ यो उपन्यासलाई चीनको लुकेको तस्बिर भन्दा अत्युक्ति हुँदैन।