
अन्जना तिमल्सेना
तनहुँ । ‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नाराका साथ गण्डकी प्रदेश आख्यान महोत्सव दमौलीमा सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँको सहआयोजनामा शनिबार आयोजित महोत्सवमा गण्डकी प्रदेशका १० जिल्लाका आख्यानकारहरूको सहभागिता रहेको थियो। मनाङ जिल्ला बाहेक अन्य सबै जिल्लाका साहित्यकारहरूको प्रतिनिधित्व उक्त महोत्सवमा देखिएको थियो।
नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख अमर न्यौपानेको अध्यक्षतामा सम्पन्न महोत्सवमा गण्डकी प्रदेशको आख्यानको इतिहास, आख्यानको आविष्कार, नलेखिएका कथा, पाँच कथाकारका पाँच कथा र ‘मर्यादा’ नामक नाटक प्रस्तुत गरिएको थियो। डा. षणानन्द पौडेलले गण्डकी प्रदेशको आख्यानको इतिहासबारे प्रवचन दिनुभएको थियो भने उक्त प्रवचनमाथि व्यास अध्येता काशीनाथ न्यौपाने, साहित्यकार अम्बिका भट्टराई लगायतले जिज्ञासा राख्नुभएको थियो ।
महोत्सवको दोस्रो चरणमा ‘आख्यानको आविष्कार’ विषयक बहस भएको थियो। प्राध्यापक डा. अशोक थापाले सहजीकरण गरेको उक्त बहसमा अमर न्यौपाने, प्रभा बराल, गणेश पौडेल, बन्धुराज अधिकारी लगायतले आख्यानको सैद्धान्तिक पक्ष र परम्पराबारे आफ्नो धारणा राख्नुभएको थियो। तेस्रो चरणमा ‘नलेखिएका कथा’ विषयक कार्यक्रममा रूपेन्द्र प्रभावी कटु, अन्जना पौडेल, नारायण मरासिनी, विद्या ढकालले समाजका नलेखिएका कथाहरू उजागर गर्नुभएको थियो ।
चौथो चरणमा रमेशचन्द्र घिमिरे, देवी बहादुर बस्नेत, अजयमिलन श्रेष्ठ, टुकादेवी आचार्य, भीम रानाभाटले हाउभाउसहित कथा वाचन गर्नुभएको थियो । मुस्ताङका साहित्यकार बसन्त शेरचनले उक्त कथाहरूमाथि प्रतिक्रिया दिनुभएको थियो । अन्तिम चरणमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले ‘मर्यादा’ नामक नाटक मञ्चन गरेको थियो।
कार्यक्रममा प्रतिष्ठानका गद्य विभाग प्रमुख अमर न्यौपानेले नलेखिएका कथाहरू खोज्न प्रतिष्ठान विभिन्न प्रदेश तथा जिल्लामा पुगेको बताउनुभयो । उहाँले नेपाली साहित्य र लोपोन्मुख भाषा संरक्षणका लागि प्रज्ञा प्रतिष्ठानले विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरिरहेको जानकारी दिनुभयो । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष बालहरी अधिकारीले कार्यक्रम सञ्चालन गर्नुधएको थियो भने दिवाकर भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

