काठमाडौँ । पत्रकार लक्ष्मण वियोगीको पहिलो कथासंग्रह ‘सत्यम्’ को लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित एक कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो। यस संग्रहमा वियोगीले १५ वटा मार्मिक कथालाई समेट्नुभएकाे छ ।

साहित्यकार अनुपमा रेग्मीले पुस्तकको समीक्षा गर्दै यसमा युद्ध, प्रेम र पर्यावरणलाई मुख्य विषयवस्तुका रूपमा समेटिएको बताउनुभयाे । उहाँले स्याङ्जा, अछाम र बर्दिया आसपासका क्षेत्रलाई कथाको परिवेश बनाइएको उल्लेख गर्दै लेखका शीर्षकहरू प्रतीकात्मक रहेको र पात्रहरूको भित्री संवेदनालाई निपुणतापूर्वक चित्रण गरिएको बताउनुभयाे । रेग्मीले वियोगीले ग्रामीण परिवेशलाई आलङ्कारिक भाषा, स्थानीय लवज र थारू तथा गुरुङ समुदायको भाषा प्रयोग गरी यथार्थपरक ढङ्गले प्रस्तुत गरेको विश्लेषण गर्नुभयाे ।

अर्का साहित्यकार डा. अशोक थापाले ‘सत्यम्’ मा समाजको तल्लो वर्गको संघर्ष, निम्छरो र उपल्लो वर्गबीचको अन्तर, वैदेशिक रोजगार र त्यसको प्रभाव, महिलाहरूको दैनिकी र मौन विद्रोह, बालश्रम, मृत्यु, बाल्यकालको स्मृति, परिवर्तन र विद्रोहका नाममा भइरहेका गतिविधि तथा सांस्कृतिक मूल्यमान्यताका विषय समेटिएको बताउनुभयाे । उहाँले गुरुङ भाषाका शब्दहरूको उल्लेखनीय प्रयोग र गीत भजनको समावेशलाई पनि प्रशंसा गर्नुभयाे ।

साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले यस संग्रहमा समसामयिक युवा पुस्ताको रुचिमा पर्ने खालका कथाहरू समेटिएको उल्लेख गर्दै लेखक वियोगीलाई साहित्य यात्राको शुभकामना दिनुभयाे ।

लेखक वियोगीले आफ्नो पुस्तक सार्वजनिक हुनुमा आफूले नसोचेको बाटो हिँडेर एउटा विसौनीमा आइपुगेको अनुभव सुनाउँदै ‘सत्यम्’ ले आफूलाई चिनाओस् भन्ने आशा व्यक्त गर्नुभयाे। कार्यक्रममा प्रमुख अतिथि साहित्यकार प्रा.डा. दयाराम श्रेष्ठले वियोगीलाई साहित्य जगतमा स्वागत गर्दै दीर्घकालीन साहित्यिक यात्राको कामना गर्दै सार्थक र जीवन्त कथा लेखनमा जोड दिनुभयाे।

पेज टर्नरले प्रकाशन गरेको यस पुस्तकको मूल्य चार सय ५५ रुपियाँ तोकिएको छ।