लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम् प्रकाशनमा आएको छ’ । ‘ऊर्जा खबर’को सम्पादक समेत रहनुभएका वियोगीको यो पहिलो साहित्यिक कृति हो ।

कथासङ्ग्रह ‘सत्यम्’लाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो । प्रकाशकका अनुसार कृतिमा वियोगीले आफ्ना कथाहरूमा विशेषगरी पश्चिम नेपाल गण्डकी पानीढलो, स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्यका तथा माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली समाजका अनेक पाटालाई उत्खनन् गरेका छन् ।

यथार्थवादी धारका कथाहरूमा सामाजिक विभेद, असमानता तथा जनयुद्धका त्रासदी समेटिएका छन् । बालवयका स्वरलहरीमा मिसिएर आएका अनेक लोकभाकाका मुर्च्छना र लोकसंस्कृतिको सुगन्ध पनि पाइन्छ । स्याङ्जाको टाकुरामा टेकेर उडेका भावना मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वतिरसमेत डुल्न भ्याएका छन् । पर्यावरणीय चेत र वस्तुवादी धार कथाका मुख्य सार हुन् ।

कथासङ्ग्रहको लोकार्पण जेठ २४ गते, शनिबार एक समारोहका बीच नेपाल प्रज्ञा प्रतिष्ठान गरिने प्रकाशन गृहका कार्यकारी निर्देशक जयराम तिमिल्सिनाले जनाउनुभयो ।

करीब २ दशकदेखि पत्रकारितामा सक्रिय लक्ष्मणसँग नागरिक दैनिकको आर्थिक ब्यूरोमा रहेर पाँच वर्ष पत्रकारिता गरेका अनुभव छ । हाल उहाँ ऊर्जा सम्बन्धी नेपालको पहिलो अनलाइन पत्रिका ‘ऊर्जा खबर’को सम्पादक हुनुहुन्छ ।

साहित्य लेखनमा विशेष रुची राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउनुहुन्छ । ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’मा उहाँको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो । त्यस्तै, ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’को पहिलो संस्करणमा उहाँको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो ।