काठमाडौँ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०८१ सालको उत्तम शान्ति पुरस्कार ‘अक्षत अन्टार्कटिका’का लेखक जीवा लामिछानेलाई प्रदान गरेको छ।
एक लाख रुपैयाँ राशिको यो पुरस्कार एक समारोहबीच हस्तान्तरण गरिएको हो। २०४४ सालदेखि निबन्धकार उत्तम कुँवर र उनकी पत्नी शान्ति कुँवरको स्मृतिमा गैरआख्यान विधाका उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गर्दै आइएको छ।
लेखक नयनराज पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे भने समालोचक ज्ञानु पाण्डेले ‘अक्षत अन्टार्कटिका’को प्रशंसा गर्दै यसलाई केवल यात्रा संस्मरण मात्र नभई नेपाली साहित्यमा ज्ञान, विज्ञान र पर्यावरणको कथा भएको बताउनुभयाे । उहाँले पुस्तकमा कल्पना र यथार्थको नजिकता, जोखिम मोल्ने निडरता र जीवन्त लेखनशैलीको प्रशंसा गर्नुभयाे ।
कार्यक्रममा लेखक पद्यमावती सिंहले मदन पुरस्कार विजेता रुपरेखाका सम्पादक तथा निबन्धकार उत्तम कुँवर र शान्ति कुँवरको बारेमा चर्चा गर्नुभयाे भने लेखक तथा समालोचक वासुदेव त्रिपाठीले पनि उत्तम कुँवरको योगदानको प्रशंसा गर्नुभयाे ।
पुरस्कार चयन समितिका अध्यक्ष डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले ‘अक्षत अन्टार्कटिका’ले नवीन सोच, रोचक शिल्प र नयाँ शैलीका साथ अन्टार्कटिकाको रोमान्चक यात्रावृत्तान्त प्रस्तुत गर्दै विश्वकै सरोकारको विषय बनेको पर्यावरणलाई सशक्ततापूर्वक बहसको विषय बनाएको बताउनुभयाे । यसै आधारमा लामिछानेलाई पुरस्कृत गरिएको उहाँले स्पष्ट पार्नुभयाे ।
उत्तम शान्ति पुरस्कार वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथा लगायतका आख्यानमुक्त गद्य विधाका उत्कृष्ट गैरआख्यानात्मक कृतिलाई प्रदान गरिँदै आएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

