
हामी घुमन्ते प्राणी !
हामीले चिनेका जीवा लामिछानेका थुप्रै विशेषताहरू छन् । एउटा हो, उहाँको यात्राप्रतिको अगाध प्रेम ।
डुल्न मलाई पनि निकै मन पर्छ । विगतका धेरै वर्षदेखि देशविदेश डुली नै रहेको छु । यही घुम्ने र डुल्ने क्रममा घुम्ने मान्छे धेरै भेटेको छु तर जीवा लामिछाने जति घुम्ने मान्छे मैले अर्को देखेको छैन । उहाँको यात्राप्रतिको अभिलाषा जुनूनको रूपमा परिचित छ ।
एक पटक, म डुल्दै घुम्दै उहाँको कर्मक्षेत्र फ्र्याङ्कफर्ट पुगेको थिएँ, सरूभक्त श्रेष्ठ र श्रीओम श्रेष्ठ रोदनलाई लिएर । जीवा भाइले एक पूरै दिन हामीलाई घुमाउनु भयो । त्यो घुमाइमा मैले उहाँको घुमाइ मानसिकता, सहयोगको भावना, यात्रा मनोविज्ञान र आस्थाबारे थोरबहुत अध्ययन गर्ने अवसर पाएको थिएँ । उहाँका दुई कृति ‘सरसर्ती संसार’ र ‘देश देशान्तर’ दुवै पुस्तक उहाँको अनवरत घुमाइका प्रतिबिम्ब हुन् । जीवा लामिछानेका यात्रा भौगोलिक विवरणमा मात्र सीमित हुँदैनन्; तिनले चेतनाको क्षितिज पनि फराकिलो बनाउँछन् ।
अङ्ग्रेजी साहित्यको विद्यार्थी भएकाले शेक्सपियरको देश पुग्ने रहर जागेको थियो मलाई । त्यही रहरले सन् २०१३ मा बेलायत पुर्यायो । वाल्ट ह्विटम्यान, मार्क ट्वेन, एड्गर एलन पो, इमिली डिकिन्सन, हेमिङ्ग्वेहरूका कृतिहरू पढ्दा अमेरिका जाने इच्छा जागेको थियो; सन् २०१६ मा पुगेँ पनि । जीवा भाइको ‘देश देशान्तर’मा एउटा रोचक अध्याय छ – ‘कङ्काल सम्याएर उभिएको विकाश’ – यो उहाँको तान्जानिया भ्रमणमा आधारित समीक्षात्मक अनुभव र अनुभूति वर्णन हो । त्यो पढ्दै गर्दा मलाई पनि एक पटक तान्जानिया पुग्नु पर्छ भन्ने विचार नपलाएको होइन तर विचार पलाउँदैमा यात्रा सम्भव हुँदैन भन्ने यथार्थबोध भयो । धोको मनमै रह्यो ।
‘उत्तरी ध्रुव और दक्षिणी ध्रुव पृथ्वी के दो छोर हैं और यहाँ पर बहोत ठण्ड पडती है । यहाँ ६ महीना दिन और ६ महीना रात होता है ।’ – अन्टार्कटिकाबारे ४/५ कक्षाको भूगोलको पाठ्यपुस्तकमा यति मात्र पढेको थिएँ ।
म त भारतमा जन्मेको, भारतमै पढेको । पाठ्यक्रम पनि सोही स्तरको थियो । पछि पृथ्वीको दुवै छोरमा मान्छे पुग्ने गरेका छन् भन्ने पनि सुनियो, पढियो तर त्यहाँ पुग्ने रहर कहिलै जागेन; यो सत्य हो । यो पनि सत्य हो कि ‘अक्षर अन्टार्कटिका’को पृष्ठ ९ मा जीवा भाइले हामफाल्नु अघिको मानसिक द्वन्द र द्विधाको विवरण पढ्दा मेरो मनमा प्रश्न उठेकै हो – ‘म के गर्ने थिएँ होला ?’ अनि आफैँले आफैँलाई भने – अबे तँ पुग्दै पुग्दैनस् ! तँलाई त हामफाल्नै पर्दैन, बे । छोड यी बकम्फुसे कुरा ।’ बेलिबिस्तार मिल्दोजुल्दो थियो ।
जीवाले लेखेका छन् – “अन्ततः मनभित्रका सारा अन्तर्द्वन्द्व पन्छाएर म झ्वाम्म हामफालेँ । बर्फिलो पानीले मेरो सर्वाङ्गमा करेन्ट लागे जस्तो भयो । पछि भिडियोमा हेर्दा देखें, मैले हामफालेपछि वरिपरि सानोतिनो छाल नै उठेको रहेछ ।” (पृष्ठ – ९)
अब उमेरको यो मोडमा आइपुग्दा म ढुक्क छु – मलाई अन्टार्कटिका पुग्नै परेन, हामफाल्नै परेन । कारण ‘अक्षर अन्टार्कटिका’का पानाहरूमा हराउँदा आफैँ अन्टार्कटिकामा पुगेर प्लन्ज गरेको अनुभूति भयो, डर लाग्यो, मुटु चिसो भयो, सात दशक पार गरेको यो ज्यान थरथर काम्यो पनि । अनि, एकछिनको स्वैरकल्पनाबाट बाहिर निस्किँदा एक किसिमको अनौठो आनन्द प्राप्त भयो ।
फेरि पनि, यहाँ एउटा प्रसङ्ग चाहिँ जोड्ने चाहेँ – पुस्तकको पृष्ठ ८ मा ६९ वर्षे हेसेनको भनाइ छ, “किन डराउने ? केही तलबितल परिहाले पनि एय्याआत्था गरेर धेरै छटपटाउने समय नै पाइँदैन । एकछिनमै जीवन समाप्त ! त्यसरी मरिहालियो भने पनि त्यो त्यति दुःखद मृत्यु हुँदैन । त्यै भएर मलाई त पटक्ककै डर लागेन ।”
मृत्यु-दर्शन बारे सोच्दा लाग्छ – मृत्यु रोज्न पाउने हो भने मेरो व्याख्या पनि हेसनकै जस्तो हुने थियो । मृत्यु अचानक हुनुपर्छ । हेसनको कुरामा दम छ । ऋतिक रोशनको फिल्मी शैलीमा म पनि भन्ने थिएँ – म पनि डराउने थिइनँ । कत्ति पनि डराउँने थिइनँ ।
तर अर्को सत्य के भने – मृत्युबोध कसलाई पो हुँदैन र ? जीवा भाइलाई पनि भएको रहेछ । त्यसैले त उनले १८ जुन २०२३ को त्यो भयावह घटना सम्झन पुगे जसमा ब्रिटिश अर्बपति ५८ वर्षीय हमिश हार्डिंग लगायत पाँच जनाको निधन भएको थियो ।
“एक वाक्यमा भन्दा ‘वन्स इन अ लाइफटाइम इभेन्ट’ भनेर हामीलाई भनिएको ठीकै रहेछ । शब्दमा व्यक्त गर्न न सकिने अद्भुत क्षणको साक्षी भइँदो रहेछ । यो अनुभूति हामीले बिहान बिहान चिसो पानीले नुहाउनेभन्दा तिक्खर थियो । कल्पनातीत थियो । अब शायद मैले अन्त जस्तै प्लन्ज हाने भने पनि त्यो तिक्खरता अनुभूत गर्न नसकुंला ।” (पृष्ठ १२); जीवा भाइको यो अभिव्यक्ति निकै मन पर्यो । अडवेन्चरस जीवन मलाई पनि मन पर्छ ।
कक्षा ४/५ मा नै पढेको थिएँ – ‘भारतका खोज भास्कोडिगामा ने किया था । कोलम्बस गलती से अमेरिका पहुँचा था ।’ समुद्री यात्राबारे पहिलो ज्ञान त्यसरी नै प्राप्त भएको थियो । कक्षा ९/१० को विद्यार्थी हुँदा इतिहास र भूगोलका पाठ्यपुस्तकहरूमा मैले ‘मार्कपोलो की यात्रा’ पढ्न भ्याएको थिएँ जसमा वीर नाविकहरूको सङ्घर्षका कथा थिए । मात्र १७ वर्षको उमेरमा मार्कपोलो आफ्नो पितासँग चीन पुगेका थिए । उनी भारत पनि पुगेका थिए । समुद्री बाटोको त्यो युगमा त देशहरू एक्लै बाँच्थे, महादेशहरू एक्लै गुमनाम उभिन्थे । तर, वीर नाविकहरूले अनेकौं यातना झेलेर, सङ्घर्ष गरेर जीवन जोखिममा हालेर देश खोज्दै हिँडे र देशहरू जोडिँदै गए, महादेशहरू नक्शामा थपिँदै गए ।
पृथ्वीका दुई छोरबारे सामान्य जानकारी थियो अर्थात् गहिरो भौगोलिक/ ऐतिहासिक ज्ञान थिएन । अन्टार्कटिकाको खोज बारे त सोच्न भ्याएको पनि थिइनँ । तर, ‘अक्षत अन्टार्कटिका’ धेरै सिक्ने अवसर प्राप्त भयो । ‘सलाम बहस’ अध्याय निकै महत्त्वपूर्ण छ । जानकारीमूलक । जीवा लामिछाने लेख्छन् – ‘सलाम ! इतिहासका ती सारा साहसी यात्री र अन्वेषकहरूलाई, जसले आफ्नो ज्यानको माया मारेर भए पनि त्यो अद्भुत ठाउँ खोज्न अथक प्रयास गरिरहे ।”
पाठकलाई निकै भावुक बनाउने यी वाक्यहरू पढ्दा मलाई पनि भन्न मन लाग्यो- ‘ती वीर नाविकहरूलाई सलाम, मेरो पनि । अनि आभार जीवा लामिछानेलाई पनि । तपाईंले यस्तो सुन्दर अनुभूति पस्किनुभयो हामी पाठकहरूमाझ ।’
‘अक्षत अन्टाकर्टिका’ लाई नियात्रा भनिएको छ तर यस पुस्तकलाई यात्रा विवरणमा मात्र सीमित राख्न मिल्दैन । यसमा भूगोल छ, इतिहास छ । समाजशास्त्र समेटिएको छ । सामान्य ज्ञान छ, साहित्य छ । यसरी हेर्दा अध्ययनको संगम बनेको छ यो पुस्तक । यस पुस्तकमा मानव प्रवृति छ, मनोवैज्ञानिक पक्ष छ, सामाजिक संरचनाको चित्रण छ । मान्छेको नियत र नियति दुवै भेटिन्छ ।
…
कसले गर्यो अन्टार्कटिकाको खोज ? मलाई थाहा थिएन । र, यसअघि चासो पनि थिएन । अहिले आएर चासो भयो । भयो मात्र होइन, चासो बढ्यो पनि । एउटा राम्रो पुस्तकको विशेषता हो यो – पाठकमा कुतूहलता जगाउने । पुस्तकका पाना पल्ट्याउदै गर्दा पृष्ठ ४२ मा ‘सलाम-बहस’ अध्यायमा लेखकको सम्बोधन भेटें – “प्रिय अर्नेस्ट स्याकल्टन ! प्रिय रबर्ट स्कट ! तिमीहरू महान् खोजकर्ता हौ ….”
यी दुई नाविकहरूबारे थप जान्ने चाहना जाग्यो । गूगलमा गएर यी महान् खोजकर्ताबारे सर्च गर्दा पत्तो लाग्यो, यिनीहरू पहिलो पटक अन्टार्कटिका पुग्ने नाविक रहेनछन् । गूगलले भन्यो – “अन्टार्कटिका पुग्ने पहिलो पुष्टि भएका व्यक्ति नर्वेजियन ह्वेलर र अन्वेषक कार्स्टन बोरखग्रेभिङ्क र उनको टोली थिए, जसले १८९५ मा केप एडेयरमा अवतरण गरेका थिए । तर, अन्टार्कटिका पहिलो पटक देख्ने व्यक्ति फाबियन गट्लिब भोन बेलिङ्सहाउजन (रूस), एडवर्ड ब्रान्सफिल्ड (ब्रिटेन) र नाथानिएल पाल्मर (अमेरिका) मानिन्छन्, जसले १८२० मा यो महाद्वीप देखेका थिए भन्ने मान्यता छ । यद्यपि, कसले पहिलो पटक देख्यो भन्ने विषयमा केही विवाद रहेको छ ।“
पानाहरू पल्टाउँदै जाँदा, अन्टार्कटिकाको कथा झन् झन् रोमाञ्चक लाग्न थाल्यो । समुद्री यात्रीहरूले कोरेका बाटाहरू, वीर नाविकहरूको सङ्घर्ष र त्यागका कथाले भावुक बनाउँदै गयो । दक्षिणी ध्रुव (साउथ पोल) टेक्ने पहिलो अभियान नर्वेजियन अन्वेषक रोआल्ड आमुन्डसेनको नेतृत्वमा सम्पन्न भएको थियो । १९११ डिसेम्बर १४ मा उनले इतिहास रचे । उनका प्रतिस्पर्धी, ब्रिटिस अन्वेषक रोबर्ट फल्कन स्कट, झण्डै एक महीना ढिलो अर्थात् १९१२ जनवरी १७ मा त्यहाँ पुगे । तर, दुर्भाग्यवश, फर्कने क्रममा स्कट र उनको टोली मृत्युवरण गर्न बाध्य भए । शायद, यी अन्वेषकहरूले पृथ्वीका दुवै ध्रुवबारे विश्वभर जिज्ञासा जगाउने अद्भुत कृति लेखेका छन् ।
म २०६५ सालमा पहिलोपटक अस्ट्रेलियाको पर्थ पुगेको थिएँ । मेरो अस्ट्रेलिया भ्रमणसम्बन्धी लेखमा उल्लेख छ – “म पर्थ हेर्न उत्सुक थिएँ । अस्ट्रेलियाको इतिहास बुझ्न लालायित थिएँ । छोराहरू (विशेष गरी जेठा छोरा) प्रत्येक वीकएण्डमा पर्थका प्रसिद्ध ठाउँहरूमा घुमाउन लान्थ्यो । बाँकी दिन म पर्थ शहरको मध्यमा रहेको पुस्तकालय जान्थें र धेरै जसो अस्ट्रेलियाको इतिहास पढ्ने र बुझ्ने प्रयास गर्थें । अस्ट्रेलिया महाद्वीप सन् १९७० अघि एक्लो बाँचिरहेको थियो । बेलायतका एक निर्भीक नाविक कप्तान जेम्स कुक अप्रिल १९७० मा पहिलोपटक अस्ट्रेलियाको पूर्वी समुद्री भागमा पुगेका रहेछन् । त्यस ठाउँबारे जेम्स कुकको रिपोर्टिंग सुनेर बेलायतका सत्ताधारी पदाधिकारीहरू लोभियेचन र समुद्र यात्रामा थप नाविकहरूलाई पठाउँदै त्यहाँको अध्ययन गर्न थालेछन् । कप्तान कुकले आफू गएको सम्पूर्ण समुद्री तटलाई New South Wales भनेर नामाकरण गरे । पछि गएर यो राज्य बन्यो र सिड्नी यसको राजधानी बन्न पुग्यो । केही दशकभित्रै बेलायती गोरेहरूले अस्ट्रेलियाको धेरै ठाउँमा आदिम समयका मूल निवासी (एबरिजनी) हरूलाई आफ्नो अधीन गर्दै ब्रिटिश कलोनी स्थापित गर्न सफल हुँदै गए । जसका कारण आदिम बासिन्दा (एबोरिजिनल) हरू क्रमशः विस्थापित हुँदै गए ।”
मैले यो प्रसङ्ग यहाँ राख्नुको मूल उद्देश्य पुस्तकमा एक अध्ययन नै छ, मार्कपोलो/जेम्स कूक ।
जीवा लामिछाने एक व्यवसायी वा घुमन्ते मात्र होइनन् । उनी लेखक हुन् साथै समीक्षक पनि । अक्षत अन्टार्कटिकाका धेरै अध्यायमा उनले पुस्तक समीक्षा, फिल्म समीक्षा, मानव जीवन समीक्षा गरेका छन् । एक ठाउँमा उनले दिलीपकुमार वहीदा रहमान अभिनित ‘मशाल’ फिल्मको समीक्षा गरेका छन् भने “नृत्य/किताब”मा पुस्तक समीक्षा गरेका छन् । कहिलेकहीँ म पनि फेसबुकका पाठकहरूको जिज्ञासा पढ्न पाउँछु, “राम्रा पुस्तक कस्ता हुन्छन् सर ?” यस प्रश्नको उतार मैले जीवा भाइको विचारमा पाएको छु । जुन पुस्तक पढ्न थालेपछि छोड्न मन लाग्दैन ती राम्रा पुस्तक हुन्छन् । “जहाँबाट पल्टाएर पढ्न थाले पनि तानिहाल्छ । शायद रामो पुस्तकको गुण यही हो ।” (पृष्ठ ४८)
यात्रा प्रेमीहरूको समीक्षा गर्दै लेखक भन्छन्, “यात्रा भनेको नयाँ ठाउँ हेर्नु मात्र होइन, नयाँ परिवेश र नयाँ विचारहरूको खोजी गर्नु पनि हो ।” (पृष्ठ ४८)
अनि यात्रीहरूको निहुँमा दार्शनिक चिन्तकले झैं सबैलाई उहाँ एउटा मीठो सुझाव पनि दिनुहुन्छ: “…. तर थोरै खराब मान्छे र तिनले गर्ने व्यवहारका आधारमामा हामी कुनै देश, प्रदेश, समाज जाति या सम्प्रदायप्रति तुरुन्त आफ्नो धारणा बनाइहाल्छौं र निर्णायक पनि भइहाल्छौं ।” (पृष्ठ ४९) । मेरो पनि एउटा तीतो अनुभव छ । मित्रताको यात्रामा मैले पनि कसैलाई आफूलाई भन्दा पनि बढी विश्वास गरेको थिएँ तर अफसोस, ऊ मानवता र मित्रताको नाममा कलङ्क निस्कयो । छि: चरित्रको ।
कहिलेकाहीँ मलाई मेसेन्जरमा कविता वा इमेलमा कथा प्राप्त हुन्छ र सोधिन्छ, ‘राम्रो कसरी लेखिन्छ सर ?” म भन्ने गर्छु – ‘अरूका सिर्जना पढ्ने, राम्रा पुस्तक पढ्ने, उत्कृष्ट पुस्तक अध्ययन गर्ने । जसले जति धेरै पढ्छ उति नै राम्रो लेखक बन्न सक्छ । मिहिनेत गरेर लेखिएको पुस्तक राम्रो हुन्छ । साधना सहित मिहिनेत गरेर लेखिएको पुस्तक उत्कृष्ट बन्दछ ।’
आज म जीवा लामिछानेको पुस्तक पढेर ढुक्कसँग भन्न सक्छु – यो पुस्तक उत्कृष्ट बनेको छ । किनकि यो पुस्तक उनको यात्रा अनुभवमा मात्र सीमित छैन, यसमा उनको अध्ययन यात्राको गहिरो छाप छ, साधना छ । नेपालमा यस्ता विविधताले भरिएका गम्भीर चिन्तनशील लेखकहरूको अभाव छ ।
जय यात्रा साहित्य !!!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

‘मैले बिक्रीभन्दा पाठकको प्रतिक्रिया कुरिरहेको छु’: जीवा लामिछाने, नियात्राकार
