बागबजार बोल्दैन – प्रोल्लास सिन्धुलीय
लेखक प्रोल्लास सिन्धुलीयको कथा संग्रह हो ‘बागबजार बोल्दैन’ । संग्रहमा सिन्धुलीयले वि.स. २०५० सालदेखि हालसम्म लेखिएका कथाहरु समेट्नुभएको छ । पुस्तकमा बागबजारको पृष्ठभूमिमा रहेर लेखिएका कथाहरु संग्रहित छन् ।

”कुनै विधामा एउटा औकात बनाएको मान्छे अर्को विधामा आउँदा सोही हैसियतकै औकात खोजिँदो रहेछ । धेरैले त्यसलाई अवसर का रूपमा लिएको देखें। परन्तु, मेरा लागि त्यो चुनौती भइदियो ।” प्रोल्लास सिन्धुलीय लेख्नुहुन्छ, ”उसो त म यत्तिका वर्ष कवितामा मात्रै लागेको किमार्थ होइन । ०४७ साल वैशाखको ‘आँकुरा’ द्वैमासिक (सम्पा. विवश वस्ती) मा पहिलो रचनाको रूपमा मेरा कविता र कथा एकसाथ छापिएका थिए । कविताजति त होइन, मेरा कथाले फुटकर रूपमा प्रकाशनको अवसर पाउँदै नपाएका पनि होइनन् । आफ्नै कविताको छत्रछहारीमुनि ती ‘ठूलो रूखमुनिका झार बुट्टयान’ झैँ हुँदै आए सायद ।

कवितामा ३०, ३५ साल निरन्तर जे जति अध्ययन, चिन्तन अनि अभ्यास गरें, त्यसको एक छेउसमेत मैले उपन्यास वा कथामा गर्न नभ्याएको पक्कै हो। यसो हुँदा पनि पढ्‌दै, लेख्दै, छाप्दै, सिक्दै गरेर कवितामा बनाएको धेरथोर दक्षता र त्यसले दिएको स्याबासीको अपेक्षा अन्य विधामा गर्नु उचित हुन्न भन्ने जान्दाजान्दै पनि मैले यसपालि त्यसो ‘नगर्न’ सकिनँ । ‘सबैखाले रचनामा कविताकै स्तर खोजिनुहुँदैन’ भन्ने आग्रह गरें भने कोही कसैले स्वीकार गरिदिनुहुने रहेनछ भन्नेमा म अन्य किताबबाटै प्रस्ट भइसकेको थिएँ । ‘कवितामा जेजस्तो भए पनि कथालेखनमा सिकारु पो हुँ’ भन्ने धङधडीबाट आफूलाई बाहिर ल्याउने हरसम्भव प्रयास गरिरहें । धान, गहुँ इत्यादि खेती सफलतापूर्वक गरिरहेको किसानले आलु खेती पनि उत्तिकै कुशलतासित गर्न सक्नुपर्दो रहेछ । यसर्थ कि उसले कुनै बालीविशेष उब्जाउनमात्र होइन, ‘खेती गर्ने’ जानेको हुँदो रहेछ ।”

समकालीन कविका रूपमा पृथक् र प्रभावशाली छवि बनाएका प्रोल्लास सिन्धुलीय ( वि.सं. ०३२ रामनवमी) को पहिलो उपन्यास ‘शून्य डिग्री’ (०७४) ले आख्यानमा समेत उनको बलियो उपस्थितिको सङ्‌केत दिइसकेको थियो । हास्यव्यङ्ग्यकार भैरव अर्यालको इतिवत्तमा आधारित उपन्यास ‘भग्न भैरव’ (०७९) बाट उनको आख्यानकारिताको उचाइ बढ्यो ।

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । बिस ओटा कथा संग्रहित पुस्तकको मूल्य चार सय ७५ रुपियाँ रहेको छ ।