पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न  ४ वटा पुस्तक प्राप्त भएका छन् ।

१. मुटुभरि मायाँ – डा. कृष्ण जङ्ग राणा


कवि डा. कृष्ण जङ्ग राणाको नविन कृति हो मुटुभरि मायाँ ।
कविले सृजनामा मायाँ, प्रेम , जीवनप्रतिको आस्था र विश्वास सरल र मिठास भावमा लेख्नुभएको छ ।

”डा. राणाको व्यक्तित्व झैँ उहाँका रचना पनि सरल, सहज र गरिमापूर्ण छन् ।” पुस्तकमा शरच्चन्द्र वस्ती लेख्नुहुन्छ, ”तिनमा बाह्य र आन्तरिक दुवै तहमा लय छ, मिठास छ र भावको पारदर्शिता छ । सुनियोजित वाक्चातुरी, सचेत आलंकारिकता र कृतिम भावभंगिमाको सलबलाहट पाइँदैन । गहन संवेदनाका साथ अन्तर्मनका गहिराइबाट निस्केका वाणी हुन्, त्यसैले मनको गहिराइमा अनायास प्रवेश गर्छन् । जीवनका उतारचढाव दुःख – पीडा र विकृति– विसंगतिका पदचिन्ह यत्रतत्र परिलक्षित भए पनि यिनमा त्यसको छाया परेका छैन । जीवनको उल्लास, उमंग र उज्यालोले आलोकित छन् । सुनमा सुगन्ध चाहिं यसमा निहित आध्यात्मिकता हो । यो मूलतः आफ्नो खोजी हो । स्व– लाई चिन्न, भेट्न नपाएको तडप सिंगो कृतिमा सरस्वतीको धारा सरह अन्तःप्रवहमान छ भने कहीं कहीं गहन बेचैनीका साथ सतहमा प्रकट पनि भएको देखिन्छ ।”

त्यसैगरी पुस्तकमा कवि डा. कृष्ण जङ्ग राणा लेख्नुहुन्छ, ”आफ्नो चारैतिर फैलिएका अवस्था र क्रियाकलाप देखेर यदि मेरो मनमा मायाँको भाव जाग्यो त मैले मायाँको गित लेखेँ, दुःख, पीर–व्यथाका भावहरु जागे त करुणाका गीत लेखेँ । यसैगरी मनमा जागेका विभिन्न भावहरु जस्तैः मिलन–विछोड, विद्रोह, निरीहता, अधीरता, आशा– निराशा, अहङ्कार, लोभ, तृष्णा, रुढिवादिता, उत्पीडन इत्यादि भावहरुको अभिव्यक्ति हुन पुगेको छ । विभिन्न अवस्थामा फसेको समाजलाई चारैतर्फबाट हेरी, गुनी, विभिन्न भावहरुलाई कवितामा व्यक्त गरे तापनि कता कता मैले स्वयम् आफूलाई र आफ्नो अन्तर्मनलाई नै हेर्न नभ्याएको जस्तो वा कता कता लुकाएको जस्तो नै लागिरहेकाले मैले सोलाई पनि केही नढाँटी लेखिदिएको छु ।”

पुस्तकलाई शब्दमिडिया प्रा. लि. (साहित्यपोस्ट) ले बजारमा ल्याएको हो । एक सय बाइस ओटा कविता र दुई सय नौँ ओटा गजल सङ्ग्रहित पुस्तकको मूल्य नौ सय ९९ सय रुपियाँ रहेको छ ।

===== ==== 

२. पाहुर (लघुकथासङ्ग्रह) – लता के.सी.


लेखक लता के.सी. को नविन कृति हो पाहुर ।
लेखकले पुस्तकमा छोटो, मिठो, अकस्मात् व्यङ्ग्य प्रहार गर्दै सामाजिक विषयहरु लघुकथा पस्कनु भएको छ ।

”एकै बसाइमा पढ्न सकिने तर लेख्न निकै दिमागी कसरत गर्नुपर्ने आख्यानको कान्छो विधा हो, लघुकथा ! वर्तमानमा यो मेरो फुर्सदिलो समयको हितैषी बनेको छ ।” पुस्तकमा लता के.सी. लेख्नुहुन्छ, ”हाम्रो लघुकथा केन्द्र, नेपालको संस्थापक अध्यक्ष भएर संस्थामा हुने गतिविधीप्रति सक्रिय भइरहँदा सिक्ने र सिकाउने अवसर प्राप्त भइरहेको छ । लघुकथा पठन र लेखनको लत लाग्दै जाँदा फेरि मेरा पाठकका लागि चौथो लघुकथाकृति पाहुर लिएर उपस्थित भएकी छु । यस कृतिमा समावेश भएका ६३ वटा लघुकथा २०८०, ८१ सालमा लेखिएका हुन् । प्रायजसो लघुकथा फेसबुक वालमा प्रेषित भएका छन्, विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । चोटदेखि मृत्युसम्म, दृश्य र सफलता मेरा तीन कृतिलाई जस्तै पाहुरलाई पनि पाठकले रुचाउनुहुने छ, माया गर्नुहुने छ भन्नेमा म आशावादी छु ।”

त्यसैगरी पुस्तकमा राजु क्षेत्री अपुरो लेख्नुहुन्छ, ”सुरु सुरुमा लघुकथा पढेर कथावस्तुअनुसार प्रतिक्रिया दिन खप्पिस लता के.सी. दिदिलाई ‘तपाई पनि अब लघुकथा लेखनमा आउनुपर्छ है !’ भन्दै कर लगाएको पनि ६ वर्ष बितिसकेछ । ‘मान्छेमा इच्छाशक्ति भयो भने के गर्न सक्दैन भन्ने कुराको उहाँ ज्वलन्त उदाहरण हुनुहुन्छ । यो ६ वर्षको अवधिमा ह्याट्रिक कृतिसहित अर्को थप कृति लेख्नु र प्रकाशन गर्नु कुनै चानचुने कुरा होइन । नेपाली लघुकथाको इतिहासमा व्यक्तिगत र संस्थागत रुपमा लघुकथालाई उचाइमा पुर्याउन उहाँले खेलेको भुमिकाको जति नै चर्चा गरे पनि कम हुन्छ ।”

पुस्तकलाई हाम्रो लघुकथा केन्द्रले बजारमा ल्याएको हो । ६३ ओटा लघुकथा सङ्ग्रहित पुस्तकको मूल्य दुई सय २५ रुपियाँ रहेको छ ।

=============

३. चन्द्रविनोद (लघुकथासङ्ग्रह) – महेन्द्र नेउपाने

कथाकार महेन्द्र नेउपानेको लघुकथा सङ्ग्रह हो चन्द्रविनोद ।
कथाकारले पुस्तकमा विकृति, विसंगति, प्रविधिले पारेको प्रभाव जस्ता सामाजिक विषयलाई लेख्नुभएको छ ।

नेउपानेका लघुकथामा विषयको विविधता, भावमा गाम्भीर्य र बौद्धिकता पाइन्छन् । संवाद र वर्णन शैलीको मिश्रित, मानव र मानवेतर पात्रको प्रयोग गरिएका छन् । व्यङ्ग्य र विम्बको प्रयोग गरेर सिर्जना गर्न उहाँ सिपालु हुनुहुन्छ, । उहाँ लघुकथाको अवधारणा बुझेर लेख्ने सर्जक हुनुहुन्छ । हाम्रो लघुकथा केन्द्रको भित्तामा उहाँका लघुकथा प्रायः सबै पढेकी छु । दिनहुँ लघुकथा पोस्ट गर्ने नियमित सदस्यको रुपमा मैले पाएकी छु । आफ्नो पहिलो कृतिको नाम बाआमाको नामबाट ‘चन्द्रविनोद’ जुराउनुभएको छ । पितृप्रतिको उहाँको यो सद्भाव श्रद्धा गर्न लायकको छ । लेखन कार्य निरन्तर अघि बढिरहोस् । कलमले पाठकको आशीवार्द पाइरहोस भन्ने शुभेच्छा प्रकट गर्छु ।”

त्यसैगरी पुस्तकमा लेखक महेन्द्र नेउपाने लेख्नुहुन्छ, ”मेरो पहिलो कृतिको रुपमा जन्मेको यस कृतिलाई आमा चन्द्रकला तथा बुबा विनोदप्रसादप्रति समर्पण गर्दै उहाँहरुकै प्रसाद सम्झेर नामकरण गरेँ – चन्द्रविनोद । आशा छ, यसले मलाई जस्तै मेरा पाठकहरुलाई पनि चन्द्रमाले झैँ शीतलता, उज्यालो र शान्ति दिन्छ । यसले विनोदित मनोरञ्जन र खुसी तुल्याउने छ । आजको व्यस्त जीवनमा पाठकले पक्कै पनि क्षणभरमै सिङ्गो कथाको स्वाद खोज्छन् त्यो लघुकथामा पाइने हुनाले पढछन् भन्ने लागेको छ । रुचि राख्ने नराख्ने, पढ्ने नपढ्ने पाठकको जिम्मामा छोडेँ तर पढनुहुने महानुभावहरुले बोलेर, लेखेर वा कुनै साङकेतिक रुपमै भए पनि प्रतिक्रिया दिनुहुन्छ भन्ने आशा गरेको छु ।”

पुस्तकलाई हाम्रो लघुकथा केन्द्रले बजारमा ल्याएको हो । ६१ ओटा लघुकथा सङ्ग्रहित पुस्तकको मूल्य दुइ सय २५ रुपियाँ रहेको छ ।

===========

४. सीमान्त सम्झना – गणेशप्रसाद लाठ


आख्यानकार गणेशप्रसाद लाठको संस्मरण सङ्ग्रह हो सीमान्त सम्झना ।

सीमान्त सम्झना एउटा उत्सुक बालक–किशोरले देखेको आफ्नो घर –समाजको रुपान्तरणको संस्करण हो । विज्ञान र प्रविधिका आविष्कारहरुले पैदा गर्ने कुतूहल अनि तिनले निर्माण गर्ने नयाँ अध्यायहरुको सुन्दर कोलाज यहाँ छ । रमाइलै रमाइलोमा गम्भीर कुरा पस्किने यस पुस्तकले वीरगन्जको माटोमा आधुनिकताको बाटोको इतिहास भन्छ । यस्तो लोकइतिहास जो लेखिएन; यति मीठो मसिनोसँग त झनै लेखिएन । हर परिवेशको इतिहास नआई देशको इतिहास पनि त पुरा हुँदैन नि हैन र !

पुस्तकमाक अन्त्यमा गणेशप्रसाद लाठ लेख्नुहुन्छ, ”मइयाले फकाईफकाई सिलेटमा कखरा लेख्न नसिकाउनुभएको भए, असल मान्छे बन्ने काइदा नसिकाउनुभएको भए, बाउजीले औँला समाएर स्कुलसम्म नलगिदिनुभएको भए, बेलाबखत मेरा कान ननिमोठिदिनुभएको भए, शिक्षक शिक्षिकाले स्नेह र लट्ठीको कूटनीति प्रयोग गर्दै स्कुले पढाइमा अगाडी नबढाइदिनुभएको भए म के बन्थेँ होला ? त्यो त थाहा भएन, तर यो किताब पक्कै आउने थिएन । मइया, बाउजी र शिक्षक– शिक्षिका – मेरो जीवनका यी आर्किटेक्टहरुको ठूलै रुण छ ममाथि । यस जुनीमा त रुणको भार उतार्न सक्दिँन होला; अर्को जुनी कसले देखेको छ र ! हृदयबाट नमन गर्नुबाहेक म जस्तो रुणीको विकल्प नै के छ र !
मैले ‘यो संस्करण तयार गर्न झण्डै ६० वर्ष खर्चिनुपर्यो’ भनेँ भने कतिपय पाठकले प्रतिक्रिया ठोक्न सक्नुहुन्छ, ‘ढाँट्नुको पनि सीमा हुन्छ नि यार ! ‘ तर धरोधर्म, झूटो कुरो गरेकै होइन । धरतीमा पाइला टेकेदेखिका संस्मरणहरु सङ्कलन गर्दै बसिराखेको छु । तिनलाई कागजमा उतार्ने काम चाहिँ पछिल्ला तीन वर्षमा गरेँ । अनि तयार भयो सीमान्त सम्झना । सीमान्त सम्झनामा आफ्ना अनुभव त हुने नै भए, अरुहरुका थोरैथोरै कथा पनि छिराएको छु । इतिहासका पानासमेत पल्टाउने प्रयास गरेको छु । म एक्लैले सबै चीज भ्याउन सम्भव नै थिएन, न अगाडि होला ।”

पुस्तकलाई पब्लिकेसन नेपालयले बजारमा ल्याएको हो । तीन सय ३२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य सात सय ४५ रुपियाँ रहेको छ ।