
“हाय ! दद्दा रे ! भन्सामै पसिसक्यो पानी ! तिमी सुतिराख्ने
हो अझै ?” बूढीको चर्को स्वरसँगै ऊ उठ्ने उपक्रममा लाग्यो । बच्चाहरू अझै सुतिरहेकै थिए । ऊ त उठेको थिएन, बच्चाहरू
के उठुन् !
खानपिनमा के तलबितल पर्यो कोनि, उसको पेटलाई रातिदेखिन् नै खासै सञ्चो भएको थिएन । त्यसैले आज ऊ अल्छी मानेर उसै ओछ्यानमै पल्टिरहेको थियो । बूढीले चिया पनि ओछ्यानमै ल्याइदिएकी थिई । आठ बजिसक्दा पनि बच्चासमेत नचलमलाएका देखेर उसले ओछ्यानबाटै हल्ला गरेको थियो, “गे रतिया ! तिमेरूलाई आज स्कूल जान पर्दैन ?”
“आज त शनिवार !” कान्छी चाहिंले ओछ्यानबाटै जवाफ
फर्काएकी थिई ।
“कस्तो हुस्सु भएछु । शनिवारको समेत पत्ता भएनछ !” उसले आफैँलाई धिक्कारेको थियो । उसलाई गिज्याउँदै बच्चाहरू ओढ्नेभित्रै गललल हाँसेका थिए ।
बूढीले फेरि चिया ल्याइदिई र छाता च्यापेर पसलतिर लागी । फेरि चिया ?…शायद उसलाई ओछ्यानबाट उठाउन होला !
ऊ उठ्ने उद्यममा लागेको थियो तर शरीरले खासै ‘उठ्’ भनिहालेको थिएन ।
रातिदेखिन् नै लगातार पानी ओइरिएको ओइरियै थियो । हिजो साँझतिर एक झर भिजेको थियो ऊ पनि घर फर्किंदा । त्यसैले हुनुपर्छ जीउ यस्तरी कटकट खाएको ! बूढो पनि त भइसक्यो नि ऊ । पचासकै छेको काटिसक्यो । पचासमा त उसको बाउले घरी सिलटिम्मुर खाइसकेथे !
बलजफ्ती उठेर भुइँमा खुट्टा के टेकेथ्यो, चिसो न चिसो महसूस भयो । थोत्रो कार्पेटमुनि पानी थलथले भइसकेछ !
“घर मे बाढ पस्यो ! उठ्, उठ् रे !” बच्चाहरूको सिरक तानिदिएर ऊ बाहिर निस्कियो । बाहिर हल्लाखल्ला चर्को भइसकेछ । सडकतिर भीडभाड उत्रिसकेछ । करिडरको सडकमै बाग्मतीले अग्लो छाल बनाइसकेछ । बल्ल उसलाई पत्तो भयो— यो टापुमा सङ्कट छिरिसकेछ । ठूलाठूला घरवालाहरू ‘सटक’मा आइसकेछन् ! ऊ छाप्रे पो बरु मस्तले सुतिरहेको रहेछ !
* * * *
‘ओ दाइ !’
‘अरे भैयाजी !’
‘ओई मर्स्या !’
‘… … …!’
नाम त के पो थियो कोनि ! जताजता पुग्थ्यो, अक्सर मान्छेअन्सारकै पृथक्-पृथक् सम्बोधनमा पर्थ्यो ऊ । उसको बसोबास थलो यो गुह्येश्वरी मन्दिरछेउको टापुमा भने ऊ आफूले जिन्दगीमा अन्यत्र कहिल्यै नसुनेको नबुझेको शब्द- ‘छकुबन्जार’ नामले सम्बोधित हुन्थ्यो ।
चौध सालदेखिन् ऊ बस्तै आएको यो ठाउँको हालत उसको नामजस्तै अङ्बाङ्गे छ– बाग्मतीले फन्को मारेर दुई जीउकी छोरीमान्छेको भुँडी भ्यात्त निक्लेझैँ, अर्कोतिरबाट हँसियाकार पारेर थोरथोरै हरियालीयुक्त एयरपोर्टको ढिस्कोले घेरिएको । ऊ यता बस्न आउँदा पक्की भनाउँदा तीन-चार ओटा घर मुश्किलले थिए । रहँदाबस्दा गुह्येश्वरी मन्दिरतिरबाट एयरपोर्टको मुनिमुनिहुँदै गोठाटार छिचोल्ने कच्ची बाटो पिच भयो । बाग्मतीको किनारैकिनार करिडरले पनि पिच हान्यो । सानुतिनु रिङरोड नै बन्यो यसको वरिपरि । बाग्मतीमा पक्की पुल पनि बन्यो । बल्ल यो ठाउँको दिन आयो ।
यस्ता दिन आए नि के गए नि के ! यो टापुको पो दिन आयो; उसलाई ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ !
बाग्मतीतिर काँसघारी, काँडेघारी, एयरपोर्टमुनि वनमारा र ऐँसेलुका झ्याङ, बीचको दुई तिहाइजति ठाउँमा दलदले, जहिल्यै पानी जम्ने, भास छलेर बचेका थोरै ठाउँमा लगाइने एकमात्र बाली धान । बर्खामा जुत्ता लाउनेलाई त प्रवेश निषेधै हुन्थ्यो । जुत्ता लाएर जानु नै किन र ! जेनतेन त्यै धानसम्म रोप्ने त हो !
उसको जिन्दगीजस्तै दलदले थियो यो ठाउँ । माधव माड्सापजस्ता जुत्ते-पाइन्टेहरू बस्ने खालको कहाँ थियो र !
मुश्किलले एक बाली लाग्ने यसलाई उसबखत नामै के चाहिएथ्यो र ! छेउछाउकाले अलिक तलको गौरीघाटसित जोडेर ‘गौरीघाट’ भनिदिन्थे । केहीले ‘गुजेश्वरी’ या ‘पञ्चकन्या फाँट’ भनेको पनि सुनिन्थ्यो । गुह्येश्वरीकै नामको त यहाँकाले बिजोग पार्दिन्छन्–’गुहेश्वरी’ भन्देर । कता ‘गुह्ये’- गोप्य, रहस्यपूर्ण; कहाँ ‘गुहे’- गुहुजस्तो !
क्रिकेट खेल्ने ठाउँ बनाउने भनेर पारस सरकारले हो कि एयरपोर्ट; कोनि कसले हो, किनबेच रोक्देको रहेछ । गणतन्त्र आउनासाथ रोक्का खुलेको अरे !
रोक्का खोलिएसँगै आना-आनामा टुक्रिन थाल्यो अनि भटाभट उम्रिन थालिहाले सिमेन्टीका रूख । भुइँचालो आएको सालपछि त उम्रिने क्रम ह्वात्तै बढ्यो । पोहोर सालै एक सय पचासी नाघ्यो भन्थे, दुई सय उछिन्यो होला अहिलेसम्म त ! ऊ बस्ने जस्ताको छाप्रोमा हो । सिमेन्टीको टाउको गिन्ती किन गरिराख्नु !
एकातिर तालुखुइले पाराकै भए पनि एयरपोर्टमुनिको जङ्गल, अर्कोतिर धमिलै, झिनै भए पनि सदाबहार बगिरहने बाग्मतीको अँगालो । आधा पानी, आधा जमिनले घेरिएको देखेर होला, कुनै सनकीले यस ठाउँको ‘श्रीलङ्कन टापु’ नाम राख्दिएछ ! खासमा यो ठाउँको वास्तविक नाम कसैलाई मतलब भएन, जसरी उसको असली नाम कसैले, कहिल्यै खोजेनन् ।
माधव माड्सापहरू यता आइसकेपछिको कुरो हो, चोकको ‘चियापसलबाटै एक दिन कसैले चिच्याउँदै बोलाएछन्, “ए भाइ ! ए भैया !”
कमिजको खल्तीको मोबाइलमा हिन्दी गाना घन्काउँदै हिँडिरहेको उसले सुनेनछ । कोही ‘भाइ’ माथि ‘भैया’ लगाउँदै चिच्याउने, छेउछाउका सबै फर्कीफर्की हेर्ने किन्तु उसले नसुन्ने !
चिच्याउने अलिक जोडैसित चिच्याएछन्, “एऽऽ छकुबन्जार भाइ !” बल्ल उसलाई कसैले ‘कसैलाई’ बोलाएझैँ अनुभूति भएछ । ‘को रहेछ यस्तो अनौठो नाम भएको मान्छे ?’ भन्ठानेर यसो टाउको घुमाएर हेरेको; माड्साप त उसैलाई पो बोलाउँदै रहेछन !
त्यसै दिनपछि उसको नाम ‘छकुबन्जार’ सदर भएको रहेछ यो श्रीलङ्कन टापुमा ।
हेपेको हो कि इज्जत गरेको; फिटिक्कै नबुझे पनि माधव माड्सापले उसको कामअन्सारकै नाम दिएका अरे- ‘छकुबन्जार’ । अर्थात्, आफ्नै जीउमा मालसामान बोकेर बिक्री गर्दै हिँड्ने मान्छे ।
कस्तो अड्बाङ्गे नाम ! बरु ‘बन्जारा’ राख्देको भए तै हुन्थ्यो ! बालबच्चा सोहोरेर ल्यायो, कुनै रूखमुनि या पाखोभित्तोमा अस्थायी छाप्रो उमार्यो, के भेटिन्छ किन्यो-बेच्यो, खायो । कवाडीबाट सस्तोमस्तोमा ‘टिना’ ल्याएर छाएको छाप्रोमुनिको उसको परिवार बन्जारा नै हो । यताका नवोदित सिमेन्टीवालाले हेप्न शुरू गरेपछि पारि बौद्धतिर सिमेन्टीका रूख कम भएको ठाउँमा छाप्रो गाड्न रुचाएको थियो उसले । त्यहाँ झनै मनग्यै सिमेन्टीका रूख उम्रिन थालिहाले ।
“हामी आउँदा चार घर थ्यो ।” कसैले सिमेन्टी दम्भ निकाल्नै लागे हत्तपत्त भन्दिहाल्थ्यो ऊ यो दिव्यवाक्य । हुन त उसले ‘हेप्छ कि’ भन्ठानेको उपरोक्त महाशय पनि स्वयम् बन्जारा नै हो । कोनि किन आवेशमा आइन् अस्ति छिमेकी दिदी कसैसँग उफ्रँदै थिइन्– “हामी तीनआने नै हौं रे लु । कल्ले के उखेल्न सक्छ, उखेलून् !”
दिदीको मात्रै होइन, यहाँ सबैको बन्जारापारा नै त छ । तीन-चार आना जमिन सस्तोमस्तोमा किनेर सिमेन्टीको छाप्रो भलै उठाए होलान्, बाँकी जिन्दगी हुबहु बन्जारा ! स्याउला, टिनाको साटो सिमेन्टीको छाप्रो ! समयअन्सार अलिअलि बदलिएका- आधुनिक बन्जारा !
…यावत् सम्झेर ऊ त्यसैत्यसै मुस्कुरायो । अनि, तुरुन्तै खिस्रिक्क पर्यो– उसको छाप्रो त अझै अर्कैको जिमीमा छ !
उसो त यहाँ एक सय पचासी घर बनिसक्दा उसको दम्पतीले पनि आफ्नो पौरख देखाएकै हुन्— चार सन्तान जन्माएर । दुई छोरीपछि यौटा छोरो टुप्लुकिएर बिट मारौं भनेको, बूढीले नै ‘यौटा छोरो के छोरो’ रे ! ल जा त ! भनेर अर्को जन्माइदिए ! ‘जेठो र कान्छो सन्तान छोरी नै भएको राम्रो !’ भन्नुपर्ने भो र पो मार खायो !
पहिलो बच्चा छोरो भइदिएको भए अहिलेसम्म बाउलाई सघाउने भैसक्थ्यो भन्ने उसलाई हरदम लागिरहन्छ । तथापि, हातखाली बस्ने खालकै सन्तान त उसका कुन छन् र !
कबाडीतिरबाटै उठाएको थियो उसले यौटा मिसिन । अलिकति मर्मत खर्च गर्दा त्यसले काम गरिहाल्यो । घरमा बस्नेहरू जो फुर्सदमा हुन्छन्, तिनैले कुच्याउन थालिहाल्छन्- दुना- टपरी । आधुनिक दुना टपरी क्या कागतका ! उसको टहरो पनि त सस्यानो ‘फ्याक्टरी’ नै हो— प्लेट-कचौरा अनि बच्चा बनाउने ।
यस्तैउस्तैमा पनि जेठीले स्कूल सक्न लागिहाली । “खुलेसम्म बच्चालाई स्कूलतिरै खेद्न ! परेको म बेहरौंला !” उसले आदेश कडै छाडेको थियो । आफ्नो ‘बिरादरी’को चलन सम्हाल्दै ‘एसल्सी’ या ‘बाह’ सक्नासाथ जेठीको बिहे नगर्दिन पाए यसो ‘फाइनास साइनास’ तिर काम गर्थी कि भन्नेमा थियो ऊ; बूढी भने ‘अपनो चलन नछाड्ने मै थिई ।
“अब यो शहरमे जन्मे-हुर्केका छौंडाछौंडीलाई गाउँको चलन के लाद्छेस् ! आफू त घुम्टीभित्र निसास्सिन नसकेर लोग्नेको पिछे लागिस् ! बडो छोरीहरूलाई घुम्टीमे छोप्न खोज्छेस् !” यसो भन्दै गर्दा उसैउसै रिस भरिएर बुढीलाई नै पो क्वाच्च कुच्याऊँजस्तो लाग्यो उसलाई ।
“एरियल म्याट्रिक ल्याइदिन भन्या, के ल्याइदियो यो सफै हुँदैन !” यस्तै के-के सोच्दै थियो ऊ, छिमेकी साहुनी कराउँदै टहरामै आइपुगिन् ।
होलसेल स्टोरबाट प्याकेट फुटेका साबुन, स्याम्पु, सरफ आदि सस्तोमा ल्याएर सस्तैमा दिने गरेको छ उसले । ‘मरेको मदिसेले जिउँदो पहाडियालाई ठग्छ’ यो पुरातन वाहियात धङधङीमा बाँचेका यी पहाडिया भनाउँदाहरू भने ओल्टोकोल्टो पर्यो कि उसको काममाथि शङ्का छ्यापिहाल्छन् !
यस्ता ‘बाठो पल्टिन खोज्ने’लाई तह लगाएर पालिन जानेकै छ नि उसले – “मार्टिकै हो । ढाँट्छु त म ? एक सौ बीस थप्नू न ओर्जिनल पकेटै ल्याइदिहाल्छु !”
“…हाम्लाई त थाङ्नामै सुताउँछ यल्ले ! यस्ताको सङ्गतै नगरूँ भन्यो, फास्ल्याङफुस्लुङ पारिहाल्छ ।” उनी अझै फतफताउने उद्यममै थिइन्, पार्किङ लटतिर छिरेको प्लेनको ‘…घ्वाइयँ…’ आवाजले बिथोलिदियो ।
एयरपोर्टको रन-वे अलिक परतिरै परेर होला, उडे-बसेको आवाजले श्रीलङ्कन टापुलाई खासै बिथोल्दैन । प्लेनको पार्किङ भने यो टापुको ठ्याक्कै टाउकोमै छ । त्यहाँ अलिक ठूलो प्लेन घम्रिन थाल्यो भने रन-वेमुनिका जोरपाटी-इमाडोल इत्यादिकै हालत हुन्छ श्रीलङ्कन टापुको पनि — बोल्दाबोल्दै बोल्ती नै बन्द गर्नुपर्ने !
यो टापुसँग साँध जोडिएको एयरपोर्टमुनिको पाखोमा अस्तिसम्मन् पातलै भए पनि जङ्गल थियो । बिस्तारै यहाँको जङ्गल पूरै मासियो । खोल्साखोल्सीहरू रातारात पुरिए । गएको तीन-चार वर्षदेखिन् रातरातभर ठूल्ठूला ट्रकले माटो ओसारिरहे, श्रीलङ्कन टापुका नवनिर्मित घरहरूलाई सान्तिनु भुईंचालोले झैँ हल्लाउँदै । हल्लाउने मात्र कहाँ हो र ! भटाभट घरै चर्कन थालेपछि यहाँकाले हल्लाखल्ला शुरू गरे । माटो ओसार्ने काम त के रोकिन्थ्यो, यो टापुभरि ट्रक बिस्तारै चलाउने सहमति चाहिं भयो । जे होस्, हलचल रोकियो: घर हल्लन, चर्किन छाड्यो क्यार !
अहिले त श्रीलङ्कन टापुलाई नै छोपूँलाझैँ गर्दै पूर्वीदेखिन् दक्षिणी भागसम्म बडेमानको बर्लिनको पर्खाल ठड्याइसकेको छ एयरपोर्टले । हरेक बिहान घाम पनि एयरपोर्टको त्यही पर्खालबाट उदाउन थालेको छ । र, माथिबाट हेर्दा यो श्रीलङ्कन टापु इनारभित्रको एउटा गाउँजस्तो देखिन थालेको छ ।
झरीले रोकिने नामै लिएन । बर्खा सकिनुपर्ने हो यस बखतसम्म त ! उब्गै जानेगरी पानी खनिएको खनियै थियो ।
छकुबन्जार पहिलोचोटि यता बस्ने गरी छिर्दा आधासरो भागमा बर्खामा मात्र होइन, हिउँदमा समेत पानी जमिराखेको हुन्थ्यो । दलदले खेतमा झारैझारको साम्राज्य हुन्थ्यो । बाग्मतीको किनारदेखिन् निकै वरसम्म झाडी नै झाडी थियो । त्यही दलदलेछेउको ससानु ढिस्कोलाई पुरपार पारेर गाडेको थियो उसले आफ्नो छाप्रो । त्यो पर्ती नै हो भन्नेमा ऊ सालौंसम्म ढुक्क थियो । यतिका साल कोही एक चपरी खन्न पनि यता आएन । परार साल भने भित्री बाटो बनाउँदा उसको छाप्रोको नजिकैसम्म डोजर चल्यो । त्यसबखत जब जग्गावाल फित्ता बोकेर आफ्नो जग्गा नाप्न आइपुग्यो, बल्ल उसलाई पत्तो भयो– यो जग्गा पर्ती होइन रहेछ ।
धन्न, जग्गावालको ध्यान उसको छाप्रोतिर परेन; बाटोले काटेकोतिरै अल्झियो ! अन्यथा, ‘हटा’ भन्न वा भाडा माग्न के बेर ! बालबाल बचेको थियो ऊ त्यो अतिरिक्त सङ्कटबाट ।
अक्सर मान्छेहरू सडकमा झरिसकेका थिए । कि त थिए आआफ्नै घरको छतमा । पानी थामिने नामै थिएन । झरी पनि कस्तो ! गाग्रीले नै खन्याएजस्तो ! बिस्तारै भित्री सडकसमेत पानीले छोपिन थाल्यो
I
बच्चाहरूको चिन्ता मनमा छाएपछि ऊ छाप्रोतिर दौडियो । उसको छाप्रो खाटसम्म पानीले छोपिइसकेको रहेछ । छाप्रो हवाङ्ङ पारेर बच्चाहरू कतै भागिसकेछन् । छप्ल्याङ-छप्ल्याङ चप्पल लतार्दै ऊ फेरि सडकमै निस्कियो ।
“गौरीघाटमुनि पहिरो गएर बाग्मती पूरै थुनिएको छ अरे ।” कसैले आत्तिंदै सुनायो ।
ओहो ! त्यहाँ थुनियो भने त बाग्मतीको निकासै हुँदैन । गौरीघाट पूरै भरिएर पशुपतितिर जाने ढिस्को नाघ्नुपर्यो कि पशुपति कोषले थुन्देको पशुपति र एयरपोर्टको साँधको तीलगङ्गा निस्किने छोटो बाटो ‘वाईसिएल पथ’ नाघ्नुपर्यो ! त्यो नाघुन्जेल बाग्मतीले यो टापुको सबैभन्दा अग्लो घर ‘दाइ बिल्डिङ’को समेत टुप्पो छोपिसक्छ !
विपतको उपरोक्त सङ्केतसँगै सबैले नजिकैको गुह्येश्वरी मन्दिरतिर नजर फ्याले । ढल प्रशोधनको कम्पाउन्ड पूरै जलमग्न देखियो । नभन्दै यतासमेत तीव्र गतिमा पानीको लेभल बढ्दै जान थाल्यो । छकुबन्जारको छाप्रो पनि आधाआधी डुब्यो । बाग्मतीको कुनै भँगालोले बाटो पारेको भए उसको छाप्रो यसबखतसम्म खन्तीखलास भइसक्थ्यो होला ! त्यो सिर्फ क्रमशः डुब्दैडुब्दै रह्यो ।
यातायात कार्यालयअघिको बाग्मतीको पुलको अलिअलि बार देखिंदै थियो, त्यो पनि पुरियो । ढल प्रशोधनछेउको मान्छे तर्ने फलामे पुल बगाइसकेको हो कि छोपिएको हो, नामोनिशाना देखिएन ।
सबैतिर भागादौड हुन थाल्यो । अग्ला घरको छतबाट आफूलाई ‘सुरक्षित’ ठान्दै उसको छाप्रोतिर दयनीय दृष्टि फ्यालिरहेका मान्छेहरूसमेत आत्तिंदै सडकमै झर्न थाले । श्रीलङ्कन टापुको भव्यतामा कोलाहल मिसियो । चारैतिर चिल्लीबिल्लीको अवस्था आइलाग्यो ।
यातायातको कार्यालय चाबेलबाट यता सर्नासाथ सुनसान, शान्तप्रायः यो ठाउँमा निकै चहलपहल बढेको थियो । उसको छाप्रोछेउको दलदलेलाई पुर्दै कसैले करोडौं खर्च गरेर रातारात टरायल सेन्टर समेत बनाएको थियो । यता त बनाएछ तर यातायातमा उसको घुसपैठले काम गरेन क्यार, ‘लाइसेन’को ‘टरायल’ लिने अनुमति उसले पाएन अरे ! तीन करोड घाटा खाएर बेच्दिएको अरे यो ठाउँ कुनै गाडी कम्पनीलाई । त्यो साहु बरा यो टापुको घरसमेत बेचबाच गरेर चोरबाटो अमेरिका भास्सियो भन्ने सुनिएथ्यो ! पुग्यो कि पुगेन कोनि !
ऊ भने यसबखत आफ्नो छाप्रोबाट खासै टाढा छैन । यही ‘टरायल सेन्टर’को अग्लो बारमाथि चढेर खुट्टी हल्लाउँदै बसिरहेको छ । चालीसेले छोएर होला, नजिकैको कुरा धमिलो देखे पनि टाढाको दृष्टि भने उसको अच्छा छ । त्यही दृष्टिले आफ्ना छोराछोरी एयरपोर्टको भित्तामा अडेसा लाग्न पुगेको देखिसकेको छ उसले ।
यो कम्पाउन्डभरि नम्बर-प्लेटविनाका नयाँनयाँ गाडीहरू बग्रेल्ती छन् । ‘यो गाडी एउटै किन्ने पैसाले यौटा सान्तिनु घरै आउँछ’ उसले बुझेको यत्ति हो । ऊ रहेको ‘टरायल सेन्टर’को सबैभन्दा अग्लो ठाउँसमेत क्रमशः पानीले ओगट्तै-ओगट्दै गइरहेको छ । यी घरैघरजस्ता गाडी यसबखत पानीमा डुबूँ कि उत्रिऊँको अवस्थामा चलमलाइरहेझैं देखिंदै छन् । ऊ एकनास जिन्दगीभरको कमाइ सोही छाप्रोतिर आँखा गाडेर केही नभएजस्तो गरी बसिरहेको छ ।
“छिटो भाग् छकुबन्जार । छिटो भागिहाल् !’
कोही उसमाथि चिच्याउँदै भागिरहेको छ । उसलाई भने केही भएजस्तो गर्ने मन छैन । मानौं उसको केही बिग्रे भत्केकै छैन ! जिमी
उसको होइन । यत्तिको टहरो त उसले आफ्नै पौरखले बनाइहाल्न सक्छ एक-दुई दिनमै ! छोराछोरी लाखापाखा लागिसके । यो टापु डुबाए नि, सिनित्तै बगाए नि अब ती एयरपोर्टको भित्तो समाएरै भए पनि बाँच्लान् ! बाउ मरेको उमेर त उसले पनि खाइसक्यो ! केको फिकर ! केको चिन्ता ! रित्तै आएको त हो यो खाल्डोमा ! केको बिस्मात !!
“उसमाथि चिल्लाउने को रै’छ ?” चिच्याउँदै भाग्दै गरेको मान्छेतिर अनिच्छापूर्वकै भए पनि उसले टाउको अररो पार्दै नजर लगायो— तिनै माधव माड्साप रहेछन् ।
टोपी र कोटविनाका माड्साप माड्साप नै हो कि होइनन् जस्ता देखिए, कठै ! “तालु त चिल्लै भइसक्या रै’छ गाँठे !” ऊ मनैमन मुस्कुरायो ।
काँधमा ससानु सुट्केस, घाँटी र पाखुरामा तर्ल्याङतुर्लुङ कोनि केके झुन्ड्याएका, कम्मर-कम्मर पानीलाई छप्ल्याङ-छप्ल्याङ पार्दै गरेका माधव माड्साप नै पो आज ‘छकुबन्जार’ देखिए ! उसले परसम्म नियाल्यो– छकुबन्जारकै हुलियामा रहेछन् उसलाई हेप्ने- हप्काउने भद्रभलादमी भनाउँदा अरू पनि ।
उसका छोराछोरी बरु रित्तै हात पाखा लागेका थिए !
आज ऊ होइन, उसलाई ‘छकुबन्जार’ भन्नेहरू, गरीब ठानेर हेप्नेहरू, ‘मधिसे’ भन्दै खिस्याउनेहरू असली छकुबन्जार भएका थिए । ‘त्यो छकुबन्जारे पोकोभित्र उनीहरूले छाडेर भागेको घरको लालपुर्जा छ कि छैन होला ?’ यो प्रश्नसँगै ऊ अतीव मुस्कुरायो ।
मुस्कुराइरह्यो ।
(प्रोल्लास सिन्धुलीयको कथासंग्र ‘बागबजार बोल्दैन’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

